सौतेनी आमा

सौतेनी आमा


Sabi pathak

– त्रिपाठी साबी पाठक

नाताले उनी सौतेनी आमा पर्छिन्
आमा भन्छु, मलाई आँखा तर्छिन्
तेरो छोरी यस्ती भन्दै बालाई कुरा लाउँछिन्
यसैगरी कुरा लाउँदा बाको माया धेरै पाउँछिन्
मेरो आमाको भाग्य लुट्ने पनि उनी
मेरो भाइलाई चोर भन्दै कुट्ने उनी
नाताले उनी सौतेनी आमा पर्छिन्
राम्रै काम गर्दा पनि उल्टो रिस गर्छिन्
बाले मलाई माया गरे, घर छोडी जान्छु भन्छिन्
मेरो अंश छुट्याइदेउ अलग बसी खान्छु भन्छिन्
स्कुल जान्छु आमा भने, पोइला जान्छेस् ता भन्छिन्
काम नगरे बिहान–बेलुका कसको कमाइ खान्छेस् भन्छिन्
नाम जान्दिनन् उनी मेरो, ओई भनी बोलाउँछिन्
म मेरो आमालाई सम्झिएर टोलाउँदा,
उनी चर्की–चर्की काम अराउँछिन्
नाताले उनी सौतेनी आमा पर्छिन्
स्पर्षको आशा गर्छु अझै रिस गर्छिन्
हावाहुरी मडारिएर आकाश गर्जी चट्याङ पर्दा
घरको छानो भत्किएर मेरो नजिक झर्दा
म आत्तिएर उनको फरियामा लुटपुटिन पुग्छु
तेरो अधिकार छैन यहाँ भन्छिन्
नाताले उनी सौतेनी आमा पर्छिन्
पढी समाजमा केही गर्छु भन्दा अझै रिस गर्छिन्
भोक लाग्यो आमा भन्छु, भाइको जुठो भात दिन्छिन्
त्यही जुठोको बदलामा धेरै काम लगाउँछिन्
त्यही घरकी छोरी हुँ म पनि, नोकर्नीलाई जस्तै गर्छिन्
बचनरुपी बाणहरु बर्षाउँदै मेरै पछि पर्छिन्
मेरो अनुहारमा खुशी देख्दा भित्र–भित्रै जल्छिन्
मेरो सफलता सहन नसकी बेहोस भई ढल्छिन्
मेरो आँखाको आँसु देख्दा उनी मख्ख पर्छिन्
नाताले उनी सौतेनी आमा पर्छिन् ।
यदि सम्भव हुन्छ भने
सौताने भन्ने नाता अन्त्य होस् सबै हुन् बराबरी
डर लाग्छ नजोडियोस् यस्ता नाता मेरावरिपरि
नाताले उनी सौतेनी आमा पर्छिन्
मुटु गाँठो पारेर आमा भन्छु, उनी आँखा तर्छिन्
उनी अझै रिस गर्छिन् ।