फेरि भुइँचालो ! :: बबिता बस्नेत ::

फेरि भुइँचालो ! :: बबिता बस्नेत ::


babita basnet 15
प्राय: मानिसको जीवनमा सानोतिनो भुइँचालो गइनै रहेको हुन्छ । मात्रा तल–माथि होला, तर कहिले के कहिले के, देखिने रूप एउटा भए पनि मानिसका भोगाइ जीवनमा फरक भइरहेका हुन्छन् । कहिलेकाहीँ जीवनमा एकपल्ट गएको भूकम्परूपी दुर्घटनाका परकम्पहरूले जीन्दगीभर लेखेटिरहन्छन् । पृथ्वीमा जाने भूकम्प भने जीवनमा जाने भूकम्पभन्दा फरक हुन्छ भन्ने ठानिएको थियो, ठानिन्छ । तर, हाम्रो सन्दर्भमा त्यो पनि फरक भएन । भूकम्प गएको दश महिना बितिसक्दा पनि ठूलो धक्कासहित यसका परकम्प गइनै रहेका छन् । दश महिनाअघिको भूकम्पलाई मानिसले बिर्सनै लागेका बेला गत हप्ता फेरि जोडदार रूपमा राजधानीका जमिन र घर हल्लाउँदै अर्को भूकम्प आएको छ । चिसो कठ्याङ्ग्रिँदो काठमाडौंमा मानिस सुत्नै लागेका बेला राति दश बजे आएको भूकम्पले फेरि एकपल्ट जमिनसँगै मानिसको मन र मस्तिष्कलाई पनि हल्लाइदिएको छ । भूकम्प गएका बेला मानिसमा जुन संवेदनशीलता देखिएको थियो त्यस्तो संवेदनशीलता क्रमश: हराउँदै गएको थियो । मानिसहरू फेरि पहिलाजस्तै संवेदनहीन हुन थालेका थिए । गत हप्ताको भूकम्पले पुन: एकपटक जीवन र व्यवहारलाई लिएर झस्काएको हुनुपर्छ । विशेषगरी प्रकृतिको अघिल्तिर मानिसको केही लाग्दैन भन्ने कुरालाई लिएर सतर्कता अपनाउन अलिकति भए पनि सजग भएको हुनुपर्छ । तर, वास्तविकता त के हो भने यस्तो सजगता अलि लामोसम्म भूकम्प गएन भने पुन: जस्ताको तस्तै हुन पुग्छ । जुन यसबीचमा देखिएको छ ।

गत वैशाखमा भूकम्प गएका बेला मानिस अग्ला घरमा बस्न त के परबाट हेर्दा पनि डराउँथे । अब त्यस्ता घर काठमाडौंमा कहिल्यै बन्दैनन् जस्तो लाग्थ्यो । जसले घर बनाउँछ ती भूकम्पप्रतिरोधक मात्रै हुन्छन् भन्ने लाग्थ्यो । तर, वास्तविकता त्यस्तो भएन, बनाउँदै गरेका घरहरूमा पहिलाजस्तै गरी इँटा र सिमेन्टका तला थपिए । नयाँ घर त बनेका छैनन्, तर पुराना अग्ला घरहरूलाई काटेर दुई–तीन तलामा सीमित गर्ने भन्ने जुन चर्चा चलेको थियो, त्यो आफैँ सेलाएर गयो । मानिसका सोचहरू परिस्थितिअनुसार विकसित हुने रहेछन् । त्यतिबेला ठूला घर देख्दा यस्ता घरमा कसरी बस्ने होला जस्तो लाग्थ्यो । त्यसैले सोहीअनुरूप सोच बन्यो । भुइँचालो जान छोड्यो, बिस्तारै–बिस्तारै अब के हुन्छ छ र ? भन्ने लाग्न थाल्यो । परिणाम, काठमाडौं सुध्रिएन, काठमाडौंवासीको प्रवृत्तिमा सुधार आएन । अस्तिको भुइँचालोले फेरि ‘होइन † घर बनाउन त अब सोच्नैपर्छ’ भन्ने अवस्थामा पुर्‍याइदिएको छ ।

भूकम्पले भौतिक र मानवीय क्षति नपुर्‍याएकाहरूका लागि यो दश महिना सदाझैँ बिते पनि घर भत्किने र आफन्तको मृत्यु भएकाहरूका लागि दश वर्षझैँ भयो होला भन्न हिच्किचाउनुपर्दैन । यो दश महिनाको बीचमा भनभनी मच्छड आउने गर्मी, टेन्टबाट चुहुँदै गरेको वर्षाको पानीको भेल, कठ्याङ्ग्रिँदो चिसो, हिउँ, तुसारो सबै कुरा बेहोरिसकेका छन् । अझ आफन्त र घर दुवै नरहनेहरूका लागि त परिस्थिति निकै पीडादायी रह्यो, भइरहेको छ । विगतको दशवर्षे माओवादी युद्धमा आफन्त गुमाएका कतिले यसपल्टको भुइँचालोमा घर गुमाएका छन् । दुई महिनाअघि ललितपुरको बुङमतीकी एक महिलाले भनेकी थिइन्, ‘द्वन्द्वको बेला बेपत्ता पारिएका श्रीमान्को बारेमा केही जानकारी पाइएला कि भनेर खोज्दाखोज्दै भूकम्पले घर भत्कायो । पहिला त आफन्तको मात्रै पीडा थियो, अब त बस्ने ठाउँ नै नभएर गयो ।’ न घर न आफन्त न राहत धेरैको बिचल्ली भयो । पुनर्निर्माणका काम नहुँदा भूकम्पपीडितहरू बेवारिसे नागरिक बन्न पुगे । बल्ल पुनर्निर्माणको काम थालिएको छ । आशा गरौँ यसले तीव्रताका साथ काम गरेर पीडितलाई ओत दिनेछ । भूकम्पपछिको पुनर्निर्माण ढिलाइ हुँदा भएको दु:ख र छाएको निराशाको पूर्ति त सम्भव छैन, तर ढिलै भए पनि सरकारले गर्‍यो भन्नेसम्मको कुराचाहिँ हुन सक्छ ।

पुनर्निर्माणका निम्ति पुन: दातासँग सहयोगको अपेक्षा भने गर्नुपर्ने देखिन्छ । जतिबेला हतारहतारमा दाता सम्मेलन गरिएको थियो, त्यतिबेला उपस्थित सबैले प्रतिबद्धता जनाएका थिए । उक्त प्रतिबद्धताअनुरूपको खाका सरकारले दिन नसक्दा दाताहरूले कबोल गरेको रकम दिन सकेनन । त्यतिबेला प्रतिबद्धता जनाइएको रकम सन् २०१५ को बजेट थियो, अहिले २०१६ भइसकेको छ । हरेक दाताका वार्षिक कार्यक्रमहरू हुन्छन्, आपतकालीन रकम नै भए पनि प्रतिबद्धता जनाइएको रकम र कार्यान्वयनको वर्षमा अन्तर आइसकेको छ । त्यसैले पनि फेरि एकपल्ट दाताहरूलाई सहयोगका लागि अपिल गर्नुपर्ने देखिन्छ । दाता सम्मेलन नै गर्नका लागि अलि अप्ठ्यारोचाहिँ निश्चय नै छ । विगतमा बोलेको रकमका लागि त खाका पठाएनौँ अब एक वर्षपछि के होला र ? भन्ने प्रश्नको जवाफ त्यति सहज हुनेछैन । पुनर्निर्माणका विषयमा विगतमा हामीबाट ठूलो त्रुटि भइसकेको छ । राजनीतिक कारणले पुनर्निर्माण गर्न सकिएन भन्ने जवाफ दिइयो भने त्यो गलत हुनेछ । किनभने मानवीय सङ्कटका अगाडि कुनै पनि प्रकारका राजनीतिक मुद्दाहरू सामान्य हुन् ।

विश्वका कुनै पनि मुलुकमा प्राकृतिक प्रकोप आउँदा राजनीतिक तथा अन्य मुद्दाहरू ओझेलमा पर्छन्, तर हामीकहाँ भने त्यति ठूलो प्राकृतिक प्रकोपलाई नै राजनीतिले ओझेलमा पारिदियो । मधेस आन्दोलनका कारण पूरै छायामा पारिएको पुनर्निर्माण कार्यलाई लिएर दाताको ठूलै गुनासो रहेको पाइन्छ । एकातिर पुनर्निर्माण र राहतका काम अगाडि बढ्न नसक्दा पीडितले दु:ख झेले अर्कातिर आफूले कबोल गरेको रकमसमेत उपलब्ध गराउन नपाउँदा दाताहरू रिसाए । पुनर्निर्माणका लागि आफूले वाचा गरेको रकम दिन नपाएर ‘यस्तो पनि हुन्छ ?’ भनी प्रश्न गर्ने दाताहरूको सङ्ख्या ठूलो छ । पुनर्निर्माणको ढिलाइले सिकाएको पाठचाहिँ के हो भने अब जनताले आफ्नो सुरक्षा आफैँ गर्नुपर्छ । भूकम्प आउँदा पनि खासै असर नपर्ने गरी घरहरू निर्माण गरेर ढुक्कले सुत्न सक्ने परिस्थिति बनाउनुपर्छ । पीडितका रूपमा सरकारको मुख ताक्नुपर्ने अवस्थाको सिर्जना गर्नुभन्दा पीडित नै नहुने कार्यको थालनी गर्नुपर्छ । आखिर भूकम्प त गइनै रहनेरहेछ ।