अवैतनिक महावाणिज्यदूत वसन्त विभूषित

अवैतनिक महावाणिज्यदूत वसन्त विभूषित


Basanta 1
नेपालका लागि मोरोक्को अधिराज्यका मानार्थ अवैतनिक महावाणिज्यदूत वसन्तकुमार चौधरी मोरोक्को अधिराज्यको प्रतिष्ठित पदक ‘अलाबिटी अफिसर विसाम’द्वारा विभूषित भएका छन् । गत आइतबार आयोजित एक विशेष समारोहमा साहित्यिक व्यक्तित्वका रूपमा समेत सुपरिचित चौधरीलाई उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले उक्त विभूषणबाट विभूषित भएको प्रमाणपत्र प्रदान गरेका हुन् । नेपालका लागि मोरोक्कोका राजदूत लार्बी रिफोकोको पनि समारोहमा उपस्थिति थियो ।

समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री थापाले नेपाल र मोरोक्कोबीच विद्यमान सुमधुर दौत्य सम्बन्धमा थप प्रगाढता बढाउन महावाणिज्यदूत चौधरीले गरेको योगदानको सराहना गरे भने भूकम्पका बेला आपत्कालीन सहयोगस्वरूप नेपाल सरकारलाई मोरोक्कोले एक लाख अमेरिकी डलर उपलब्ध गराएकोमा मोरोक्को सरकार र महावाणिज्यदूत चौधरीप्रति समेत उनले आभार प्रकट गरे ।

राजदूत लार्बीले मोरोक्को र नेपालबीचको सम्बन्धलाई जनस्तरमा समेत सुदृढ तुल्याउन महावाणिज्यदूत चौधरीले गर्नुभएको अतुलनीय योगदानको कदरस्वरूप मोरोक्कोका नरेश मोहम्मद छैटौँले उक्त विभूषण प्रदान गर्नुभएको जानकारी दिएका थिए । आफ्नो सम्बोधनको क्रममा महावाणिज्यदूत चौधरीले नेपाल र मोरोक्कोबीचको व्यापारिक एवम् औद्योगिक सम्बन्ध विस्तारमा आफू निरन्तर लागिरहने प्रतिबद्धता पनि व्यक्त गरे । समारोहमा नेपाल सरकारका उच्च अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, उद्योगपति, व्यापारी, कलाकार, समाजसेवी, वरिष्ठ सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो ।
Basanta