पूर्वगृहमन्त्री घिमिरेको ‘मोडहरूमा म’ सार्वजनिक

पूर्वगृहमन्त्री घिमिरेको ‘मोडहरूमा म’ सार्वजनिक


Ma

पूर्वगृहमन्त्री भोजराज घिमिरेको संस्मरणात्मक पुस्तक ‘मोडहरूमा म’को शनिबार एक समारोहबीच विमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले उक्त पुस्तक सार्वजनिक गरे । महोत्तरी परिवार, काठमाडौंको आयोजनामा सम्पन्न विमोचन कार्यक्रममा प्रमुख अतिथि डा. घिमिरेले विमोचित पुस्तक इतिहासको गम्भीर अध्ययन गर्नका लागि एउटा सूत्र भएको उल्लेख गरे ।
महोत्तरी परिवारका अध्यक्ष किरण थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा महोत्तरी जिल्लाका वरिष्ठ व्यक्ति पूर्वप्रधानन्यायाधीशहरू केदारनाथ उपाध्याय, केदारप्रसाद गिरी, रामकुमारप्रसाद शाह, पूर्वन्यायाधीश गिरिशचन्द्र लाल, राजनीतिज्ञ नवराज सुवेदी, प्रा.डा. वीरेन्द्रप्रसाद मिश्र, प्रा. महेन्द्रनारायण मिश्र, विमलकुमार शर्मा, ऋषिराज घिमिरे, राजेश खनाल, विजय रौनियार र नारायणप्रसाद घिमिरेले पुस्तकका लेखक भोजराज घिमिरेका विषयमा प्रकाश पारेका थिए ।

‘आरम्भ’को विमोचन

राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख प्रकाशचन्द्र घिमिरेको गीतिसङ्ग्रह ‘आरम्भ’को गत साता विमोचन भएको छ । भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित एक कार्यक्रमबीच घिमिरेका सहोदर दाइ पूर्व गृह तथा परराष्ट्रमन्त्री एवम् मुख्यसचिव माधवप्रसाद, माता चैतन्यदेवी र पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले गीतिसङ्ग्रहको सीडी अनावरण गरी संयुक्त रूपमा विमोचन गरेका थिए । घिमिरेको शब्द रहेको एल्बममा जम्मा ६ वटा गीत रहेका छन् । त्यसमा आलोक श्री, शान्तिराम राई र कल्याण आलेले सङ्गीत भरेका छन् । गायकमा रामकृष्ण ढकाल, प्रमोद खरेल, मल्लिका कार्की, सत्यराज आचार्य र शिव परियार छन् । ‘भिजाउँछु प्रेम रसइमा’ बोलको गीतको म्युजिक भिडियो पनि सो अवसरमा प्रदर्शन गरिएको थियो । त्यसै घिमिरेको शब्द, मनोज सिंहको सङ्गीतमा चर्चित गायक उदीतनारायण झाले गाएको ‘हावा चल्दा’ बोलको गीतको म्युजिक भिडियो पनि प्रदर्शन गरिएको थियो । सो गीतको छायाङ्कन थाइल्यान्डको बैंककमा गरिएको थियो ।

कार्यक्रममा घिमिरेले आफ्नो गीतियात्राको प्रेरणाको स्रोत आमा, दाइ र परिवारकै सदस्य भएको बताए । राखेप सदस्यसचिव केशवकुमार विष्टले घिमिरेको कार्यले सिङ्गो खेलकुदलाई गरिमामय बनाएको धारणा व्यक्त गरे ।

कोकको वसन्त काव्य गोष्ठी
वसन्त ऋतुको पूर्वागमनको उपलक्ष्यमा हालै राजधानीमा कोक (कोठे कवि) गोष्ठीको आयोजना गरियो । वरिष्ठ निबन्धकार कमलमणि दीक्षितको प्रमुख आतिथ्यमा भएको वसन्त काव्य गोष्ठीको आयोजना यसपल्ट कवि जगदीश्वर पोखरेलले आयोजना गर्नुभएको थियो । कोकले यसपल्ट डा. जीवन काश्यप, जगदीश्वर पोखरेल र शान्ति सापकोटालाई सदस्यमा चयन गर्‍यो । कवि गोष्ठी पोखरेल निवास रवि भवनमा सम्पन्न भयो । कोक गोष्ठीको नियमअनुसार आयोजकले कविहरूलाई खिर, सेल आदि खाजाको बन्दोबस्त गर्नुपर्ने हुन्छ ।

वसन्त काव्य गोष्ठीमा क्रमश: शान्ति सापकोटा, डा. जीवन अधिकारी, जीवन काश्यप, भुवनहरि सिग्देल, गाउँले बलदेव अधिकारी, डिल्लीप्रसाद मूलतिहुन, विजयराज नेउपाने, पूर्णप्रसाद पन्त, कृष्णप्रसाद घिमिरे मैदेली, सीताराम अधिकारी, पुरुषोत्तम सिग्देल, रत्ननिधि रेग्मी ‘शुक्रचार्य’, प्रभा आचार्य भट्टराई, रामबहादुर पहाडी, प्रह्लाद पोखरेल, श्रीधर पौडेल, सम्पा उपाध्याय, भाग्यशाली अधिकारी, राजेन्द्रप्रसाद ढुङ्गाना, श्यामबहादुर भावुक, जनार्दन अधिकारी, रमेश खकुरेल र लक्ष्मीप्रसाद मिश्र आदिले कविता, गीत तथा गजल प्रस्तुत गरेका थिए ।