अन्तर्राष्ट्रिय पुरस्कार, डा. महत र नेपाली मानसिकता

अन्तर्राष्ट्रिय पुरस्कार, डा. महत र नेपाली मानसिकता


Ambaris-Bhagawati
:: अम्बरिश पोखरेल (पीएचडी)
– भगवती पोखरेल कुँवर (पीएचडी)
::

सन् २००८ जुन १३ तारिखको दिन विश्व–वैज्ञानिक जगत्मा नेपालको एउटा निकै लामो समाचारले उत्साह फैलाउँदै थियो । त्यसको भित्री कारण थियो– अघिल्लो वर्ष २००७ को भन्दा बाह्र गुना अर्थात् एक सय पच्चीस मिलियन डलरको लगानी नेपालको विज्ञान प्रविधिमा खर्च गर्ने प्रतिबद्धता । त्यो समाचारको केन्द्रबिन्दुमा पुष्पकमल दाहाल उर्फ प्रचण्ड सगौरव भाषण ठोक्दै गरेका चामत्कारिक फोटो प्रकाशित भएको थियो । त्यसप्रकारको लामो समाचार उक्त पत्रिकामा प्रकाशित हुनु कुनै चानचुने कुरा थिएन । विश्वका ठूलाठूला वैज्ञानिकहरूले आफ्नो इमेल ठेगानामा ‘हाइअलर्ट’मा राख्ने वैज्ञानिक पत्रिका हो । तर, त्यो समाचारबारे हामी कतिजना नेपाली जानकार थियौँ या छौँ होला अहिले पनि ? त्यसको मापदण्ड के हो ? के त्यो ठूलो समाचार कुनै व्यक्तिको लहडमा प्रकाशित भएको थियो ? के त्यसप्रकारको समाचार यत्तिकै प्रकाशित गर्न सम्भव छ ? के यहाँ पनि नेपालीले सोचेजस्तै चिनजानको भरमा, ज्यु–हजुर गरेको भरमा त्यसप्रकारको समाचार प्रकाशित गर्न सम्भव छ ? के त्यहाँ पनि नातावाद र कृपावाद लागू हुने गर्छ ? नेपालका कुन–कुन व्यक्तिले त्यस्तो प्रकारको समाचार त्यहाँबाट प्रकाशित गर्न सक्छन् ? एकछिनका लागि त्यो सम्भव छ भनेर कल्पना गरौँ ।

हालै आएर भूपू अर्थमन्त्री डा. रामशरण महत सन् २०१५ को उत्कृष्ट अर्थमन्त्री चुनिएका छन् । बेलायतको प्रख्यात म्यागेजिन ‘दी ब्याङ्कर म्यागेजिन’ले सन् २०१५ का लागि उनको नाम घोषणा गरेको हो । यही वर्ष अर्थात् वैशाख १२ मा नेपालमा गएको विनाशकारी भूकम्पपश्चात् अर्थमन्त्रीका रूपमा पुनर्निर्माणका लागि मित्रराष्ट्रहरूबाट सहयोग उठाउन हाम्रो मित्रराष्ट्र जापानको सहयोगमा गरिएको दातासम्मेलन सफल बनाउँदै उनले करिब पाँच बिलियन डलर नेपालको ढुकुटीमा हाल्न अहम् भूमिका खेले । त्यसका लागि चाहिने उनको वाकपटुता, दक्षता र विज्ञताले स्वत: काम गरेको छ । अर्थात्, डा. महतले विश्वबजारमा बनाएको पहिचानको मूल्याङ्कन भएको छ । एउटा दरिद्र राष्ट्रको अर्थमन्त्री विश्वको कुनै राम्रो पत्रिकामा राम्रो कामका लागि भनेर सम्मानित भएको छ ।

महत विश्वमा एकछत्र बनेको नवउदारवादी खुला बजार अर्थनीतिका नेपाली हिमायती हुन् । उनले लिने गरेको अर्थनीतिको यो बाटो मौलिक नभए पनि उनले विगतमा जनप्रिय नीतिभन्दा पनि दिगो अर्थनीति कसरी अगाडि बढाउने भन्ने चिन्ता र त्यसको लागूमा ध्यान दिएको देखिन्छ । त्यो बाटोमा उनी सफल पनि देखिएका हुन्, भलै हामी नेपाली जनताले सीधै र एकदम छिटो दैनिक गुजारा टार्ने नीति उनले कहिले लिएनन् । त्यसका लागि देशमा रहेको अस्थिर राजनीतिक वातावरण पनि उत्तिकै जिम्मेवार छ । विशेष गरी राजनीतिक अस्थिरता, आन्तरिक ध्वंश, आतङ्कवाद र निरन्तरको सङ्क्रमणकाललाई चटक्कै बिर्सेर डा. महतले कुनै उथलपुथल गरेनन् भनेर भन्नुको पछाडि पनि दुराशय देखिन्छ । उनको कार्यकालमा बन्द गरिएका वा बेचिएका कलकारखानाहरू त नवउदारवादी अर्थनीतिका पाइलाहरू हुन् । यदि उनको यो नीति ठीक छैन भने अरू पार्टी र अरू अर्थमन्त्रीले पनि किन त्यही नीति अङ्गीकार गरिरहेका छन् ? किन अरू सरकार र अरू अर्थमन्त्रीहरूले फरक नीति अगाडि बढाउने जमर्को गर्दैनन् ? किन बिल्कुल नयाँ आफ्नो आर्थिक नीति घोषणा गर्दैनन् ? यसको पछाडि एउटै कुरा प्रस्ट देखिन आयो कि वर्तमान विश्व परिवेशमा महतको नीति नै सही छ र त्यसलाई नै निरन्तरता दिनुपर्छ भन्ने उनीहरूको पनि निचोड हो । सही नीति अङ्गीकार गर्ने मुख्य हिमायती महतको पुरस्कार त्यसैको प्रतिफल हुनुपर्छ ।

यो कुरा बुझ पचाएर कोकोहोलो गर्नु भनेको दिनलाई रात भन्नुसरह हो । एउटा कुरा छुटाउन नहुने के देखिन्छ भने निजीकरण गर्दा उनले राष्ट्रद्रोह हुने काम गरी कमिशन बटुलेको वा बटुल्न सहयोग गरेका छन् भने अरू सरकारहरूले छानबिन गर्नुपर्छ, तर त्यो छानबिन गर्न कसले रोकेको छ ? पुँजीवादी अर्थनीतिका हिमायती महत र केही हदसम्म महेश आचार्यमाथि साम्यवादी सरकारहरू मनमोहन अधिकारी, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बाबुरामदेखि अहिलेको बहुमतीय ओली सरकारले किन छानबिन गर्दैन ? किन महतको नीतिमै लिसो लागिरहेका छन् ? किन उनीहरूका ज्यानछोडुवा कार्यकर्ता महतको पुरस्कारमा मानमर्दन गर्दै छन् ? घोर आश्चर्य † ‘दाइलाई सक्दिनँ भाउजुलाई छोड्िदनँ’ भन्ने नेपाली उखानजस्तो किन गर्दै छन् ? आफ्नो पार्टीका सरकार र अर्थमन्त्रीहरूलाई नयाँ अर्थनीति अङ्गीकार गर्न दबाब किन दिँदैनन् ?
Mahat award-mahat02
डा. रामशरण महतको सफलतामा सर्वसाधारण जनतामा एउटा भ्रम दिन खोजिँदै छ कि उनले प्राप्त गरेको २०१५ को उत्कृष्ट अर्थमन्त्रीको पुरस्कार प्रायोजित हो । अर्थात्, कुनै मापदण्डबिना देश वा व्यक्ति हेरेर दिएको हो वा दिने गरिन्छ । त्यसको एउटा मात्र तर्क दिने गरिएको छ, नेपालका कलकारखाना बेचेर देशलाई आयातमुखी बनाएका थिए वा छन् । देशका लाखौँ युवापङ्क्ति बिदेसिन बाध्य छन्, कसरी उनी सन् २०१५ का लागि उत्कृष्ट अर्थमन्त्री बने ? नेपालको सन्दर्भमा जोडेर हेर्दा प्रश्न एक हदसम्म जायज छ, तर त्यो पुरस्कार पाउनुको पछाडिको कारण के हो ? कस्ता व्यक्तिले त्यो पुरस्कार प्राप्त गर्छन् र गर्ने गरेका छन् ? के आउँदा दिनमा अरू नेपालीले पनि त्यसप्रकारको पुरस्कार प्राप्त गर्न सक्छन् ? वा उनीभन्दा कोही अरू नै राम्रा थिए, तर छुटेका छन् र ? छन् भने सन् २०१५ का लागि को–को थिए ? को–को छुटे र कसरी छुटे ?

यदि कसैलाई छुटेका छन् भन्ने लागेको छ भने त्यो ‘दी ब्याङ्कर म्यागेजिन’को निर्यण सही छैन र त्यो प्रायोजित हो भनेर थुप्रै प्रकारका अन्तर्राष्ट्रिय पत्रिकाहरूमा त्यसको तथ्यपरक आलोचना प्रकाशित गर्न सकिन्छ । त्यो सही ठहर भयो भने उनको त्यो पुरस्कार फिर्ता गर्नसमेत बाध्य हुनेछ त्यो पत्रिका । के हामीमध्ये कोही त्यसो गर्दै छौँ ? गर्ने आँट छ ? के प्रायोजित थियो भनेर भन्ने आँट छ ? के त्यसको कुनै औपचारिक वा अनौपचारिक प्रमाणहरू छन् ? हामीलाई लाग्छ बिल्कुल हुने छैनन् प्रमाणहरू ।

त्यो पुरस्कार प्राप्त गर्न एउटा मापदण्ड छ । त्यो मापदण्ड पूरा गर्न सक्ने मान्छे हिरो बन्छ, संसारको जोकोही पनि, यो सत्य हो । यसपालिको मापदण्ड डा. महतले पूरा गर्न सके, खुसीको कुरा † त्यो थियो– भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले आयोजना गरेको दाता सम्मेलनमा विभिन्न राष्ट्रबाट करिब ५ अर्ब डलर सहयोग जुटाउन सफल हुनु । त्यो विशाल धनराशि हाम्रो देशको ढुकुटीमा यत्तिकै ढुसी लागेर बसेको छ भनेर सम्भँmदा हुन्छ । बरु हाम्रो हैसियत, नियत र नेपाली जनतामा माया छ भने छिटोभन्दा छिटो त्यसको सदुपयोग गरौँ र अर्को त्योभन्दा ठूलो पुरस्कार जित्ने चेष्टा गरौँ । त्यस्तो हिम्मत छ ? पुरस्कार प्राप्त गर्ने प्रतिनिधि पात्र रामशरण भए पनि सम्पूर्ण नेपालका सरकारहरूले लिएको नीतिको परिणाम पनि हो ।

तीव्र आलोचना गर्ने बानी परेका वा कहलिएका कथित ठूला–ठूला विद्वान्–विदुषीहरू यो मामलामा सामेल देखिनु निश्चय नै राम्रो सङ्केत होइन । अझ अन्तर्राष्ट्रिय स्तरको पुरस्कारको मानमर्दन गर्नुले त हाम्रो घटियापनबाहेक केही देखिँदैन । हाम्रो सोचाइ र अध्ययनको स्तर भीडको हावाभन्दा फरक छैन, भीड जता छ त्यतै हाम्रो लेखनी सोच र व्यवहार जानु बौद्धिकतामा खिया लाग्नुको नतिजा हो । पक्का पनि रामशरणको आर्थिक नीतिले देशका जनताको गर्जाे टरेको छैन र टार्नेवाला पनि छैन यो हामी जनताले भोगेको कुरा हो र अझै भोग्नुपर्ने नै छ । तर, अहिलेको पुरस्कार दिनुको मापदण्ड र त्यसपछाडिको उनको लगनशीलताको मानमर्दन गर्नु ठीक होइन वा गर्नुहुँदैन, त्यो त राष्ट्रको सम्पत्ति हो । पुरस्कार पाउनेसँग केही न केही नयाँपन वा फरक कुरा नभईकन पुरस्कार दिन मिल्दैन र अन्तर्राष्ट्रिय जगत्ले बिनाआधार पुरस्कार दिने गर्दैन भन्ने कुरामा हामी सजग हुनैपर्छ ।

यदि हामीलाई यो कुरा सत्य होइन भन्ने लागेर आउँछ भने प्रचण्डसँग जोडिएर आएको त्यो गौरवपूर्ण समाचार पनि प्रायोजित त हँुदै हो । अनुराधा कोइरालाहरू पनि प्रायोजित रोलमोडल हुन् । यसको अर्थ हामी कोही नेपाली अन्तर्राष्ट्रिय पुरस्कार जित्न लायक छैनौँ । सबका सब प्रायोजित पुरस्कार † सुनिता दनुवारदेखि चरिमाया तामाङहरू प्रायोजित नेपालका चेलीहरू हुन् । अरू विज्ञान–प्रविधिमा उन्नति गरेका अर्थात् विश्वको उत्कृष्ट अनुसन्धान गरेर प्राप्त गर्ने नेपालीहरू त विश्वस्तरका वैज्ञानिक नै होइनन् । म वा हामीले प्राप्त गरेका वा गर्नेवाला कुनै पनि विश्वरेकर्डहरू प्रायोजित हुने नै छन् वा हुनेछन् । किनभने त्यसले कोही नेपालीको गर्जो टरेको छैन । बस्, हामीलाई यही मात्र सरोकार छ वा हामीले उचाल्ने मुद्दा यही मात्र हो ।

के यो समाज वा संसारले सोच्ने मुद्दा त्यही मात्र हो र ? तर, डा. महतको पुरस्कारको आलोचनाले दिने सङ्देश यही हो । हाम्रो नेपाली समाजमा यस्तो प्रकारको भ्रम छर्ने वा यस्तो प्रकारको मानसिकता बोकेका अधिकांश नेपालीलाई खुला अनुरोध गर्न चाहन्छौँ । कृपया एउटा सानो समाचार त्यही वैज्ञानिक जगत्को रातो पत्रिका ‘साइन्स पत्रिकामा’ प्रकाशित गरेर देखाउने हिम्मत त गर्नुस् । त्यसमा कुनै पनि सानोभन्दा सानो समाचार प्रकाशित गर्न झेल्नुपर्ने कडा प्रकारको परीक्षण, निरीक्षण र त्यसको सत्यतालाई तथ्यपरक ढङ्गबाट प्रमाणित गर्न कति कठिन छ । त्यो भोग्नेले मात्र थाहा पाउने कुरा हो । जसमा वैज्ञानिकहरू आफ्नो एउटा अनुसन्धान मात्र भए पनि प्रकाशित गर्ने सपना आफ्नो जीवनभरि बुनेर बस्ने गर्छन् ।

तर, त्यसप्रकारको मापदण्ड पूरा गर्न चाहिने सीप, कला र लगनशीलता निकै कठोर छ । त्यसैले हजारौँको बीचमा केही मात्र सफल हुने गर्छन् । तर, हामी नेपाली प्रकाशित भइसकेको समाचार देखेर सामान्य लाग्ने र घोचपेच गर्न निकै सजिलो मान्ने गर्छौं । अहिले अनलाइन खबरहरूदेखि लिएर सामाजिक सञ्जालमा डा. महतको पुरस्कारको कटु आलोचनाले त्यस्ता थुप्रै प्रकारका मानवीय कला, सीप, लगनशीलता र त्यसको परख गर्ने शैलीमाथि हामी नेपालीले आँकलन गर्न सक्दैनौँ भन्ने गम्भीर प्रश्नचिह्न खडा गरेको छ । त्यस्ता पुरस्कार दिनेहरूले यो कुरा थाहा पाउने दिनहरूमा हामी नेपालीलाई ठूलो व्यङ्ग्य गर्ने ठाउँ दिएको छ । त्यो के हो भने ‘नेपालीलाई पुरस्कार भनेको बाँदरको हातमा नरिवल’ । त्यसैले विश्वले हामीलाई व्यङ्ग्य गर्ने दिनहरू र पुरस्कार दिन बन्द गर्ने दिनहरू आउनुभन्दा अगाडि नै नेपालीले पाउने जुनसुकै अन्तर्राष्ट्रिय र राष्ट्रिय पुरस्कारमा गौरव गर्ने बानी बसालौँ । यसैमा हाम्रो भलाइ लुकेको छ । नकचरो आलोचना गर्नेहरूबाट हामी कम्तीमा पनि साधारण जनता सधैँ टाढा बस्ने कोसिस गरौँ । हामी स्वच्छ विचारका बन्न सकियो भने आधा समस्या घटेर जानेछन्, अनि हामी सबैको सधैँ राम्रो हुनेछ ।