अब पनि केको कम्युनिस्ट बन्ने ?

अब पनि केको कम्युनिस्ट बन्ने ?


-शोभाकर पराजुली
विश्वमा कम्युनिस्टहरू आन्दोलन गर्छन् र गरिब, किसान, महिला, मजदुर आदिको मुक्तिको कुरा गर्छन् तर उनीहरूको सत्ता भएका देशहरूमा ती पीडितहरू अझ पीडित तुल्याइन्छन् । विश्वमा यस्तो कुनै पनि कम्युनिस्ट देश छैन जहाँ महिला, दलित, गरिब, अल्पसङ्ख्यक आदि राष्ट्रपति तथा प्रधानमन्त्री बनेको होस् । उनीहरू अझ पछाडि पारिएका छन् । यर्सथ, कम्युनिस्टहरूको देखाउने दाँतबाट हामी समयमा नै सजग हुनु आवश्यक छ ।
हिंसात्मक आन्दोलनबाट पीडितहरूलाई माओवादीले सबैभन्दा बढी प्रयोग गरेर पीडा थप्नेे कार्य गरेका हुन्छन् । कम्युनिस्ट नेताहरूले बम हान्न सिकाउने काम जानेका छन् । मान्छे मार्न सिकाउने काम जानेका छन् । विकासलाई तहसनहस बनाउन जानेका छन् । पश्चिमी देशहरूलाई पुँजीवादी र गरिबमारा भन्न जानेका छन् । फेरि तिनै ‘गरिबमारा’कोमा गएर नेपालमा पैसा पठाएको आधारमा पार्टी चलाएका मात्र होइनन्, बरु कार्यकर्ताले घर पनि चलाएका छन् । यो हामीले बुझेका छौँ । दिमाग लगाएर धन कमाउनेहरू दुस्मन हुन्छन्, धन कमाएर सरकारलाई कर तिर्नेहरू बेइमान हुन्छन् । लुटेर खाने, मानिस मारेर आउने क्रान्तिकारी हुन्छन् । कम्युनिस्टको यो कुरा अहिले धेरै युवाहरूले बुझेको पनि पाइन्छ । युवाहरूको कम्युनिस्ट विचारप्रति लगाव कम देखिन थालेको पाइन्छ । केही नबुझेका वा बुझेर पनि सत्तामा गएर जनतालाई ठग्न पाइन्छ भन्ने युवाहरू त्यसमा लागेका होलान् । त्यो अलग कुरा हो । हुन पनि हो, किन कम्युनिस्ट विचारलाई आत्मसात्् गर्ने –
पढेलेखेका युवाहरू सोच्न सक्ने या चेतनशील समुदायमा पर्छन् । उनीहरूको सोच उनीहरूका अभिभावकहरूको जस्तो ब्रेनवास भएको पनि हुँदैन । कम्युनिस्ट देश विश्वमा सबैभन्दा धनी या विकसित देश बन्न सकेको छैन । कम्युनिसट देश र गैरकम्युनिस्ट देशहरू एकैचोटि विकास सुरु गरेर पनि एउटा नर्कमा छ भने अर्को र्स्वर्गमा छ । कम्युनिस्ट देश उत्तर कोरियामा वर्षेनी भोकमरीले लाखौँ मानिस मर्छन् । विकासको कुनै ठूलो कार्य छैन । केवल बम बनाएर विदेशलाई र बन्दुक बढाएर जनतालाई सताउने कार्य त्यहाँ भएको छ । लोकतन्त्र भएको दक्षिण कोरिया एसियाकै धनी र विकसित देशमा पर्छ । सँगै विकास हुन सुरु गरेको दक्षिण कोरियामा नेपालीले समेत काम पाएका छन् । क्युवामा त्यस्तै छ । युवा विद्यार्थीले यसलाई राम्रोसँग बुझ्नुभएको छ र नबुझेकाहरूले बुझ्दै जानुहुनेछ ।
जहाँ कम्युनिस्ट व्यवस्था छ त्यहाँ जनतामा दु:ख छ पीडा छ र अन्याय छ तर बोल्न र विरोध गर्न पाइँदैन । सरकारले खाना खान त दिन सक्दैन बरु विरोध गरेमा गोली भने खुवाउँछ । काङ्ग्रेसले र यसका भ्रातृ सङ्गठनहरूले सबै युवाहरूलाई यसका बारेमा प्रस्ट पार्न नसके पनि युवाहरू आफ्नै प्रकारले बुझेर जागरुक भएका छन् । यसका लागि उनीहरूलाई सलाम गर्नैपर्छ । कम्युनिस्टहरूले एउटा रणनीति सुरु गरेको देखिन्छ । त्यो सत्यलाई ढाक्ने कलुषित तरिका मात्र हो । युवाहरू आँफूसँग नभएको, उनीहरूले बुझेको र उनीहरूल्ााई ब्रेनवास गर्ने र पछि आफ्नो विचारले ब्रेनवास गरेपछि नराम्रो नै भए पनि सङ्गतले गर्दा राम्रो लाग्दछ भन्ने नयाँ फर्मुला अगाडि बढाएको पाइन्छ । युवाहरू सजग हुनुपर्छ । युवा विद्यार्थीलाई भ्रम पार्ने रणनीति कम्युनिस्टहरूले बनाएका रहेछन् ।
एउटा सार्वजनिक गाडीबाट जाँदै गर्दा एउटा युवासँग भेट भयो । उनले राजनीतिक कुरा सुरु गरेपछि उनी कुन राजनीतिक विचार मन पराउँदा रहेछन् भन्ने बुझ्न चाहँदा उनले भने- अब पनि केको कम्युनिस्ट बन्ने – तर नेपालबाहिर अमेरिका आदि देशमा जान पाए लोकतन्त्रवादी र नेपालमा पनि दस वर्षपछि लोकतन्त्रवादी तर अहिले कम्युनिस्ट । किन – भनेर मैले प्रश्न गरेँ । उनले भने अहिलेको अस्तव्यस्तता अन्त्य गर्न, विकास गर्न र विकृतिलाई हटाउन अलिक कडा शासन चाहिन्छ र त्यो कम्युनिस्ट शासन नै हो । उनलाई केही भन्न मन लाग्यो । देशमा अस्तव्यस्तता ल्याउने कम्युनिस्टहरू नै हुन् । उनीहरूले आतङ्क नमच्चाउने हो भने आधाभन्दा बढी आतङ्क र दण्डहीनता अन्त्य हुन्छ । बाँकीलाई राज्यले ठीक गर्ने सम्भावना बढेर जान्छ । कम्युनिस्टहरूका कारणले नै देशमा विकास नभएको हो । उनीहरूले गर्दा नै देश जातीय मारकाटमा जाँदै गरेको हो । उनीहरूले गर्दा नै विकासका संरचना ध्वस्त भएका हुन् ।
उनीहरूको शासन आउने हो भने देशमा जनताको शासन हुँदैन-कम्युनिस्टहरूको शासन हुन्छ । देशमा दुइ वर्ग हुन्छन् । शोषक अर्थात् कम्युनिस्ट र शोषित अर्थात् किसान र मजदुर भन्ने देखिएका छन् । यो तथ्यलाई ती युवासमेत सबैले जति भ्रम पारे पनि बुझ्न सक्नुपर्छ र आफ्नो साहसी र बुद्धिले भरिएको उमेरलाई कसैको गोठालो बन्नबाट बचाउने र अरूलाई पनि यसबाट बचाउनुपर्छ । अन्यथा कम्युनिस्टहरूले यस्ता झुटा कुरा गरेर कम्युनिस्ट बनाउने र पछि ब्रेनवास गरेर आफ्ना कार्यकर्ता वा हली-गोठाला बनाउँछन् । त्यो दलदलमा फसेपछि निस्कन चाहेर पनि सकिँदैन । निस्कन खोज्दा सुराकी, प्रतिक्रियावादी आदि भनेर मार्ने कार्य हुन्छ । त्यसैले युवाहरू समयमा नै सचेत हुनुपर्छ । युवाहरूलाई मर्ूख बनाउने चाल हुँदै छ । तपाईंहरू लोकतान्त्रिक विचार बोकेको काङ्ग्रेस वा त्यस्तै विचारमा आबद्ध हुनुभयो भने त्यहाँ गल्ती गर्नेहरू देखिएमा उनीहरूलाई परास्त पारेर आफूले नेतृत्व लिन अगाडि बढ्न सक्नुहुन्छ । आफूबाट गल्ती भएमा जनताबाट सजाय खान पनि तयार हुनुपर्छ र कुनै छलछाम हुने सम्भावना कम हुन्छ । त्यो पनि ठूलो जित र आनन्द हो ।