अपराजित यात्राको नयाँ मोडमा नेता देउवा

अपराजित यात्राको नयाँ मोडमा नेता देउवा


Indra Baral 9
:: इन्द्रबहादुर बराल ::

नेपाली काङ्ग्रेसलाई तेह्रौँ महाधिवेशनले ढपक्कै छोपिसकेको छ । पार्टीको शीर्ष नेतृत्व हत्याउन चाहिनेहरू पनि त्यही गतिमा जोड घटाउमा व्यस्त देखिन्छन् । सामान्यतया अधिवेशनका उद्देश्यमध्ये नेतृत्व चयन पनि एक अत्यन्त महत्त्वपूर्ण पक्ष हो, त्यसैले यसलाई त्यति साह्रो नकारात्मक रूपमा लिनु पनि हुँदैन । त्यसो भन्दैमा पार्टीले लिने भावी नीति तथा कार्यक्रमलाई चटक्क बिर्सन गयौँ भने काङ्ग्रेस विचारविहीन मानिसहरूको भीड मात्र हुन सक्ने खतरातर्फ सम्बन्धित सबै सचेत रहनुपर्छ ।

कहिलेकाहीँ काङ्ग्रेस विचारविहीन सङ्गठन र विवेकहीन नेताका कारण लोकतन्त्रको रक्षा गर्न सक्छ कि सक्दैन भन्नेजस्ता चिन्ताहरू नेपाली राजनीतिमा देखिने गर्दछन् । यस्ता प्रकारका चिन्ता र चासो नेपाली काङ्ग्रेस पार्टीमा पेचिलो बन्दै पनि गएको सन्दर्भमा लोकतन्त्रको माध्यमबाट समाजवादजस्तो साध्य प्राप्ति गर्न स्पष्ट नीति र कार्यक्रमको खोजी हुनु जरुरी छ । यहाँ बुझ्नुपर्ने गाँठी कुरा के हो भने लोकतन्त्र साधन हो भने समाजवादी साध्य हो । समकालीन राजनीतिमा नेपालका सबै राजनीतिक शक्तिहरू अझ विशेष गरेर कम्युनिस्टहरू पनि नेपाली काङ्ग्रेसले २०१२ सालबाटै अवलम्बन गरेको लोकतान्त्रिक समाजवादतर्फ लालायित र आकर्षित देखिन्छ । यसबाट काङ्ग्रेसले बिर्सनै नहुने अर्को के पनि हो भने विचारले काङ्ग्रेस सबैभन्दा उत्कृष्ट हुँदाहुँदै पनि लोकतान्त्रिक समाजवादरूपी साधन र साध्य कतै अरूले नै खोस्ने त होइनन् भन्ने तीतो यथार्थतालाई ध्यानमा राख्दै अघि बढ्नुपर्ने देखिन्छ । यही दिशामा नेपाली काङ्ग्रेसको १३औँ महाधिवेशन केन्द्रित हुने अपेक्षा राखिएको छ । अहिले नेपाली काङ्ग्रेसको हातमा रहेको राष्ट्रियतासहितको लोकतान्त्रिक समाजवादरूपी सुनको चिडिया (चरो) भुर्र उडेर अन्य कसैको हतमा नपुगोस् बरु यत्ति मात्रै जोगाउन सके पनि काङ्ग्रेसको लागि धन्य हुनेछ ।

गाउँ, वडा, नगर, क्षेत्रदेखि जिल्ला तहका अधिवेशन हेर्दा काङ्ग्रेसमा केवल नेतृत्व हत्याउने सिवाय अरू केही हो जस्तो देखिएन । विभिन्न तहका अधिवेशनमा केसम्म देख्न र सुन्नमा आयो भने अधिवेशनका सामान्य प्रक्रियासम्म अवलम्बन गरिएन । एकाएक पार्टी नै कब्जा गर्ने हिसाबले कोठे राजनीतिमै सीमित गरियो । जसले गर्दा अधिवेशनका उद्घाटन सत्रसमेत गरिएन । उद्घाटन सत्र नै नगरेपछि विगतका नेतृत्वले गरेका राम्रा–नराम्रा पक्षको सङ्क्षिप्त जानकारीसमेत हुन नसक्नु र साथै नीति तथा कार्यक्रमबारे कुनै चर्चा नै नहुने परम्पराले पार्टी वैचारिक दृष्टिले कमजोर हुँदै जाने खतरा टड्कारो देखिन्छ । सम्भवत: यस्ता हर्कतहरू पार्टी कब्जा गर्ने नियतबाट प्रभावित भएर नै भएको हुन सक्छ । यसर्थ राजनीतिमा अराजनीतिक पात्र र प्रवृत्तिलाई निरुत्साहित गराउन १३औँ महाधिवेशन सफल हुनुपर्छ । राजनीतिमा लेगेसीभन्दा पनि विचार प्रधानता हुनुपर्छ । अनि मात्र राजनीतिले सही दिशा समात्छ र वर्तमानका अन्योल र अस्थिरताका काला बादलहरू क्रमश: हट्दै जान्छ ।

महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीभित्र धेरै आकाङ्क्षीहरू देखिए पनि कतिपयले बार्गेनिङको रूपमा पनि प्रस्तुत गरेका हुन सक्छन् । त्यसैले उम्मेदवार बन्ने आकाङ्क्षा आफैँमा नराम्रो भन्ने पनि हुँदैन, यहाँ के भन्न खोजिएको हो भने काङ्ग्रेसजस्तो महान् लोकतान्त्रिक पार्टीको महारथि बन्ने आकाङ्क्षीले पार्टी हाँक्ने हतियार के–के हुन्, पार्टी र सरकार सञ्चालनका नीति, कार्यक्रम र विधि तथा प्रक्रियाका स्पष्ट खाका प्रस्टसँग प्रस्तुत हुनुपर्छ । साथै नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न सक्ने सक्षम, अनुभवी एवम् दृष्टि इच्छाशक्ति भएको भरपर्दो र विश्वासिलो नेतृत्वले मात्र अबका चुनौतीपूर्ण दिनहरूको सफलतापूर्वक सामना गर्न सक्छ । यसर्थ अहिलेसम्मका अनुभवबाट नेता मात्रै होइन, कार्यकर्ताहरूसमेत खारिइसकेका छन् । इमानदारीका साथ छातीमा हात राखेर देश, जनता र पार्टीलाई सम्झेको खण्डमा सही नेतृत्व, व्यक्तित्व चयनमा कुनै द्विविधा हुनेछैन । होइन भने ‘मेरा बाबुले घिउ खाएका थिए मेरो हात सुँघ सुँघ’ भनेजस्तै हुन गई पार्टीको अस्तित्व खतरामा पनि पर्न सक्छ ।

नेपाली काङ्ग्रेसमा मात्र होइन, पूरै नेपालीको कसीमा घोटिएका काङ्ग्रेस नेताहरू अहिले सभापतिका आकाङ्क्षीको रूपमा चर्चामा छन् । प्रजातन्त्रका पिता स्व. गणेशमान सिंहका पुत्र प्रकाशमान सिंहदेखि स्व. गिरिजाप्रसाद कोइरालाका अनन्य सहयोगी एवम् विश्वास पात्र कृष्ण सिटौलासम्म सभापतिका आकाङ्क्षी देखिएका छन् र यिनैहरू सबै राज्यमा हालीमुहाली गरेकाहरूको जनताले कसीमा राखेकै होलान् । साथै कार्यवाहक सभापति रामचन्द्र पौडेल पनि ०४८ को निर्वाचनपछिका धेरै सरकारहरूमा महत्त्वपूर्ण जिम्मेवारी सम्हालेकै व्यक्ति भएकाले उहाँ पनि परीक्षण नभएको नेता भन्न सकिँदैन । ‘हुने बिरुवाको चिल्लो पात’ कार्यक्षमता भएका मानिसको गतिविधि जहाँ भए पनि प्रभावकारी देखिन्छ । तर, उहाँ पनि त्यति दृढ इच्छाशक्ति र क्षमतावान् हुनुहुन्छ भनेर विश्वास गरिहाल्ने अवस्था देखिँदैन । पार्टीभित्रको चिन्तक भनेर प्रचार गरिए पनि नीति र कार्यक्रमको प्रभावकारी अवस्था देखिँदैन । उहाँमा दृढ इच्छाशक्तिको अभाव खड्किएको छ । यद्यपि, कार्यवाहक सभापति रामचन्द्र पौडेल कुनै पारिवारिक लेगेसीबाट नभई आफ्नै बलबुता र लगनशीलताले स्थापित नेता हुनुहुन्छ । यसमा सन्देह छैन । त्यसैले, नेता देउवाको अपराजित यात्राको नयाँ आयाम आरम्भ भएको छ ।

तथापि, मुलुक र पार्टी सञ्चालन गर्न हृदयमा विशालता चाहिन्छ, महान् छाती भएकाले मात्रै पूरै राष्ट्र र पार्टीलाई आफूभित्र अटाउन सक्छ । अन्यथा सीमित घेराभित्रमा रहेर राम्रो होइन हाम्रो भन्ने प्रवृत्ति मौलाउन जान्छन् र त्यसबाट देश, जनता र पार्टीले खोजेको अन्तर्वस्तु विलय हुन सक्छ । यसर्थ नेता बन्ने दौडमा भएका सबै आदरणीय आकाङ्क्षीहरूले पहिलो कुरा पार्टीको भावी नीति तथा कार्यक्रमका साथै त्यसको सफल कार्यान्वयनमा विश्वासिलो आधार प्रस्तुत गर्दै सम्मानित महासमिति तथा महाधिवेशन प्रतिनिधि माझ उपस्थित हुनुपर्छ, बाबुबाजेको नाम भजाएर होइन ।

साथै संस्थापन र गैरसंस्थापनका नाराबाट अलग रही काङ्ग्रेसलाई एक ढिक्का बनाउन सक्ने सबल, सक्षम र दृढ इच्छाशक्तिका धनी वरिष्ठ नेता शेरबहादुर देउवा नै भोलिका कठिन र जटिल चुनौतीलाई सहजै सामना गर्ने क्षमतावान् नेता हुनुहुन्छ भन्ने सर्वत्र चर्चा छ । त्यसैले १३औँ महाधिवेशन त्यही दिशामा उन्मुख हुने आमकाङ्ग्रेसजन मात्रै होइन, सम्पूर्ण क्षेत्र आशावादी छ । सङ्घर्ष र व्यवहारले खरिएका कर्मठ नेता देउवाका विगतका कामहरूले उहाँको आवश्यकता महसुस गराएको छ । यद्यपि देउवाले बीपीको मार्गनिर्देशनबाट प्रभावित भएर गरेका कामहरूको कुनै समीक्षा पार्टीभित्र भएको छैन । कथित संस्थापन पक्षबाट पार्टीका नीति कार्यक्रमको प्रशिक्षणहरूमा जोताहा किसान (मोही)को हित संरक्षण गर्न जग्गाधनी (तल्सिङ) र मोहीबीचको विवादको टुङ्गो लगाई जग्गामा समान हक कायम गरिएको लाखौँ कमैया मजदुरहरूको पुस्त्यौनी ऋणमोचन गरेर मानवोचित जीवन जीउने वातावरणको प्रारम्भ भएको थियो । आदिवासी/जनजातिको तीसौँ वर्षको सङ्घर्षलाई सम्मान गर्दै आदिवासी/जनजाति उत्थान प्रतिष्ठान ऐन निर्माण गरेर उनीहरूका उत्पीडनलाई राहत पुग्ने गरी कानुनी व्यवस्था मिलाइएको छ ।

यसरी हेर्दा काङ्ग्रेसमा शेरबहादुर देउवाले प्रारम्भ गरेका कार्यक्रमले नेपाली काङ्ग्रेस किसानको पार्टी हो भन्ने प्रमाणित गरेको छ । साथै कमैया तथा कृषि मजदुरको पार्टीको रूपमा समेत काङ्ग्रेसलाई चिनाउनुभएको छ भने दलित, महिला, कर्णाली, मधेसी, आदिलाई समावेशी सिद्धान्तको आधारमा पार्टीको नीति निर्माण तहमा समेत सहभागी गराई काङ्ग्रेसलाई दलित, महिला, मधेसलगायत सबैको ढुकढुक बनाउन सफल हुनुभएको छ । माथिका कार्यहरू त केबल प्रारम्भ मात्रै हुन्, यसको व्यापक र विस्तृतीकरण गरेको खण्डमा नेपालमा काङ्ग्रेसको प्रतिस्पर्धी नै भेट्टाउन मुस्किल हुनेछ । त्यसैले काङ्ग्रेस किसानको पार्टी हो, कमैया मजदुरको पार्टी हो, दलितहरूको पार्टी हो । महिलाहरूको पार्टी, मानवअधिकारकर्मीहरूको पार्टी हो, भ्रष्टाचारविरोधीहरूको पार्टी हो अर्थात् समग्रमा पूरै नेपालीको एक मात्र प्रतिनिधि पार्टी बनाउनैका लागि पनि देउवाको नेतृत्व काङ्ग्रेसले खोजिरहेको छ ।

त्यसैले तेह्रौँ महाधिवेशनपछिको काङ्ग्रेसमाथि उल्लेखित एवम् जातजाति, क्षेत्र, वर्ग र समुदायको ढुकढुकी बन्न सक्ने विश्वास गर्न सकिन्छ । वर्तमान अवस्थामा सिङ्गो मुलुकले मात्रै होइन, अन्तर्राष्ट्रिय जगत्ले समेत बडो गम्भीरताका साथ काङ्ग्रेसको १३औँ महाधिवेशनलाई हेरिरहेको सन्दर्भमा हाम्रा महासमिति एवम् महाधिवेशन प्रतिनिधिहरूले त्यत्तिकै गम्भीरताका साथ आफ्नो विवेक प्रयोग गर्दै नेपाली काङ्ग्रेसको गरिमालाई उच्च प्राथमिकताका साथ सफल र सम्पन्न गर्दै काङ्ग्रेसको मात्रै नभई सिङ्गो राष्ट्रको अपेक्षा पूरा गराउन सक्ने सक्षम र अनुभवसिद्ध नेताको काँधमा भोलिको काङ्ग्रेस नेतृत्व चयन गर्न सके नेपाल र नेपालीको भविष्य सुन्दर बन्न सक्नेछ । तसर्थ, यस १३औँ महाधिवेशनपछिको काङ्ग्रेस कस्तो हुने भन्ने चिन्ता र चासोलाई कसरी सम्बोधन गर्ने छन्, त्यो त निकट भविष्यले बताउनेछ ।