अब पुरुषबिना नै सन्तान

अब पुरुषबिना नै सन्तान


Sporm
के पुरुषको शुक्रकीटबिना बच्चा सम्भव छ ? अहिलेसम्म त यसको सम्भावनाबारे कल्पनासम्म पनि गरिएको थिएन । तर, चिनियाँ वैज्ञानिकहरूले पुरुषको शुक्रकीटबिना नै महिलालाई गर्भवती तुल्याउन सकिने जनाएका छन् । उनीहरूले कृत्रिम शुक्रकीट निर्माणमा सफलता मिलेको दाबी गरेका छन् । प्रयोगशालामै वीर्य उत्पादन गरी महिलाको शरीरभित्र राखेर बच्चा जन्माउने प्रविधिले साकार रूप लिइसकेको उल्लेख गर्दै सम्बन्धित अनुसन्धानकर्ताहरूले कृत्रिम शुक्रकीटको माध्यमबाट आफ्नो प्रयोगशालामा हालै एक मुसा पैदा गरिसकेको खुलासा गरेका छन् । प्रकृतिको एकाधिकार रहेको सन्तान उत्पादनजस्तो कार्यलाई समेत यसरी वैज्ञानिकहरूले चुनौती दिएबाट अब बच्चा जन्माउन असमर्थ रहेका पुरुषसमेत लाभान्वित हुने भएका छन् । किनकि, चिनियाँ वैज्ञानिकका अनुसार कृत्रिम वीर्यको निर्माण हुनुको अर्थ अब त्यस्ता पुरुषको उपचार पनि सम्भव छ जो महिलालाई गर्भवती तुल्याउने क्षमताबाट वञ्चित छन् ।