आमा

आमा


Sagar
– सागर

तपाईंको हराएको छोरा खोजी गर्ने जिम्मा देशको हो आमा
द्वन्द्वमा मारिएका श्रीमान्को क्षतिपूर्ति तपाईंले पाउनुपर्छ आमा
राजनीतिको रङमा छोडेको गाउँ फर्कन पाउनुपर्छ आमा
भत्केको घरको क्षतिपूर्ति सरकारले दिनुपर्दछ आमा

लालपुर्जा नभए’नि घर तपाईंकै हो भन्छ सर्जिमिनले आमा
लालपुर्जा पनि जन्मँदै दैवले हातमा थमाइदिएका होइनन् नि आमा
नियम र कानुन पनि ईश्वरले नै बनाइदिएका होइनन् आमा
काखा र पाखा बनाउने मति पनि त भगवान्ले दिएनन् आमा

राजनीतिक वाद–संवाद पनि त उनकै देन होइन नि आमा
चोरलाई चौतारो साधुलाई शूली हाल्न लोकतन्त्र आएन होला नि आमा
भेष बदलेका भेषधारीले गरेका क्रियाकर्म हो आमा
अब त उनीहरू पनि सत्तरी काटिसके होलान् आमा

धर्मराजले चित्रगुप्तलाई आदेश दिइसके होलान् आमा
कालको पासोले हाँसोको खित्का छोड्दै होलान् आमा
एक दिन ट्याक्स हेभेनबाट घिच्याएर लैजान्छ होला आमा
गरिबको मुख मोसेर थुपारेको धन बैरीले खान्छ आमा

भोको पेट र नाङ्गो आङको श्राप फर्कन्छ होला आमा
ती गरिबका कलिला बालकले दूध त के पानी पनि पाएनन् आमा
भोकै र प्यासै बाबुको फुसको छानो हेर्दै मृत्युलाई पर्खे होलान् आमा
टाँडमाथिको गुन्द्रीमा छटपटिएरै मरिसके होलान् आमा

आज उनीहरूको पुनर्जन्म ट्याक्स हेभेनमा जन्मिसके होलान् आमा
उतैबाट उनीहरूको नाममा आएको अनुदान उतै फर्किसक्यो होला आमा
गरिबको नासो हत्याएर धनी बन्नेहरू फन्दामा पर्दै छन् आमा
पद र प्रतिष्ठामा जवानी बिताउनेहरू कालो धन्दा गर्दै छन् आमा

निष्ठामा कमाएर उत्तराद्र्ध प्रतिष्ठामा रम्नेहरू रहन्छन् आमा
बाँकी सबैलाई खरेटाले नसके हुरीले नै बढार्छ होला आमा
एक दिन धर्मराजको जन्म यस धर्तीमा अवश्य हुन्छ आमा
चित्रगुप्त पनि जन्मिसके होलान् नेपालमा आमा

व्यभिचारीको भोजले धर्तीको बोझ गह्रुँगो भएको छ आमा
मुक्तिको नगरा देशमा बज्न थालिसकेको छ आमा !