यिनलाई सम्हाल्न पौडेललाई सकस

यिनलाई सम्हाल्न पौडेललाई सकस


Ram Chandra Poudel
नेपाली कांग्रेस पार्टीको हालको संस्थापन पक्षभित्र रामचन्द्र पौडेल नै सर्वाधिक वरिष्ठ र बलिष्ट नेता भए पनि उहाँलाई सभापतिको उम्मेदवार बनाउने विषयमा मतैक्य हुन मुस्किल परिरहेको छ । गिरिजाप्रसादपुत्री सुजाता कोइराला, गणेशमानपुत्र प्रकाशमान सिंह र महामन्त्री कृष्ण सिटौलासमेत सभापति पदका आकाङ्क्षी बनेपछि उम्मेदवार निर्धारण गर्न मुस्किल परेको हो । सुशील कोइराला स्वर्गवास नभएको भए उहाँले संस्थापन पक्षबाट एकैजना (आफैँ) उम्मेदवार बन्ने स्थिति निर्माण गर्नुहुने अपेक्षा गरिएको थियो । तथापि रामचन्द्र पौडेललाई पछि हटाउन कोइरालाले पनि सक्नुहुने अवस्था थिएन । कोइराला नहुँदा पौडेल संस्थापन पक्षको सर्वमान्य उम्मेदवार स्वत: बन्नुपर्ने हो, तर सुजाता कोइराला, कृष्ण सिटौला र प्रकाशमानका कारण पौडेललाई अप्ठ्यारो परेको छ ।

प्रकाशमान सिंहले डा. शशाङ्क कोइरालालाई महामन्त्रीको उम्मेदवार बनाएर आफू सभापति बन्ने सपना बुनेका छन् । शशाङ्क स्वयम् भने अहिलेसम्म प्रकाशमान र सुजाताझैँ उत्ताउलिएका छैनन् । नेपाली काङ्ग्ेरसका स्मरणीय नेताहरूमध्ये बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका सन्तानहरू सक्रिय राजनीतिमा छन् । उहाँहरूका सन्तानमध्ये विमलेन्द्र निधिले आफू पदाधिकारी बन्नेभन्दा पनि शेरबहादुर देउवालाई सभापति बनाउने कुरालाई प्राथमिकतामा राख्नुभएको छ । तर, यता प्रधानमन्त्री पद त्याग गर्ने गणेशमान सिंहका पुत्र प्रकाशमानलाई भने सभापतिबाहेक अन्य पद दिएर मनाउन नसकिने स्थिति बन्यो ।
kkk
उता गिरिजाप्रसादको नामबाट राजनीतिमा स्थापित सुजाता कोइरालामा पनि बाबुको नाममा ठाउँ खोज्ने मानसिकता रहेको पाइएको छ । कृष्ण सिटौला भने सभापति पदका मुख्य प्रतिस्पर्धीहरूले टिममा राख्ने छाँट नदेखिएपछि सभापतिमा उम्मेदवारी दिने कुरा गर्न बाध्य हुनुभएको बुझिन्छ । वास्तवमा विगत ५–६ वर्षदेखि पदाधिकारीको हैसियतमा काम गर्दै आएका नेताहरू अहिले तलको हैसियतमा रहने मानसिकतामा देखिँदैनन् । अर्कोतर्फ उमेर, अवस्था र योगदानका दृष्टिले पनि अन्य धेरै नेताहरूको दाबी मुख्य पदहरूमा हुने गरेको छ । संस्थापन पक्षभित्र वरिष्ठ नेताहरूमध्ये डा. रामशरण महतलाई महामन्त्रीको उम्मेदवार बनाउनुपर्छ भन्नेहरूको सङ्ख्या ठूलो देखिन्छ, तर कोइराला परिवारका सदस्यहरू महामन्त्री र उपसभापतिभन्दा तलका पद ग्रहण गर्न इच्छुक देखिएका छैनन् । सुजाता कोइराला, डा. शशाङ्क कोइराला र डा. शेखर कोइरालालाई एडजस्ट गर्ने हो भने डा. रामशरण महत, प्रकाशमान सिंह र कृष्ण सिटौला बाहिर पर्ने छन् ।

सबै प्रमुख पद कोइरालाहरूले लिएमा अन्य नेताहरूले छुट्टै टिम बनाएर चुनाव लड्ने वा देउवालाई समर्थन गरेर अघि बढ्नुपर्ने हुनसक्छ । सिटौला त सभापतिको उम्मेदवार बन्ने निष्कर्षमा पुगिसक्नुभएको बुझिन्छ । डा. महतलाई रामचन्द्र पौडेलले महामन्त्रीमा मनोनीत गर्ने वचन दिनुभएको, तर महत मनोनीत नभई निर्वाचित महामन्त्री बन्न इच्छुक रहनुभएको बताइन्छ । डा. शशाङ्क कोइराला या प्रकाशमान सिंहलाई उपसभापति र महामन्त्री नियुक्त गर्ने तथा डा. महतलाई महामन्त्रीमा निर्वाचन लडाउने इच्छा रामचन्द्र पौडेलको थियो । तर, सुशील कोइरालाको निधनपश्चात् पौडेलको सोच परिवर्तन भएको बुझिएको छ । अहिले पौडेल डा. महतलाई मनोनीत महामन्त्री बनाउने गरी डा. शशाङ्क कोइरालालाई महामन्त्रीको उम्मेदवार बनाएर चुनाव लडाउन चाहनुहुन्छ । यसरी जसलाई जे–जे बनाए पनि दुई महामन्त्री र एक उपसभापति पदमा तीनजनाबाहेक अरू कसैलाई एड्जस्ट गर्न सकिने अवस्था छैन ।

त्यसैले डा. महत, डा. शशाङ्क, डा. शेखर, सुजाता, प्रकाशमान र सिटौलामध्ये तीनजना पौडेलको रिङबाहिर पर्ने निश्चित छ । महेश आचार्य र नरहरि आचार्यलाई समेत जोड्ने हो भने बाहिर पर्नेको सङ्ख्या पाँच पुग्ने देखिन्छ । यसरी संस्थापन पक्षभित्र पदाकाङ्क्षी नेताहरूको सङ्ख्या अधिक भएकोले त्यसको व्यवस्थापन रामचन्द्र पौडेलका अघिल्तिर चुनौती बनेर रहेको छ भने अर्कोतर्फ पदाधिकारी बन्ने अवसर नपाएका नेताहरूले देउवालाई समर्थन गर्नसक्ने सम्भावनाप्रति पूर्णत: सचेत रहनुपर्ने अवस्थामा पौडेल हुनुहुन्छ । अहिलेसम्म नेताहरू अर्जुननरसिंह केसी, लक्ष्मणप्रसाद घिमिरे, केशवकुमार बुढाथोकी, श्याम घिमिरे, डा. अमरेशकुमार सिंह, अमृत अर्याल, भीमसेनदास प्रधान, मोहम्मद आफताव आलमलगायतले कोइराला क्याम्प छोडेर देउवालाई समर्थन गरिसकेका छन् । नेताहरूको व्यवस्थापन गर्न नसक्दा अन्य केही नेताहरू पनि देउवातिर सर्ने प्रबल सम्भावना छ । रामचन्द्र पौडेलका निम्ति आन्तरिक व्यवस्थापन नै मुख्य चुनौतीको रूपमा रहेको देखिएको छ ।