धोखाधडीका प्रतीक

धोखाधडीका प्रतीक


Prachanda

– यादव शर्मा

एमाओवादीका अध्यक्ष प्रचण्ड सबैलाई प्रयोग र उपयोग गर्दै आफ्नो स्थान बनाउन र सुरक्षित तुल्याउन चाहन्छन् । दश वर्ष लामो हिंसात्मक युद्धकालमा राजनीतिक दलका विभिन्न नेता–कार्यकर्ता, प्रहरी र प्रशासनमा आबद्ध कतिपय व्यक्ति, मानव अधिकारकर्मी, एनजीओकर्मी र केही विदेशी शक्तिलाई समेत उपयोग–प्रयोग गर्दै एक चरणको ‘सफलता’ प्राप्त गरेका प्रचण्डमा अहिले पनि सबलाई उपयोग–प्रयोग गर्न सक्छु भन्ने आत्मविश्वास देखिन्छ । एकथरी मानिसमा सिङ्गै पृथ्वी आफैँले घुमाइरहेछु कि भन्ने भ्रम हुन्छ, सडक–आँगनमा ‘हाराबारा’ खेल्ने केटाकेटीहरू आफू घुमिरहँदा पृथ्वी घुमिरहेको महसुस गर्छन्, प्रचण्डमा पनि सायद यस्तै भ्रम रहँदै आयो– उनी घुमिरहेछन्, उनलाई कसैले घुमाइरहेछ, कहिले कसले त कहिले अर्कैले घुमाउने गरेको महसुस सायद उनी आफैँले गरिरहेका छैनन्, प्रचण्ड आफैँ घुमिरहेका छन्, तर पृथ्वी घुमाइरहेको छु भन्ने भ्रममा बाँचिरहेका छन् । प्रचण्डले कुरा बदल्नु र बादलले आकार बदल्नुलाई नेपालमा एकै रूपमा बुझिन्छ, यहाँ प्रचण्डकै बारेमा सङ्क्षिप्त चर्चा गरिएको छ ।

प्रचण्ड र बाबुराम भट्टराईले भारतका तात्कालिक प्रधानमन्त्री अटलबिहारी वाजपायीसमक्ष ‘भारतका विरुद्ध कहिल्यै कुनै प्रकारको काम कारबाही नगर्ने’ लिखित वाचाबन्धन गरेको (सन् २००२) तथ्य भारतका नेपालविज्ञ मानिने एसडी मुनीले दुई वर्षअघि नै सार्वजनिक गरेका हुन् । भारतमा सेल्टर लिएर नेपालमा सत्ता प्राप्तिका निम्ति लडाइँ लड्ने प्रचण्डहरूले कालान्तरमा नयाँदिल्लीमै गुप्तचरसमेतको समन्वयमा बाह्रबुँदे सम्झौता गर्नुपर्‍यो । भारतकै सहयोगमा मात्र प्रचण्डहरूले रोल्पादेखि सिंहदरबारसम्मको यात्रा तय गर्न सकेका हुन् । युद्धकालमा भारतलाई उपयोग–प्रयोग गरेको ठान्ने प्रचण्ड–बाबुराम अन्तत: आफैँ कसैद्वारा प्रयोग–उपयोग भइरहेका रहेछन् भन्ने आमजनताले बुझिसकेका छन्, उनीहरू स्वयम्ले बुझ्न मात्र बाँकी रहेको हो । नेपालको हित प्रतिकूल कैयन एजेण्डा प्रचण्ड–बाबुरामले बोके, युद्धकालखण्डदेखि अहिलेसम्म यिनले अपनाएका नीति, सिद्धान्त र कार्यक्रमले नेपालबाहेक क–कसको सेवा पुर्‍यायो यो हामी सबैका सामु छर्लङ्ग छ ।

यो बेग्लै पक्ष हो कि नारायणहिटीबाट राजालाई बाहिर निकालेर गणतन्त्र घोषणासमेत आफैँले गरेको ठान्ने प्रचण्ड यतिबेला आफ्नै बुतामा प्रधानमन्त्री बन्न सक्ने सामथ्र्य राख्दैनन् । उच्च हैसियत प्राप्त गर्न कुनै कमल थापाझैँ कहिले कसको त कहिले कसको शरण पर्नुपर्ने नियति भोग्दै छन् । युद्धकालमा इसाई र इण्डियालाई आफ्नो पक्षमा प्रयोग–उपयोग गरेको ठान्ने प्रचण्ड वास्तवमा कसरी प्रयोग–उपयोग भइरहेका रहेछन् भन्ने बुझ्न बाँकी कोही छन् भने ती माओवादी कार्यकर्ता मात्र हुन् । असोज ३ गते संविधानसभाको नाममा एउटा दस्तावेज सार्वजनिक गर्ने क्रममा खड्गप्रसाद ओलीहरूसँग मिलेर प्रचण्डले जुन ‘बहादुरी’ देखाए त्यतिबेला पनि ‘पछिल्तिर पम्प गर्ने’ कुनै विदेशी शक्ति थियो भन्ने नबुझिएको होइन । भारतीय आमनिर्वाचन परिणामले सत्ताबाट बाहिर पुर्‍याएको कांग्रेस आईसम्बद्ध नेता, कर्मचारी, विज्ञ र गुप्तचर संस्थासम्बद्ध व्यक्तिहरूले असोज ३ गते जारी संविधानलाई हतार–हतारमा स्वागत गर्नुले प्रचण्ड र ओलीहरू पुरानो मालिकहरूसँगको सम्बन्ध–सम्पर्कमा रहेको स्पष्ट गरेको हो । विदेशीको इच्छा र इसारामा कथित संविधानको रचना गर्नेहरू नै आफूलाई अहिले सबभन्दा ‘ठूलो स्केलको राष्ट्रवादी दाबी’ गर्दै छन् र हामी तिनका कुरा विश्वास गर्दै छौँ ।

प्रचण्ड अत्यन्त आत्मविश्वासीजस्ता देखिन्छन्, बाह्य आवरणले उनी साहसी र आत्मविश्वासी भएको देखाउँछ, तर उनको आन्तर्य बुझ्नेहरूलाई थाहा छ उनी कति कातर र कायर छन् भन्ने । मान्छे मार्दैमा कोही महान् या बहादुर प्रमाणित हुन सक्दैनन् । मान्छे मार्नुलाई बहादुरी या महान् कर्म मान्ने हो भने सबैभन्दा महान् सर्पलाई मान्नुपर्ने हुन्छ, जुन प्राणी मानिससँग जम्काभेट हुनेबित्तिकै सिध्याउन तयार भइहाल्छ । वास्तवमा सर्प सबभन्दा कायर र डरपोक प्राणी हो त्यसैले आफ्नो अघिल्तिर आउने जोसुकै खासगरी मानिसलाई उसले शत्रु ठान्ने गर्दछ । प्रचण्डमा पनि सर्पका गुण कायम रहेको देखिन्छ । उनी सर्पजत्तिकै या त्यसभन्दा बढी कायर छन् र आफ्नाअगाडि सीधा उभिन खोज्ने हरेकसँग झस्किन्छन् अनि आफू बाँच्नका लागि अरूलाई मार्न तयार हुन्छन् । कुनै पनि प्राणी जब बाँच्ने चिन्तामा पर्छ उसका निम्ति बाँकी सबै विषय गौण हुन्छन्, के ठीक के बेठीक छुट्याउने समय र सामथ्र्य पनि उसमा हुँदैन ।

केही महिनाअघि जेनेभामा सम्पन्न मानवाधिकारसम्बन्धी सम्मेलनमा भारतका प्रतिनिधि तथा अधिकारकर्मीहरूले माओवादीको हिंसात्मक सङ्घर्षकालमा भएका मानवअधिकार उल्लङ्घन, निर्दोष मानिसको हत्या र अपराधजन्य क्रियाकलापमा संलग्नहरूलाई कानुनी कारबाही हुन नसकेको विषयमा प्रश्न उठाउनु र केही दिनअघि मात्र अमेरिकी विदेशीमन्त्री जोन केरीले माओवादी युद्धकालमा भएका मानवअधिकार उल्लङ्घनका विषयमा चासो प्रकट गर्नुले प्रचण्डलाई चिन्तित र सचेत तुल्याएको बुझ्न सकिन्छ । वामपन्थी कम्युनिस्ट गठबन्धनको सरकारमा सामेल रहेको अवस्थाभन्दा प्रजातन्त्रवादी शक्तिका रूपमा विश्वले स्वीकार गरेको नेपाली कांग्रेससँगको सहयात्रा सुरक्षित हुनसक्ने ठम्याइका आधारमा प्रचण्ड केपी ओलीलाई छोड्न तयार भएका हुन सक्छन् र उनको यो ठम्याइ गलत पनि होइन । आफ्नै दलभित्रका सत्तारुढ तथा अन्य केही नेताहरूको दबाब, कुनै अदृश्य शक्तिले सम्भावित कारबाहीबाट बचाउन दिएको आश्वासन, वाम गठबन्धनभित्रैबाट प्रधानमन्त्री बनाउन ओलीको सहमति र पार्टीहितसँग सम्बन्धित अन्य केही विषयमा सुविधा प्राप्तिको सुनिश्चिततापछि प्रचण्डले ‘यूटर्न’ लिएको बुझिन्छ ।

यदि एमाओवादी पार्टी भविष्यमा एकीकरण या एमालेकरण हुने हो भने प्रचण्डको पछिल्लो निर्णय उनका निम्ति गलत होइन । एमाओवादी पार्टीलाई निरन्तरता दिने र क्रमश: सशक्त बनाउँदै लैजाने सोचलाई चाहिँ प्रचण्डको निर्णयले गम्भीर क्षति पुर्‍याउने सम्भावना छ । वाम गठबन्धन रक्षा गर्ने नाममा प्रचण्डले आफूलाई यतिबिघ्न उदाङ्ग बनाउन आवश्यक थियो या थिएन भन्ने प्रश्न गम्भीर रूपमा उठेको छ । भविष्यमा कांग्रेस र अन्य कुनै पनि पक्षले संवाद र सहमति गर्न हजारपटक सोच्नुपर्ने अवस्था सिर्जना हुनेगरी गुमेको विश्वास पुनस्र्थापित गर्न प्रचण्डलाई सम्भवत: यो एक जुनी पर्याप्त हुनेछैन । प्रचण्डसँग विगतमा जो–जसले समझदारी या सम्झौता गरे तिनले धोखाधडी व्यहोर्नु नपरेको दृष्टान्त कमै मात्र छ । गिरिजाप्रसाद कोइरालालाई गणतन्त्रमा सहमत गराउन राष्ट्रपति बनाइने विश्वास दिलाएर गणतन्त्र घोषणा भइसकेपछि प्रचण्ड पछि हटेका थिए । उनले गिरिजाको सट्टा रामराजाप्रसाद सिंहलाई राष्ट्रपति बनाउन असफल प्रयास गरेका थिए ।

त्यस्तै, भारतविरुद्ध कहिल्यै कुनै किसिमको गतिविधि नगर्ने लिखित प्रतिबद्धता (तात्कालिक भारतीय प्रधानमन्त्री अटलबिहारी वाजपायीसमक्ष) जनाउने प्रचण्डले नै नेपालमा भारतविरुद्ध सुरुङयुद्धको तयारी गरेका र आफू प्रधानमन्त्री पदबाट मुक्त भइसकेपछि भारतविरुद्ध राष्ट्रव्यापी अभियान चलाउने प्रयास पनि गरेका हुन् । गत वर्ष संविधान जारी गर्ने क्रममा भारतविरुद्ध खरो उत्रिएका प्रचण्ड ६ महिना बित्दानबित्दै कथित राष्ट्रवादी गठबन्धन त्याग्न तयार हुनु र त्यसरी नयाँ गठबन्धन निर्माणमा सैद्धान्तिक सहमति जनाएर पनि फिर्ता हुनुले प्रचण्ड कुनै पनि बेला कसैलाई पनि धोखा दिने ‘क्षमता’ राख्छन् भन्ने पुष्टि गरेको छ । ०६२ मङ्सिरमा बाह्रबुँदे सम्झौता (नयाँदिल्लीमा) गर्नुभन्दा ठीक अघि त्यसप्रकारको सम्झौताविरुद्ध उभिएका मोहन वैद्य किरण र सीपी गजुरेललगायतका नेताहरू भारतमै गिरफ्तारीमा पर्नुलाई पनि प्रचण्डको धोखाधडीका रूपमा बुझ्ने गरिएको छ । उनको समग्र भूमिका नै राष्ट्रलाई धोखा भएको ठान्नेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै छ ।

कुनै बेला जातीय राज्यको मुद्दा उठाएर देशको जातीय एकता एवम् सद्भावलाई चुनौती दिने प्रचण्डबाट कालान्तरमा जातिवादीहरूले पनि धोखा पाएको महसुस गरेका हुन् । त्यसो त सर्वहारा अधिनायकत्वको नाममा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने सपना देखाउँदै सशस्त्र युद्धमा होमिएका लडाकुमध्ये केहीले नेपाली सेनाको स्थायी जागिरमा र केहीले ज्याला लिएर घर फर्कन पाएकोमा चित्त बुझाउनुपर्‍यो । यी लडाकुमध्ये पनि धेरैले प्रचण्डबाट धोखा पाएको महसुस गरिरहेका छन् । त्यसैले समग्रमा प्रचण्ड आफैँमा एक धोखाधडी र अविश्वासका प्रतीक बनेको निष्कर्ष निकाल्नु गल्ती हुनेछैन । अरू सबैलाई मिलेको धोखाको तुलनामा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्राप्त धोखाको आकार र प्रभाव शून्य बराबर हो भन्न सकिन्छ ।