सहरको कविता

सहरको कविता


– सन्त थलङ

कुनै विद्रोही नेता
जीवनविरुद्धको हुङ्कार पिटेर
आतङ्कको खेती गरिरहेछ सहरमा
र, मान्छेहरू
घुरिरहेछन्– अखबारका मुख्य पृष्ठहरूमा !
सगरमाथा आरोहण गरिरहेको महँगी
काला व्यापारीहरूले जन्माएको कृत्रिम अभाव
र बाँच्नका निम्ति हड्डी घोटिरहेका निम्नवर्ग
बाँच्नुको नाममा यातना खेपिरहेछन्– सहरमा !
जिन्दगी भोग्नुको उत्कर्षमा–
नवधनाढ्यहरू
कतै जुवामा भाग्य अजमाउन खोजिरहेछन्
या कतै अमेरिकाको
उत्तरआधुनिक जीवनशैलीको सपना देखिरहेछन्
या कुनै महँगा सपिङ मलहरूमा
नभेटेर रुचिका कुनै नयाँ वस्तु
आफ्नै महलको कुनै एकान्तमा
कम्प्युटरको स्क्रिनमा हेर्दै कुनै अश्लील दृश्य
कामुकताको उत्कर्षमा हराइरहेछन्–
उपभोक्तावादी संसारका मान्छेहरू

कुनै अखबारको रङ्गीन पृष्ठमा
चल्तीको कुनै नायिकाले खेलेको नीलो चलचित्र
तातो समाचार बनेर
कतै युवाहरूको हिउँदको चिसो भगाइरहेको हुन्छ
या त कुनै मन्त्रीको
भ्रष्टाचार र राष्ट्रभक्तिको
समाचार आइरहेको हुन्छ एकैसाथ !
या कुनै मन्दिरको भेटीमा
राष्ट्रियतामाथिको लुछाचुँडीको खेल
राजनीति बनेर सडक तताइरहेको हुन्छ
वास्तवमा
यो सब गर्नुको अर्थ हुन्छ सहरमा !

नवयौवनाहरूको छोट्टिँदै गएको कपडाको चर्चा !
होटेल र मसाज पार्लरहरूमा–
प्रहरीको छापा र रङ्गेहात पक्राउ युवायुवती !
क्रमश: भत्किँदै गएका सामाजिक सीमाहरू
पतन हुँदै गएको नैतिकता
या विकृतिका फोहोरहरूले– पुरिँदै गएको मौलिक संस्कृति
र, मान्छेहरूले भुल्दै गएको कर्तव्य
फस्टाउँदै गइरहेको भ्रष्टाचार र षड्यन्त्र
सङ्कटमा परिरहेको मानवीय मूल्यहरू
या, मान्छेमा भेटिन छाडेको हार्दिकता
पैसामा बेचिन थालेको प्रेम !
आखिर के छैन ? नहुनुपर्ने जति सबै छ
तर, हुनुपर्ने केही छैन सहरमा !

– सावाँ–७, ताप्लेजुङ, नेपाल

x]lnsK6/af6 laxLaf/ lnOPsf] /fhwfgL ;x/sf]] tl:a/ . tl:a/ M k|bLk/fh jGt, /f;;