नेता छान्ने ‘मोडल गाउँ’ -वसन्तराज कुँवर

नेता छान्ने ‘मोडल गाउँ’ -वसन्तराज कुँवर


काठमाडौंको गोंगबु बसपार्कभन्दा करिब दुई किलोमिटर उत्तरमा पर्ने साङ्ला गाविसमा बसोबास गर्ने थुप्रै जातजातिमध्ये ठूलो सङ्ख्यामा त्यहाँ कुँवरको उपस्थिति छ । कुँवरहरूले त्यहाँको स्थानीय राजनीतिमा पनि खास अर्थ राख्दछन् । जब गाविसप्रमुखको चुनाव हुने समय आउँछ तब कसलाई चुनाव जिताउने भन्ने सम्बन्धमा गाउँमा जोडतोडले चर्चा चल्छ । ‘यो व्यक्तिलाई उम्मेदवार बनाउने’ भन्ने छलफलबाट तय भएपछि त्यसैलाई उर्ठाई अध्यक्ष बनाउने काम पनि हुन्छ । अध्यक्ष मात्र होइन उसको पूरै टिमले चुनाव जित्छ । पङ्क्तिकारको पुस्तैनी थलोसमेत रहेको त्यस गाउँमा पार्टीभन्दा पनि असल व्यक्ति छान्ने प्रयास हुन्छ । हालसम्म त्यस गाउँमा असल भएकैले प्याराविक्रम भन्ने व्यक्तिले सबैको विश्वास जितेका छन् ।
साङ्ला गाउँमा असलको आफ्नै परिभाषा छ । व्यक्ति पैसा हिनामिना गर्ने खालको हुनुहुँदैन । गाउँका विकास निर्माणमा उसको सधैं रुचि, सहभागिता र योगदान भएको हुनुपर्छ । गाउँमा मर्दापर्दा ऊ सबैको सहयोग गर्न अगाडि बढ्ने खालको हुनुपर्छ । त्यो व्यक्तिमाथि सबै गाउँलेको आस्था र विश्वास हुनुपर्छ । एउटा सानो गाउँ जहाँ व्यक्तिहरू सन्तोष र सुरक्षापूर्वक बस्न चाहन्छन्, तिनका लागि ती अध्यक्षबाट माथिकाबाहेक अरू खासै गुणहरूको अपेक्षा पनि हुँदोरहेनछ । यस गाउँमा उम्मेदवारले कुन पार्टीप्रति आस्था राख्छ भन्ने कुराको खासै अर्थ रहँदैन । केवल ती व्यक्ति असल छन् कि छैनन् र गाउँका लागि योगदान दिन सक्छन् कि सक्दैनन् भन्ने कुरामा मात्र सबैको चासो र चिन्ता रहन्छ । पङ्क्तिकारलाई लाग्छ, उक्त सानो गाउँजस्तै जिल्ला अलि ठूलो गाउँ, अञ्चल, क्षेत्र त्योभन्दा ठूलो गाउँ र पूरै देश विशाल गाउँ हो । पूरै देश चलाउने अध्यक्षको नाम प्रधानमन्त्री राखिएको होला र प्रत्येक संसदीय क्षेत्रहरूका सांसद । देश चलाउनेका नाम मन्त्रिपरिषद् राखिएको होला र नीति-नियम बनाउने ठाउँको नाम संसद् । हाम्रो गाउँलाई के विश्वास छ भने जसले नेपाल नामको विशाल गाउँ चलाउँछु भनेर आएको छ त्यो व्यक्ति पनि देशका लागि असल मान्छे होस् । त्यो व्यक्ति असल, निर्मल, स्वच्छ, मात्र होइन मान्छेले उसलाई देख्दा हेरिरहुँजस्तो लागोस् । उसका कुरा सुनिरहुँ जस्तो लागोस् । त्यस व्यक्तिले विगतमा देशका लागि दिएका योगदान अरूलाई सुनाइरहौँ जस्तो लागोस् । उसका कारणले सङ्कट नै आए पनि उसको भर गरिरहौँ जस्तो लागोस् । उसले पद पाउँदा अबिर छर्दै उफ्रौं-उफ्रौं जस्तो लागोस् । उसको प्राणरक्षाका लागि अगाडि बढेर आफ्नै छाति थापौं-थापौं जस्तो लागोस् । उसको भनाइ मानौं-मानौं जस्तो लागोस् । ऊ सँगसँगै हिँडौं-हिँडौंझैं लागोस् । उसको विरोध मात्र पनि कसैले गरे प्रतिकार गरौं-गरौंझैं लागोस् । त्यो मानिसको आत्मविश्वास र राष्ट्रप्रेमप्रति कुनै कहिल्यै शङ्का नउठोस् । हाम्रो गाउँका दाजुभाइहरूलाई देश चलाउने अध्यक्ष त्यस्तै होस् भन्ने चाहना छ ।
यसपालिको विश्वकप फुटबलमा कुनै पदमा नभएका नेल्सन मण्डेलाको हातबाट विश्वकप लिने र दिलाउने सबैको इच्छा देखियो । ती बूढा मान्छेसँग शक्ति होइन केवल असल व्यक्ति भएको इतिहास छ । त्यस्तो इतिहास जसले आफ्नो जीवनलाई अरूको भलाइमा समर्पित गरे । मेरो गाउँ पनि अध्यक्ष छान्दा कुनै पार्टीको झन्डा वा नाम हेर्दैन बल्की उत्पादन हेर्न चाहन्छ । झण्डा वा पार्टीको नामले मात्र देश उँभो लाग्दैन । देश उँभो लाग्ने लोककल्याणकारी कार्य गरेरै हो । त्यसैले मेरो गाउँ भन्छ, ‘छानौँ प्रधानमन्त्रीदेखि सांसद र गाउँ अध्यक्षसम्म, जसले लोककल्याणका काम गरेका उदाहरण छन् र गर्न सक्छन् । जसले लोककल्याणार्थ दिएका योगदानहरू घामजस्तै र्छलङ्ग देखिन्छन् ।’ केवल आफ्ना लागि सम्पत्ति जोड्न, भ्रष्टचार गर्न, शान्ति-सुरक्षाको स्थितिलाई अझै दयनीय बनाउन, कलकारखानाहरूलाई बन्द गराउँदै जान र कृषि क्षेत्रलाई बञ्जर क्षेत्रमा परिवर्तन गर्दै लैजान नेता भएर आएका व्यक्तिहरूबाट विकास, उन्नति, प्रगति भन्ने कुरा कुनै पनि हालतमा सम्भव हुँदैन किनकि त्यस्ता मानिसहरू विकासका काम गर्न योग्य वा सक्षम नै हुँदैनन् । आ-आफ्नो पार्टीकाबाहेक अरू सबैलाई प्रतिगामी र बद्मास देख्ने अहिलेका पार्टीहरूको चस्माबाट पनि असल व्यक्तिको पहिचान हुन सक्छ भन्ने कुरामा मेरो गाउँलाई कुनै विश्वास छैन । एउटा पीएचडी गर्ने व्यक्तिको पनि एक भोट र अपहरणकारीको पनि एक भोट, वैज्ञानिकको पनि एक भोट र गुण्डाको पनि एक भोट हुने अहिलेको पद्धतिमा नेताहरूलाई वैज्ञानिकको एक भोट पाउन औचित्य बुझाउनुपर्ने हुन्छ तर गुण्डालाई थोरै पैसा दिएर १० चोटि भेटी हलाउन मात्र होइन विरोधीको खुट्टा भाँचेर समर्थकहरूलाई भगाउन पनि मद्दत मिल्छ । त्यसैले यहाँ पीएचडी डाक्टरभन्दा नेताहरूका लागि गुण्डा महत्वपूर्ण भएका छन् ।
कहिलेकाहीँ त मलाई लाग्छ नेपाली जनताको नजरमा अहिलेका पार्टीहरू बाध्यात्मक सङ्गठन मात्र हुन् । वास्तवमै यी राजनीतिक पार्टीहरूमाथि कसैको विश्वास छैन तर विकल्प पनि छैन । त्रिभुवन विमानस्थलमा थोत्रा ट्याक्सीहरूले चक्काजाम गर्राई नयाँ ट्याक्सीहरू प्रवेश गर्न नदिएर आफ्नो अस्तित्व जोगाएझैं आफंै संविधान बनाई राजनीतिक पार्टीहरूको अस्तित्व नेताहरूले बाध्यात्मक परिस्थिति सिर्जना गरी जोगाएझैं मात्र देखिन्छ । त्यो सङ्गठन र नेता हुनुको अर्थ उनीहरूले नेपालीहरूलाई बुझाउन सकेका छैनन् । उनीहरू आफंै प्रजातन्त्र खोस्ने स्थिति ल्याउँछन् र नेपालीलाई अगाडि बर्ढाई केहीलाई ज्यान आहूति गर्न लगाई फेरि त्यही प्रजातन्त्र फिर्ता गराउँछन् । त्यसैलाई नै नेता भएको उपलब्धि मान्ने गर्छन् तर नेपालीको जीवन सुधारमा यो प्रक्रियाले कुनै परिवर्तन ल्याएको देखिँदैन । हालसम्म नेपालका राजनीतिक दलहरूको स्वीकार्यता बाध्यात्मक मात्र छ । कुनै पार्टीमा कोही व्यक्ति अलि बढी बोल्न जान्ने होलान्, कोही खुराफात गर्न जान्ने होलान्, कोही अलि गुण्डागर्दी गराउन सक्ने होलान्, कोही भारतसँग अलि राम्रो सम्बन्ध बनाउन सक्ने होलान्, कोही त्यही जातका वा क्षेत्रका भएकाले माया पाएका होलान्, कोहीसँग अलि बढी पैसा भएका कारण त्यो धन बाँडेर सांसद किनी प्रधानमन्त्री नै बन्न सक्ने हैसियतका होलान्, तर के माथिका गुणहरू भएकै कारणले त्यो व्यक्तिले कुनै मुलुकको आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक क्षेत्रमा आमूल परिवर्तन ल्याउन सक्छ भन्ने हुन्छ त – पङ्क्तिकार ठोकेरै भन्छ- कदापि हुँदैन ।
राजधानी काठमाडौं अहिले नेपालका थुप्रै गाउँ, जिल्ला, अञ्चल, क्षेत्र र देशकै नेता हुन खोज्नेहरूको घरले भरिएको छ । तिनले यहाँ विलासी जीवन बिताइरहेका छन् । तर, जब पङ्क्तिकार आफ्नो गाउँमा उभिएको काभ्रो रूखको फेदबाट सोच्ने गर्छ कि ज-जसले यिनलाई आफ्नो अमूल्य भोट दिएर जिताएर सभापति, संसद्, मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्री बनाए या काठमाडौंमा सम्पन्नता दिलाए, तिनका जीवनमा चाहिँ के परिवर्तन आएको होला त – यस्तो बेला जवाफ मिल्दछ- वास्तवमा निमुखा गाउँवासीको जीवनमा कुनै परिवर्तन आएको छैन, भोट हाल्नेहरूको जीवन हिजोजत्तिकै कष्टप्रद छ ।
त्यसैले पङ्क्तिकार नेपाली जनतामा अनुरोध र आह्वान गर्न चाहन्छ कि अब हामीले देश चलाउने जिम्मा केवल बाध्यात्मक ढङ्गले तिनै असफल अनुहारहरूलाई मात्र दिनुहुँदैन बल्की काबिल -सक्षम) मानिस छानेर तिनलाई गाउँदेखि केन्द्रसम्म पठाउनुपर्छ । ती राजनीतिमा आउनै नचाहालान्, तर हामीले अनुरोध गरेरै ल्याउनुपर्छ । काबिल व्यक्तिहरूले मात्र देशमा परिवर्तन ल्याउन सक्छन् । चुनावमा उठ्ने र नेता हुने रहर सबैमा होला तर सबैमा देश चलाउने ज्ञान र क्षमता हुन सक्दैन । बिहारमा डाँकाहरू पनि सांसद हुन्छन्, मन्त्री हुन्छन् तर के तिनले देश बनाउन सक्छन् र – हो बरु त्यस्ताले सीडीओ पिट्न भने सक्छन् ।
केही दिनअघि मेरो भेट झापाका एक व्यक्तिसँग भयो । मैले सोधेँ, ‘तपाईंहरू किन कृष्ण सिटौला भन्नेलाई नेता मान्नुहुन्छ -‘ उनले भने, ‘पार्टीले तिनैलाई टिकट दिन्छ अनि के गर्ने त -‘ मैले सोधेँ, ‘उनले झापामा के-के लोककल्याणकारी काम गरेका
छन् -‘ उनले भने, ‘केही गरेका छैनन् । बिर्तामोडमा ठूलो डिपार्टमेन्ट स्टोर बन्दै छ, त्यसमा सिटौलाले लगानी गरेका छन् रे – … ।’ उनको कुराअनुसार सिटौलाको झापामा योगदान भनेको झापावासीका लागि केही रहेनछ केवल तिनले प्रशस्त पैसा कमाएको नै ठूलो कुरा मानिएको रहेछ । अनि मैले भनेँ, ‘तपाईंहरू किन त्यस्ता लोककल्याणका क्षेत्रमा कुनै योगदान नदिने व्यक्तिलाई नेता मानिरहनुभएको छ त -‘ ती व्यक्ति चुप रहे । सिटौलाजस्तै आफ्ना क्षेत्रमा कुनै योगदान नदिने व्यक्तिहरू आज आफूलाई नेता बनाएर हिँड्न सफल भइरहेका छन् । राजनीतिक दलहरू पनि यस्तै मानिसहरूका अनुहार टेलिभिजनबाट देखाई जनतामाझ आफ्नो साख नै डुबाउने आत्माघाती कदम चालिरहेका छन् । व्यक्तिको पहिचान उसको योगदानबाट हुनुपर्छ । बिहानबिहानै पार्टीका अध्यक्षलाई चाकडी गरेकै भरमा वा देशका गुह्य कुरा विदेशीलाई बताएकै भरमा कोही मन्त्री हुन सक्ने हो भने यो मुलुकमा मन्त्रीको बचेखुचेको इज्जत र आस्था पनि लोप हुनेछ । अन्तमा म मेरो गाउँको काभ्राको रूखबाट के निवेदन गर्न चाहन्छु भने अब कोही व्यक्ति नेता हुन खोज्यो भन्दैमा त्यसका पछि नलागी गाउँ, जिल्ला र केन्द्र तीनै ठाउँमा योग्य व्यक्ति छानेर पठाऊँ, अनुरोध गरेरै भए पनि त्यस्ता व्यक्तिहरूलाई जिताएर पठाऊँ । जनताका लागि केही नगरी राजनीतिको नाममा सम्पत्ति जोड्न सफल नेता भन्नेहरूलाई दूधबाट झिँगा फालेझैं फालौँ । नेता छनोट गर्ने सवालमा साङ्लेखोला एक मोडल गाउँ हो । मेरो गाउँमा सिटौला-मार्काका व्यक्ति कहिल्यै नेता हुन सक्दैनन् ।