नरभक्षीको अनौठो कथा

नरभक्षीको अनौठो कथा


Man Meat
मानिसले मानिसकै मासु खाने नरभक्षीका घटना बेलाबखत सुनिँदै आएका हुन् । यसैक्रममा एक कुख्यात जर्मन नरभक्षीले आफ्नै समलिङ्गी प्रेमीको अत्यन्त बिचित्र तथा बीभत्स तरिकाले मासु खाएको घटना सार्वजनिक भएको छ । आर्मिन मिविस नामक नरभक्षीले करिब पन्ध्र वर्षअघि समलिङ्गी प्रेमी बन्र्ड ब्रान्डेसको सहमतिमै ब्रान्डेसको शरीर तास्दै मासु पोलेर खाएको एक डकुमेन्ट्रीमार्फत स्वीकार गरेको हो । ज्युँदै प्रेमीको मासु खाने नरभक्षी मिविसले उक्त घटनालाई आफूले जीवनकै सर्वाधिक यादगार डिनरको रूपमा लिएको पनि सगौरव बताएको छ । उसका अनुसार ब्रान्डेसले आफूलाई ज्युँदै खाने अफरसहितको एक विज्ञापन प्रकाशित गरेको र त्यसैको आधारमा उनीहरूबीच भेटघाट र मित्रता भएको थियो । दुवैबीच मित्रता बढ्दै गयो र एक दिन आफूलाई ज्युँदै खान ब्रान्डेसले आग्रह गर्‍यो । त्यसपछि नरभक्षी मिविसले एक साँझ आफ्नो घरमा मैनबत्ती बालेर डिनरको तयारी गर्‍यो । ब्रान्डेसलाई बेस्सरी मदिरा पिलाउनुका साथै निद्रा लाग्ने चक्की पनि खुवायो । अनि पहिले कम्मरको भागबाट मासु तास्न सुरु गरेको मिविसले दोस्रो छनोटमा ब्रान्डेसको लिङ्गलाई आहार बनायो । पछि टाउको छिनाएर बगैँचामा जलाएको उसले बाँकी शरीरचाहिँ फ्रिजमा राख्यो । एक जर्मनी अध्ययनरत एक अस्ट्रेलियन छात्रको उजुरीका आधारमा सन् २००२ मा मिविस पक्राउ परेको थियो भने त्यसको दुई वर्षपछि मात्र अपराध कबुल गरेको उसले उक्त अपराधबापत जम्मा आठ वर्षको जेल सजाय पाएको थियो ।