कांग्रेसमा नयाँ शक्ति समीकरण बन्दै

कांग्रेसमा नयाँ शक्ति समीकरण बन्दै


Nepali Congress Party Office
नेपाली कांग्रेसको तेह्रौँ महाधिवेशन प्रारम्भ हुनुभन्दा ठीक २३ दिनअघि (२०७२ माघ २६ गते सोमबार) पार्टी सभापति सुशील कोइरालाको देहावसान भएको छ । दुई दिनअघिदेखि बिरामी पर्नुभएका कोइराला सोमबार राति दश बजेपछि सिकिस्त हुनुभएको थियो । निरन्तर खोकी लागेपछि उहाँको स्वास्थ्यस्थिति सामान्य अवस्थामा फर्काउन चिकित्सकले गरेको प्रयास सफल हुन सकेन । राति बाह्र बजेर पचास मिनेट जाँदा खोक्दाखोक्दै उहाँले प्राण त्याग्नुभएको थियो । अविवाहित र सन्तानविहीन हुनाले गहिरो शोक मान्ने पारिवारिक सदस्यहरूको सङ्ख्या कम भए पनि उहाँको निधनले कांग्रेस पार्टीभित्रको राजनीतिमा उथलपुथल ल्याउने देखिएको छ ।

सुशील कोइराला अर्को एक कार्यकाल सभापति बन्ने सोचमा हुनुहुन्थ्यो र संस्थापन पक्षबाट रामचन्द्र पौडेलले उम्मेदवारी घोषणा गर्नुभएबाट उहाँ बेचैन हुनुहुन्थ्यो । कोइरालाको निधनपश्चात् उपसभापति रामचन्द्र पौडेल स्वत: कार्यवाहक सभापति बन्नुभएको छ । र, कोइराला नरहेपछि पौडेल सभापतिको उम्मेदवार बन्ने मार्ग प्रशस्त भएको छ । तर, पौडेल हालको संस्थापन पक्षको सर्वसम्मत उम्मेदवार बन्न सक्नुहुने हो या होइन जिज्ञाशाको विषय बनेको छ । महामन्त्री प्रकाशमान सिंह, नेतृ सुजाता कोइराला र महामन्त्री कृष्ण सिटौला संस्थापन पक्षबाट सभापतिको उम्मेदवार बन्न इच्छुक देखिएका छन् ।

त्यसैगरी डा. रामशरण महतलाई समेत सभापतिको उम्मेदवार बन्ने हैसियतको नेताका रूपमा हेरिएको छ । उहाँहरू चारजनाबाहेक डा. सशाङ्क कोइराला, डा. शेखर कोइराला र महेश आचार्यसम्मको व्यवस्थापन गर्ने अभिभारा पौडेलको काँधमा आएको छ । उल्लिखित सबैलाई या धेरैजसोलाई पदाधिकारीका रूपमा समेट्न नसक्ने हो भने संस्थापनभित्रै विद्रोह हुनसक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन । रामचन्द्र पौडेलले उपसभापतिमा डा. सशाङ्क कोइराला या प्रकाशमान सिंह, निर्वाचित महामन्त्रीमा डा. रामशरण महत, मनोनीत महामन्त्रीमा प्रकाशमान सिंह या डा. शेखर कोइराला, कोषाध्यक्षमा सुजाता कोइराला र सहमहामन्त्रीमा महेश आचार्यलाई चयन गर्ने गरी आफ्नो टिम बनाउनुहुने अनुमान गर्न थालिएको छ । यसरी टिम बनाउँदा कृष्ण सिटौला र अर्का कुनै एक नेतालाई समेट्न मुस्किल पर्ने सम्भावना छ । टिममा नपरेका नेताले सभापतिमा उम्मेदवारी दिनसक्ने या वरिष्ठ नेता शेरबहादुर देउवालाई समर्थन गर्ने पनि त्यत्तिकै सम्भावना छ ।

कोइरालाको निधनले पौडेललाई गह्रौँ जिम्मेवारी पूरा गर्नुपर्ने अवस्थामा पुर्‍याएको छ । संस्थापन पक्षका भनिने सबैलाई समेट्न नसके पनि आगामी महाधिवेशनमा देउवा र पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने निश्चित भएको छ । सुशील कोइराला जीवित रहँदा प्राप्त निर्वाचन परिणामले कोइराला पक्षलाई कमजोर र देउवा पक्षलाई सुदृढ देखाएको छ । एकातर्फको नेतृत्व पौडेलले लिनुहुने भएपछि परिणामगत अन्तर आउने–नआउने अहिले नै भन्न सकिने अवस्था छैन । नेता खुमबहादुर खड्काको साथ देउवालाई रहँदा देउवाको स्थिति अहिले देखिएजस्तै सुदृढ रहनेमा शङ्का गर्नुपर्ने अवस्था देखिन्न । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको साथ, सहयोग तथा चुनावी रणनीतिले निर्वाचन परिणामलाई निर्णायक प्रभाव पार्ने विश्वास राजनीतिक विश्लेषकहरूको छ ।

कोइरालाको निधनपछि तीन मुख्य नेता रहेको कांग्रेस तत्काल सीधै दुई नेताको नाममा सङ्गठित एवम् क्रियाशील हुने स्पष्ट भएको छ । तर, तेह्रौँ महाधिवेशनपश्चात् देउवा र पौडेलपछिको नेताका रूपमा डा. रामशरण महत, डा. सशाङ्क कोइराला र प्रकाशमान सिंहमध्ये को स्थापित हुने हुन् त्यसको जानकारीका निम्ति अझै केही समय प्रतीक्षा गर्नुपर्ने भएको छ ।