[कविता]मैले भेटेको वागमती-दाजु गुरुङ

[कविता]मैले भेटेको वागमती-दाजु गुरुङ


जीवन असीमित सपनाहरू बटुल्ने क्रममा
धेरै वसन्तहरु बितिसकेछन्
हिजैजस्तो लागे तापनि अनुहारभरि धर्साहरू कोर्दै
समयले धेरै घुम्तीहरू काटिसकेछन् ।
सपनाको शहरमा
मान्छेहरू हराउने कंक्रिटको जंगलहरूमा
आफ्ना विम्व-प्रतिविम्वहरू छालका पानाहरूमा खोज्ने गरेको थिएँ
विशाल सागरका किस्तीहरूमा
र त्यही छालको पानाहरूमा वागमती देखेको थिएँ
वागमती भेटेको थिएँ ।
त्यसैले त चार भञ्ज्याङ्ग काटे सँगै
स्वचालित मनका पाइलाहरूले वागमती चुमेको थियो ।
मेरो हिमालयकी छोरी
हिमजस्तै स्वच्छ कञ्चन वागमती
युगौंयुगको साक्षी वनेर निरन्तर दौडिरहेछ
वूढो पुशुपतिनाथ
हरेक सा“झ विहान नित्यकर्म सकेर
तिम्रै कञ्चनतामा अनुहार हेर्दै मख्ख पर्दा हुन्
ढल्दो जवानी बोकेर पनि
स्वयम्भू तिमीमा छड्के नजर लगाउँदा हुन्
अनि बाँझो धरती र प्यासी यात्रीहरू
कति धेरै अनुगृहित भएका होलान्
किनकि छालका पानाहरूमा
वागमतीको यिनै विम्व-प्रतिविम्वहरू देखेको थिएँ ।
मनभरि माया र श्रद्धाको विश्वास पालेर
छाँतीभरि पवित्र हिम-सिन्धू पोको पारेर
आतूर मनका पाइलाहरू दौडिरहँदा
हिमशैलको मीठो शीतलताको चाहाना जागेको थियो
तर मनको आकाशमा उडेका तरङ्गहरू
हावाका झोँक्काहरूसँगै आएको हृवास दुर्गन्धले
सेन्डाइजस्तै धरासायी बनेको थियो
लाग्छ, गलत ठाउँमा पुगेँ कि, टुकुचामा पो आएँ कि ।
किनकि मैले भेटेको वागमती
न त चञ्चल छ, न त कञ्चन छ
वर्षौंदेखि थलिएर ढलमा लडेजस्तो
शीतलाले कुरुप बनाएको अनुहार बोकेर
तरुनो उमेरमा नै सुकेनाशले सिद्रो बनाएपछि
हाँस्न बिर्सेका, घाटमा पुर्‍याइएको बिरामीजस्तो
लाग्छ, ज्युँदो लासले मलामीहरू पर्खिरहेछ
म मलामीहरूको पङ्क्तिमा सामेल भइरहेछु ।
वागमती तिम्रो यति धेरै चोटहरू कसरी हेरुँ ?
तिम्रा खुल्ला बाटाहरू
उन्मुक्त आकाशमा उड्ने तिम्रा प्वाँखहरू
कंकिृट र फलामका नेलहरूले जेलिएका छन्
फूल फुल्ने आँगन र करेसाबारीमा
असंख्य कंकिृटका जंगलहरू मौलाएका छन्
काला धूँवामा निसास्सिएका चराहरू
अनिश्चितातिर वसाइ हिँडिरहेका छन्
लाग्छ, आज नरभक्ष मुकर्ट्टाहरू
तिम्रो बाटोभरि मूर्दाको व्यापार गरिरहेछन् ।
तिमीलाई थाहा छ, वागमती !
तिम्रो मञ्जु पतनमा आज बिनापर्व पटकाहरू पड्कन थालेकाछन्
बारुदको खेतीमा लासहरू फल्न थालेपछि
देवताहरूले घर छाड्न थालिसकेका छन्
बनमान्छेहरूका जंगली राज चल्न थालेपछि
परेवाहरू राहदानी र भीसाको लाइनमा उभिएका छन्
मृत-मृत वागमतीका काकाकुलहरू
वर्षातको आशामा अर्कै आकाशतिर हेर्न थालेका छन्
तर पनि वागमती मौन छ ।
मौन वागमती,
छिया-छिया परिसकेको शरीर नरकीय नालमा सकि-नसकी घिस्रिरहेछ
मञ्जुश्री द्वारतिर
एउटा उन्मुक्तिको मीठो सुस्केरा हाल्न ।
तर मैले भेटेको वागमती
जति नै थलिए पनि
जति नै कुरुप भए तापनि
उनीभित्र शैल शिवको श्रृष्ठि
र वुद्ध हराएको पीडा भेटेको छु
अनि घात-प्रतिघातको चोटहरूमा
एक दिन सुनामी ल्याउने आक्रोश पनि देखेको छु ।

सेन्डाइ -शताप्दीकै ठूलो भूकम्प (९.९ रेक्टर) आएको जापानको एक शहर ।
[email protected]