महाविनासकारी भूकम्पको एक वर्ष

महाविनासकारी भूकम्पको एक वर्ष


Baishak 12, 072
०७२ वैशाख १२ गते शनिबारको बिदाको दिन । आम मानिस बिदा मनाइरहेका थिए । बिहान ११ः५६ बजे गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.६ रिक्टर स्केलको भूकम्पले विशेषगरी काठमाडौँ उपत्यका र यसका आसपासका १४ जिल्लालाई धेरै प्रभावित पा¥यो भने ३१ जिल्लामा सामान्य प्रभाव प¥यो ।

इतिहास बोकेको धरहरा, काष्ठमण्डप, काठमाडौँ दरबार स्वायर, ललितपुर र भक्तपुर दरबार स्वाक्यरलगायतका बहुमूल्य सम्पदाहरु क्षणभरमा ध्वस्त भए । आठ हजार ९९० नागरिकको अकालमा निधन भयो भने २१ हजार बढी नागरिक घाइते भए । जनधन, अर्बौ मूल्य बराबरको सम्पदा, भौतिक सम्पत्तिको क्षति भयो ।

सरकारको अध्ययनअनुसार करिब रु. आठ खर्बबराबरको क्षति गोरखा भूकम्पले ग¥यो भने भौतिक पूर्वाधार तथा अन्य क्षतिको मूल्याङ्कन हालसम्म पनि वस्तुनिष्ठ ढङ्गले हुन सकेको छैन ।

भूकम्पका कारण लिच्छवीकालीन, मल्लकालीन मन्दिर, गुम्बा तथा अन्य भौतिक संरचना बढी क्षति पुग्यो, जुन नेपालको पहिचान मात्रै होइनन्, विश्व सम्पदा सूचीमा सूचीकृत धरोहरसमेत हुन् ।

करिब आठ लाख व्यक्तिगत घर तथा आवासको क्षति भयो, भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण गठनमा भएको ढिलाई तथा अन्य कारणहरुले गर्दा भूकम्पपीडितले हालसम्म पनि राहत पाउन सकेका छैनन् । प्राधिकरणले दोलखाको सिगटीलगायतका स्थानबाट रु ५० हजारका दरले राहत अनुदान वितरण सुरु गरेको छ ।

सरकारले केन्द्रीय तथ्याङ्क विभागमार्फत खटाएका एक हजार ५०० इन्जिनियर तथा सामाजिक परिचालक खटाएर एकिन तथ्याङ्क सङ्कलन गरिहेको छ । यसअघि तत्कालीन राहत तथा उद्धारका लागि सङ्कलन गरिएका तथ्याङ्क वस्तुनिष्ठ एवम् व्यावहारिक नभएको भन्दै सरकारले पुनः तथ्याङ्क सङ्कलन गरेको हो । राजधानीका तीन जिल्ला बाहेक ११ जिल्लामा अनुदान वितरणको काम सुरु भएको पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

भूकम्प गएको एक वर्षपछि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका शीर्ष नेताले पुनः निर्माणको योजनावद्ध पहल सुरु गर्नुहुने भएको छ । प्राधिकरणकाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारी गोरखाको वारपाक पुगेर पुनः निर्माण अभियानको शुभारम्भ गर्नुहुनेछ भने प्रधानमन्त्री केपी शर्मा ओली धरहरामा अभियानको शुभारम्भबाट अभियान सुरु गर्दै सिन्धुपाल्चोक, ओखलढुङ्गासमेत पुगेर पुनःनिर्माणलाई प्रभावकारी रुपमा अगाडि बढाउनुहुनेछ ।

गृह मन्त्रालय, सहरी विकास मन्त्रालय, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलगायतका मन्त्रालयको संयोजनमा मुलुकका विभिन्न स्थानमा पुनःनिर्माणको काम आइतबारबाटै सुरु गरिनेछ ।

चारवटै पुनःनिर्माणको शुभारम्भ बिहान ९ बजे एकै समयमा गरिने छ । भूकम्पबाट क्षति भएका १०४ वटै सम्पदा पुनःनिर्माणका लागि रु दुई अर्ब १० लाख ३४ हजार लाग्ने प्रारम्भिक अनुमान विभागको छ । यसमध्ये रु २८ करोड राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट निकासा भइसकेको छ ।

भूकम्पपीडित जनताले राहत नपाएको, सरकारले राहत तथा उद्धारमा प्रभावकारी कदम नचालेको भन्दै जनस्तरबाट गुनासो पनि नआएको होइन । सरकारले गत असारमा पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय दातृ निकायको सम्मेलन गरेर सहयोगका लागि आह्वान पनि ग¥यो । दातृ निकायले रु. चार खर्ब बराबरको सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । तर प्रतिबद्धताअनुसार सहयोग रकम भने अपेक्षा गरेअनुसार प्राप्त हुन सकेको छैन । राससले जनाएअनुसार प्राधिकरण गठन र कार्यकारी प्रमुखलगायतको नियुक्तिका कारण पनि राहत र पुनःनिर्माण प्रक्रियाले गति दिन नसकेको बताइन्छ ।
Barpak
भूकम्प गएको एक वर्षपछिको बारपाकको दृश्य । बारपाकवासीले त्रिपालबाट टहरोमा सर्न वर्षदिन नै कुर्नुपर्‍यो । तस्बिर : रासस