एउटै मण्डपमा दलित–ब्राह्मण

एउटै मण्डपमा दलित–ब्राह्मण


– मनिता चाम्लिङ

Dalit-Brahman
धरान/ नेपालको संविधानले दलित जातिमाथिको विभेद र छुवाछुतको अन्त्य गरे पनि व्यवहारमा लागू नभइरहेको अवस्थामा गत साता नेपालमै पहिलोपटक ब्राह्मण र दलित जातिले एउटै मण्डपमा बसी सामूहिक ब्रतबन्ध सम्पन्न गरेका छन् । धरान–१४ स्थित पिण्डेश्वर मन्दिरपरिसरमा ब्राह्मण सेवा समाज धरान नगर समितिद्वारा आयोजित सामूहिक ब्रतबन्ध कार्यक्रममा विगतको भन्दा बेग्लै माहोल बनिरहेको थियो । जसको कारण थियो ब्रतबन्ध गर्न आएका ४१ बटुकमध्ये चारजना दलित जातिका थिए ।

यसअघि भने कहिल्यै पनि दलित जातिका व्यक्तिले ब्रतबन्ध नगरेको कारण यसपटकको सामूहिक ब्रतबन्धमा दलित जातिलाई समावेश गराउँदा समाजमा के हुने हो भन्ने चिन्ता थियो भने दलित उत्थान समन्वय समितिले पनि संविधानको मूल आधारलाई लिई हिन्दू धर्मावलम्बी भएका कारण आफूहरूले पनि सामूहिक ब्रतबन्धमा सहभागी हुन पाउनुपर्ने अडान लिएको थियो । केही दिनको व्यापक छलफलले केन्द्रीय तहबाट ब्राह्मण सेवा समाज धरान नगर समितिलाई दलितलाई पनि समावेश गराउनु भन्ने आदेश आएपछि त्यो सम्भव भएको कुरा ब्राह्मण सेवा समाज धरान नगर समितिका अध्यक्ष उद्धव अधिकारीले बताउनुभयो । उहाँले दलित जातिलाई आफूहरूले भेदभाव नगरेको बताउनुहुँदै ब्रतबन्ध गर्दा हिन्दू संस्कारअन्तर्गत गायत्री मन्त्र उच्चारण गर्न सक्ने, कर्मकाण्डमा रित पुर्‍याउन सक्ने व्यक्तिलाई मात्र सहभागी गराएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसअघि हामीले ब्राह्मण मात्र नभई क्षेत्री, नेवार, झा, मिश्रलगायतका जातिलाई समेत सामूहिक ब्रतबन्धमा समावेश गराइसकेका छौँ ।’

सदियौँदेखि सांस्कृतिक–धार्मिक रूपमा ब्राह्मणहरूले गरेको विभेदलाई यस सामूहिक ब्रतबन्ध कार्यक्रमले चिर्न सफल भएको दलित उत्थान समन्वय समिति धरानका अध्यक्ष दिलबहादुर रामदामले बताउनुभयो । उहाँले संविधानले छुवाछुतको अन्त्य गरे पनि व्यवहारमा लागू नभइरहेको अवस्थामा अब सुरुवात भएको बताउनुहुँदै भावनात्मक रूपमा गरिने विभेदलाई पनि अन्त्य गर्न आफ्नो संस्था लागिपर्ने उहाँको धारणा थियो ।

त्यस्तै, राप्रपा नेपालका धरान नगर अध्यक्ष जुद्ध लोहनीले कुनै पनि विकास हुन आत्मनिर्भर हुनका निम्ति समानताको खाँचो हुने भएकाले एकले अर्कालाई निषेध गर्ने परम्परा भएमा अगाडि बढ्न नसक्ने बताउनुभयो । साथै उहाँले यस सामूहिक ब्रतबन्ध कार्यक्रमले सकारात्मक सन्देश दिएकाले यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । यसैगरी परिवार सेवा समाज धरान नगरका वरिष्ठ उपाध्यक्ष खगेन्द्र नेपालीले नेपालको संविधानलाई आधार मानी छुवाछुत तथा भेदभावको अन्त्य गर्न यसरी नै दलितहरू एकजुट भई अगाडि बढ्दै जानुपर्ने बताउनुभयो ।
Dalit-Brahman 2
उक्त कार्यक्रमका मुख्य पुजारी तथा ब्राह्मण सेवा समाज धरान नगर समितिका सहसचिव पुरुषोत्तम नेपालले सामूहिक ब्रतबन्धमा दलितलाई प्रवेश गराउन चाहे पनि संस्थाका अन्य पदाधिकारीहरू अगाडि बढ्न नसकेकाले केही समयको छलफलपछि दलितलाई पनि समावेश गरी ब्रतबन्धको व्यवस्था मिलाएको बताउनुभयो । साथै उहाँले केही पुजारीहरूले दलितलाई कार्यक्रममा प्रवेश गराए रोजीरोटी खोसिने बताए पनि उनीहरूलाई समयसापेक्ष चल्नसमेत आफूहरूले आग्रह गरेको बताउनुभयो ।

यसअघि भने ब्राह्मण सेवा समाज धरान नगर समितिले दलित जातिहरूसँग सहभोज गराएको, मन्दिर छिर्न नरोकेको बताउनुहुँदै पुजारी पौडेलले अझै पनि पहाडी क्षेत्रका दलितका घरमा गएर पानी माग्दा ‘हामीले छोएको लिनुहुन्छ र ?’ भन्ने उल्टै प्रश्न गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी ब्राह्मणहरूले दलितलाई छुवाछुत र भेदभाव गरेका होइनौँ, उहाँहरूमा ज्ञान र चेतनाको अभावले आफैँ पछि पर्नुभएको हो ।’
नेपालको संविधानले कुनै पनि व्यक्तिलाई जातका आधारमा कुनै पनि व्यक्तिले भेदभाव तथा छुवाछुत गरेमा सामाजिक अपराध गरेको ठहरिन आउँछ । र, पीडकले सोहीबमोजिमको सजायको भागीदार पनि हुनुपर्छ । त्यसैले नेपालको संविधान २०७२ को भाग ३ को धारा २४ लाई शिरोधार्य गरी ब्राह्मण समाज धरान नगर समितिले जुन कहिल्यै नभएको र नगरेको काम सामूहिक ब्रतबन्धमा दलितलाई समावेश गरी सम्पन्न गरेको छ ।