पत्नीको फन्दाबाट एघार वर्षमा उन्मुक्ति

पत्नीको फन्दाबाट एघार वर्षमा उन्मुक्ति


Mukti News pic 1

एघार वर्ष आफ्नै पत्नीद्वारा घरमा बन्धक तुल्याइएका अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ निवासी भोजबहादुर जीसीलाई उपचारका लागि राजधानी पठाइएको सन्दर्भ यतिबेला सन्धिखर्कमा चर्चाको विषय बनेको छ । घरभित्र थुनामा रहेको करिब एघार वर्षमा गत साता सूचना तथा सुशासन अभियानका अध्यक्ष तथा पत्रकार मुक्तिनाथ भुसालको विशेष पहलकदमीमा भोजबहादुर मुक्त भएका हुन् । त्यसो त उनी आफ्नै घरभित्र बन्दीका रूपमा रहेको र खानापिना तथा दिसापिसाब एकै ठाउँमा गर्न बाध्य भएको घटना जिल्लाका सरोकारवालाहरूबीच नौलो मानिदैनथ्यो, तापनि उनको उद्धारका लागि हालसम्म कसैको सक्रिय सहभागिता रहन सकेको थिएन ।

गत वैशाख २३ गते शुक्रबार सञ्चारकर्मी भुसाललाई लिएर यस पङ्क्तिकार सदरमुकामदेखि करिब एक किलोमिटर यात्रामा रहेको भोजबहादुरको घरमा पुग्ने क्रममा उनकी श्रीमती कमला जीसी पङ्क्तिकारसँग एक्कासि भड्किइन् । ‘जथाभावी आफ्नो घरमा आएर घरका मानिसको तस्बिर खिचेर बेइज्जत नगर्न’ उनले चेतावनी दिइन् । उनको यस व्यवहारले आफ्ना लोग्नेलाई बन्धक बनाएर घरमै रहश्यमयी क्रियाकलाप गर्ने गरेको भनी स्थानीय तवरमा चलेका हल्लाकै पुष्टि भएको अनुभूति भयो ।

भुसालजीले पङ्क्तिकारलाई शान्त रहन इसारा गर्दै श्रीमती जीसीसँग कुराकानी गर्न सुरु गरे । कुराकानीको क्रममा आफ्ना श्रीमान्को उपचारका लागि २०–२२ वर्षयता ३०–३५ लाख खर्च भइसकेको र मानसिक अवस्था ठीक नभएको कारण घरभित्र थुनेर राखेको तर्क उनले गरिन् । त्यसपश्चात् उनका बन्दी श्रीमान्सँग भेट्न चाहेको धारणा भुसालजीले राखे, तर कुरा मिलेन । श्रीमती जीसीले टार्न खोजिन् । त्यसपछि चतुर्‍याइँपूर्वक भुसालजीले भैगो जाऔँ भन्दै त्यहाँबाट बाहिरिन सङ्केत गरेपछि उक्त घरदेखि केही पर पुगियो । अनि सुरु भयो प्रहरी प्रशासनलाई जानकारी गराउने उपक्रम । प्रहरी नायव उपरीक्षक नवरत्न पौडेल र प्रजिअ सुरेन्द्र पौडेलसँग टेलिफोनमा कुरा गरी उनले अनाहकमा बन्दी तुल्याइएका व्यक्तिसँग भेटको प्रबन्ध मिलाइदिन आग्रह गरे ।

सो टेलिफोनलाई गम्भीरतापूर्वक लिँदै १५ मिनेटभित्रै सदरमुकामदेखि हवल्दारको कमान्डमा दुईजना सुरक्षाकर्मी त्यहाँ आइपुगे । त्यसबीचमा यथार्थ घटना स्थानीयबाट बुझ्ने अवसर प्राप्त गरिसकेका आरटीआई एक्टिभिस्ट भुसालबाट स्थानीय र घरपरिवारलाई मिलाउँदै जिल्ला अस्पताल अर्घाखाँचीको एम्बुलेन्स मगाएर बन्दीजीवन बिताएका भोजबहादुरलाई जिल्ला अस्पतालमा पुर्‍याउने काम भयो ।

Mukti News pic 2

हामी घरमा पुग्नासाथ आफ्नो श्रीमान्लाई उपचार गराउन नचाहेकी उनकी श्रीमतीले अस्पताल ल्याउनासाथ हामीलाई आरोप लगाउँदै बिमार श्रीमान्लाई घरमै लैजाने प्रयास अस्पतालमा पुगेपछि प्रमुख डाक्टर जगन्नाथ तिवारीको सहयोगमा असफल हुन पुग्यो । केशको सुइँको पाउनासाथ स्थानीय महिला तथा बुद्धिजीवीहरूको सक्रिय सहभागितामा अस्पतालभित्र हुनासाथ उपचार गराउन नचाहेकी कमला जीसीको सपना असफल हुन पुग्यो । उता सो केशलाई गम्भीरतापूर्वक लिएका प्रजिअ सुरेन्द्र पौडेल, कर्तव्यमा विश्वास राख्ने प्रहरी नायव उपरीक्षक नवरत्न पौडेल र सो केश जानकारी भएर पनि बिमारीलाई घरबाट निकाल्ने विकल्प नपाउनुभएकी महिला तथा बालबालिका कार्यालयकी प्रमुख दीपा घिमिरेको सक्रियतामा बिमारीलाई नि:शुल्क उपचारका लागि काठमाडौं पठाउने कार्यमा सफलता मिल्यो । जिल्ला अस्पतालमा बिमारी ल्याएको ४ घन्टाभित्रै सुरक्षाकर्मी, पत्रकार, मानवअधिकारलगायतको जिम्मामा सोही दिन ललितपुर एकान्तकुनामा रहेको ‘कोसिस नेपाल’मा भोजबहादुरलाई बुझाउने काम सम्पन्न भयो ।

जिल्लाका समस्त अगुवाहरूलाई छर्लङ्ग जानकारी भएर पनि करिब ११ वर्षसम्म घरभित्रै थुनामा रहेका भोजबहादुरको बारेमा जानकारी प्राप्त गरेलगत्तै उद्धारमा अहम् भूमिका निर्वाह गर्नुहुने नागरिक अभियानकर्ता तथा पत्रकार मुक्तिनाथ भुसालको सुकर्मको सबैले प्रशंसा गरेका छन् ।

– प्रेम खड्का