साझा मित्र बन्नुपर्छ चीन

साझा मित्र बन्नुपर्छ चीन


Rajesh Ahiraj
:: डा. राजेश अहिराज ::

समग्र नेपालको हित चाहेको दाबी गर्ने छिमेकी राष्ट्रको कथनी र करणी कुनै समानता देखिँदैन । असल छिमेकी राष्ट्र भनेको अर्को छिमेकी मुलुक हरेक समुदाय, वर्ग र जातिका लागि समान धारणा राख्नु हो । तर, चीनले नेपालमा रंगभेदी राजनीति गर्दै आएको आरोप बारम्बार लाग्दै आएको छ । चीनको नेपाल नीतिले नेपालकै आधाभन्दा बढी जनसंख्या रहेको मधेशीहरूले बारम्बार चीनको झण्डा जलाएको सर्वविदितै छ । नेपालको भौतिक तथा जनशक्तिको विकासमा विशेष चासोका साथ सक्रिय रहेको चीनले मधेश एवं मधेशीसँग रंगभेदको राजनीति गर्दै आएको छ । नेपालको विकासमा भएका लगानीहरूमा चीनले हिमाल पहाड वा खससमुदायमा मात्र केन्द्रीत गरेर साम्प्रदायिकता भडकाउने कार्य गरिरहेको छ ।

मधेशलाई गैरनेपालीझै व्यवहार गर्ने, लगानी र अवसरमा विभेद गर्ने र जात वा रंगको अधारमा व्यवहार गर्दै आएको छ । चीनले नेपालमा गरेका लगानी, जनशक्तिको विकास, प्रतिनिधिमण्डको चयन लगायतका अवसर एवं लगानीमा मधेशीहरूसँग विभेद गर्दै आएको छ । नेपालको मित्रराष्ट्रको संज्ञा पाएपनि नेपाली नेपालीबीच सम्प्रदायिकता भडकाउने, जातीय रंगभेद संघर्ष चर्काउने र असन्तुलनको राजनीति गरी सामुदायिक द्वेष सिर्जना गर्ने कार्यमा चिनियाँ नीति रहँदै आएको छ ।

नेपालका प्रधानमन्त्री चीन भ्रमणको क्रममा जारी गरिएको १५ बुँदे संयुक्त वक्तव्यमा मधेशको विकास वा मधेशसँग सरोकार राख्ने एउटा पनि विषय समावेश छैन । नेपालमा संविधान जारी हुँदा संविधान एकांकी रहेको भन्दै आन्दोलन गर्दा राज्यको तर्फबाट पाँच दर्जन जति मधेशीहरूको हत्या भयो । त्यस विषयमा चीनले एक शब्द पनि बोलेन । बरू मधेशीको हत्या गर्ने राज्यलाई मौन समर्थन गर्दै आए । नेपालको संविधानमा संशोधन आवश्यक रहेको विश्व समुदायले नै आवाज उठाइरहँदा चीनले त्यसप्रति कुनै किसिमको धारणा सार्वजनिक गरेन । चीनले नेपालमा साम्प्रदायिकतालाई प्रश्रय दिँदै आएको प्रष्ट हुन्छ ।

चीनको रोजाई हिमाल एवं पहाड मात्र रहेको पाइन्छ । नेपालको संरचनागत अस्तित्वबाट मधेशलाई अल्ग्याउने खालको चीनबाट हुने विकास सहयोग नेपालको समग्र विकासका लागि गम्भीर रहेको छ । मुलुकको आधाभन्दा बढी जनसंख्यालाई विभेद गरेर नेपालसँग चीनले समानतामा आधारित सम्बन्ध कदापि बनाउन सक्दैन । नेपालमा अहिले विभेदका विरूद्ध संघर्ष गर्ने कार्यमा मधेशीहरू आन्दोलित छन् । सम्पूर्ण अवसर र दायित्वहरूमा समानताका लागि आन्दोलनमा रहेका मधेशी समुदायसँग चीनले विभेद गरेर थप पीडामा पारेको छ । नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक रहेको विश्व समुदायले बुझेकै कुरा हो । नेपालका निकतम् छिमेकी मुलुक गणतान्त्रिक चीनले यो कुरा अहिलेसम्म बुझ्न सकेको छैन वा बुझेर पनि बुझ पचाउन खोजेको आभाष हुन थालेको छ ।

नेपालमा स्पष्ट रूपमा दुई किसिमको राष्ट्रियता रहेको कुरा यहाँका शासकवर्ग स्वयम्ले स्वीकार गरिसकेका छन् । मधेशी राष्ट्रियता र गैरमधेशी राष्ट्रियता रहेको छिमेकी मुलुकहरूले सहजै बुझ्नुपर्ने हो । नेपालमा दुईटा राष्ट्रियता रहेको प्रमाण विभिन्न किसिमका छन् । अहिले भर्खरै हिन्दूहरूको महान पर्व होलीलाई नै लिने हो भने पहाड र मधेशका लागि छुट्टाछुट्टै आ–आफ्नै महत्व रहेको देखिन्छ । यसैगरी विभिन्न किसिमका नेपाली गैरमधेशी र मधेशीबीच भिन्नता रहेको छ । आफूलाई नेपालको मित्र भनेर प्रचार गर्ने चीनले नेपालभित्रका एकमात्र समुदायको मित्र रहेको प्रष्टिएको छ । चीनले नेपालमा रंगभेदी राजनीति गर्दै आएको आरोप पहिलादेखि नै लाग्दै आएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भारतभन्दा अगावै नेपालका आधा जनसंख्याभन्दा बढीको नेतृत्व गर्ने राजनीतिक दलहरूले चिनियाँ राजदूतावासमार्फत जारी आन्दोलन र त्यसका मागबारे अवगत गराएका थिए ।

तर, अधिकारका लागि आन्दोलित मधेशका जनतालाई छिमेकी राष्ट्र चीनले पूर्णरूपमा बेवास्ता गरेको छ । संविधान जारी हुनु पहिलादेखि नै आन्दोलन गर्दै आएका जनतामाथि राज्यपक्षबाट भएको हत्याहिंसाबारे विश्व समुदायले समेत यो मानव अधिकार विपरीत भएको धारणा राखिसकेको अवस्थामा चीनले मानवताको नाताले पनि गैरन्यायिक हत्याबारे आफ्नो धारणा राख्नुपर्ने थियो । तर, चीन नेपालको छिमेकी वा मित्र नभएर एउटा मात्र समुदायको छिमेकी रहेको बुझ्न सकिन्छ । यसप्रकारको मधेशको उपेक्षाबाट प्रष्टिएको छ कि नेपालमा चीनले नश्लवादी व्यवहारलाई निरन्तरता चाहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको क्रममा दुई मुलुकबीच जारी भएको १५ बुँदे संयुक्त वक्तव्यमासमेत चीनले मधेशबारे एक शब्द पनि बोलेको छैन । चीन नेपालका सबै समुदायका लागि साझा मित्र बन्नुपर्छ ।