आन्तरिक गृहकार्यमा देउवा : चीनकाजीको ठाउँमा रमेश लेखक

आन्तरिक गृहकार्यमा देउवा : चीनकाजीको ठाउँमा रमेश लेखक


Ramesh-Lekhak

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टी सङ्गठन सुदृढीकरण र अपूर्ण समितिहरूलाई पूर्णता दिनका निम्ति आन्तरिक गृहकार्यमा जुट्नुभएको छ । पार्टीमा उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनयन गर्न बाँकी छ भने मनोनयनद्वारा पूर्ति गर्नुपर्ने चौध केन्द्रीय सदस्य पद पनि रिक्त रहेको छ । सभापति देउवाले पदाधिकारी र सदस्यहरूमा चयन गर्नुपर्ने सम्भावित व्यक्तिहरूबारे परामर्श शुरु गर्नुभएको बुझिएको छ । उहाँ पद ओगटेर मात्र बस्नेभन्दा काम गर्ने मानिसलाई जिम्मेवारी दिने पक्षमा रहनुभएको सम्बद्ध सूत्रहरूले जनाएका छन् । पार्टीको उपसभापतिमा खुमबहादुर खड्काको चयन हुने विश्वास गरिएको छ । उपसभापति बन्न गोपालमान श्रेष्ठले पनि निकै जोडबल लगाइरहनुभएको छ । महामन्त्रीमा विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत र ज्ञानेन्द्रबहादुर कार्कीको नाम सतहमा आएको छ । तर, परिस्थिति विमलेन्द्रको पक्षमा देखिएको छ र उहाँ नै महामन्त्री बन्नुहुने अधिक सम्भावना छ । गत वर्ष निश्चित मूल्य–मान्यताप्रति संवेदनशील हुँदै सहमहामन्त्री पदबाट राजीनामा दिनुहुने पूर्णबहादुर खड्काले पुन: सहमहामन्त्री पद स्वीकार गर्ने सम्भावना न्यून मात्र रहेको बताइन्छ ।

सहमहामन्त्री नबनेको अवस्थामा उक्त जिम्मेवारी डा. प्रकाशशरण महततर्फ सर्ने सम्भावना छ । यद्यपि सहमहामन्त्रीका रूपमा एनपी साउद र बालकृष्ण खाणको नाम पनि चर्चामा छ । उल्लिखित सबै नामहरू तत्काल पदाधिकारी बन्न योग्य र सक्षम मानिन्छन्, तर विधान संशोधन गरी पदाधिकारी सङ्ख्या नबढाइएको अवस्थामा सबैलाई ‘एडजस्ट’ गर्न सम्भव देखिँदैन । त्यस्तै केन्द्रीय सदस्यहरूमा पनि विभिन्न नामलाई लिएर विचार–विमर्श भइरहेको बुझिन्छ । पद्मनारायण चौधरीबाहेक अन्य नाम तय हुन बाँकी रहेको समाचार सूत्रको भनाइ छ ।

यसैगरी सभापति देउवाले संसदीय दलको कार्यसमितिलाई पूर्णता दिने गृहकार्य पनि यतिबेला नै गर्दै हुनुहुन्छ । संसदीय दलको मुख्य सचेतकमा चीनकाजी श्रेष्ठले निर्वाह गरेको भूमिकालाई लिएर धेरैले असन्तुष्टि जनाएका हुनाले श्रेष्ठलाई ‘धन्यवाद दिन’ देउवामाथि दबाब परिरहेको छ । मुख्य सचेतकका निम्ति अधिकांशले रमेश लेखकको नाम लिएका छन् र श्रेष्ठलाई बिदा दिइएपछि सो स्थानमा लेखककै चयन हुने निश्चितप्राय: छ ।