डाक्टर भोजराजको सपना र सेवाका हातहरू

डाक्टर भोजराजको सपना र सेवाका हातहरू


दुनियाँमा इज्जत र धन एउटै व्यक्तिलाई प्राप्त हुन अति कठिन हुन्छ भन्ने भनाइ छ । धन हुनेको इज्जतमाथि प्रश्नचिह्न तेरि्सएको छ । प्राय: इज्जत हुनेहरू जहिलेसुकै धन अभावमा बाँचिरहेका छन् । धनबिना कठिन जीवन जिउन सकिएला तर इज्जतबिना जिउन प्राय: असम्भव नै हुन्छ । मानव आफ्नो विशेषताअनुरूप सजिलो जीवन जिउन चाहन्छ भने इज्जत प्राप्तिका लागि पनि ऊ दिनरात चिन्तित रहन्छ । मानवको खोजी र चाहना हो धन र इज्जत तर धनको खोजी गर्दा इज्जत पाउन मुस्किल र इज्जतको खोजी गर्दा धनप्राप्तिमा कठिनाइ । संसारका विकसित, अविकसित र अल्पविकसित देशका मानिसहरू धनको खोजीमा सङ्ख्यात्मक रूपले धेरै छन् वा इज्जतको खोजीमा धेरै छन्- थाहा छैन, तर सबैखालका परिस्थिति र अवस्थालार्इर्र्प्रमाणका रूपमा राखेर नेपालको सर्न्दर्भमा भन्न सकिन्छ- नेपालका बहुसङ्ख्यक मानिस इज्जत, मान, प्रतिष्ठाभन्दा धनप्राप्तिको दिशामा समरि्पत छन्, दौडिएका छन् । भौतिक सुख नै जीवनको अन्तिम लक्ष्य ठानिरहेका छन् । मानव धर्म, मान, प्रतिष्ठा र इज्जतलाई पहिलो र अन्तिम गन्तव्य मान्नेहरूको सङ्ख्या अति न्यून रहेको छ । त्यही न्यून सङ्ख्यामध्येका कर्तव्यपरायण एक नेपाली नागरिक हुन्- डाक्टर भोजराज अधिकारी ।
चुनादेवी अधिकारी र एकदेव अधिकारीको पुत्रका रूपमा २०३६ साल फागुन १२ गते चितवनको पटिहानी- २ मा भोजराजको जन्म भयो । बाल्यकालमा पनि भोजराजको स्वभाव अन्य बालबालिकाको भन्दा निकै फरक थियो । बाबा एकदेवका अनुसार कुनै पनि विषयलाई दोहोर्‍याई-तेहर्‍याई सोध्ने र पक्कापक्की बुझेपछि मात्रै मुन्टो हल्लाउने स्वभाव थियो भोजराजको । यही स्वभावका कारण भोजराज सानो उमेरमै पढाइमा निकै तेज विद्यार्थीको रूपमा चिनिए । राष्ट्रिय प्राथमिक विद्यालय पटिहानीबाट प्रारम्भिक शिक्षा आरम्भ गरेका उनले पटिहानीकै अमर माध्यमिक विद्यालयबाट एसएलसी सिध्याएपछि अमृत साइन्स कलेज काठमाडांैमा आइ.एस्सी पढे । पढेर केही गर्नुपर्छ भन्ने उत्साही युवा भोजराज पढाइको रफ्तारलाई कम हुन नदिई अध्ययनमा लिप्त रहे । छात्रवृत्तिमा चिकित्सा विज्ञान पढ्न पाउने अवस्थामा उनले आफूलाई पुर्‍याए । पोखराको मणिपाल कलेजबाट एमबीबीएस डिग्री हासिल गरे । नामको अगाडि डाक्टर लेख्न पाएर मात्र सन्तुष्ट हुने स्वभाव नभएका भोजराज मिहिनेतका साथ एमडी -मेडिसिन) कोर्स चितवनको कलेज अफ मेडिकल साइन्सेसमा अध्ययन गरिरहेका छन् । मानव संसारमा जहिलेदेखि धनको अस्तित्व स्वीकार्न थालियो त्यसैबेलादेखि हरेक मानिसको जीवनमा धनले उच्च प्रभाव पार्दै आएको छ । पटिहानीजस्तो एक सामान्य गाउँमा सरल मिजासका, लप्पनछप्पन नजान्ने एकदेव धनी हुने कुनै गुञ्जायस थिएन । भोजराजको परिवार आर्थिक दृष्टिकोणबाट नाजुक हालतमा थियो । आमा चुनादेवी घाँस, दाउरा, गोठ र चुल्होचौकोमा सीमित थिइन् । बाबु एकदेव बच्चाबच्चीको पढार्इखर्च जुटाउन, नुन, तेल, चिनी, चियापत्ती, कपडा आदि जुटाउन हाडछाला घोट्थे । पढाइलेखाइ नभएका एकदेवका जोडीलाई छोराछोरी हर्ुकाउन चानचुने दु:ख थिएन । त्यो जोडीसँग धन थिएन, शिक्षा थिएन, मर्दापर्दा आडभरोसा दिने आफन्त पनि कोही थिएन, एकदेवसँग थियो त केवल आँट र हिम्मत थियो । जुन आँट र हिम्मतले उनलाई परिवारको बोझरूपी डुङ्गालाई पार लगाउन मद्दत पुर्‍यायो । छोराछोरीप्रतिको चुनादेवीको अपार माया र एकदेवको हिम्मत छोराछोरीलाई योग्य बनाउने कारण बन्यो । सबै छोरीलाई उत्तिकै माया र न्याय दिने बाबुआमालाई असाध्यै सम्मान दिने डाक्टर भोजराजको जीवनशैली ज्यादै साधारण देखिन्छ । दु:खी, गरिब र कमजोरलाई सहयोग गर्नु, बिरामीलाई रोग निको पारेर हँसिलो अनुहारका साथ अस्पतालबाट बिदा दिनुलाई आफ्नो परम् कर्तव्य ठान्ने डाक्टर भोजराज अलि भावुक स्वभावका छन् । अति वृद्ध शरीर र अन्तिम अवस्थाका बिरामीहरू जो कडा मिहिनेतसाथ उपचार गर्दासमेत बचाउन सकिँदैन त्यस्तो अवस्थामा डाक्टर अधिकारी निन्याउरो अनुहार बनाउँछन् । लाउँलाउँ-खाउँखाउँ उमेरका युवायुवती र बालबालिकाको मृत्युमा त उनी झनै भावुक देखिन्छन् । भारत, चीन, थाइल्यान्ड, श्रीलङ्कालगायत मुलुक भ्रमण गरी विभिन्न स्वास्थ्यसम्बन्धी गोष्ठी र सेमिनारमा भाग लिई नयाँँ-नयाँ प्रविधिबारे ज्ञान हासिल गरेका डाक्टर अधिकारी बाल्यकालका साथीमा विनोद घर्ती, स्थानमा समुद्रको किनार, पुस्तकमा समय प्रवाह, सम्झना र चिन्तन, अल्केमिस्ट, आमा, अर्न्तर्मनको यात्रा, अनि राजनीतिज्ञमा डा. बाबुराम भट्टराई, मदन भण्डारी र गगन थापा, त्यस्तै खानेकुरामा मासु, खिर अनि गुन्द्रुक मन पराउँछन् ।
०४६ सालको राजनीतिक परिवर्तनअघि प्रजातन्त्रका लागि लेखिएका भित्तेलेखनहरूबाट राजनीतिमा चासो राख्न सुरु गरेेका डाक्टर अधिकारी जीवनमा सबैभन्दा बढी आफ्नी आमा, भिनाजु गोविन्द पौडेल र गुरु प्रोफेसर जी. सुभ्रमण्यमलाई सम्मान गर्छन् । बिहानदेखि बेलुकासम्म लगातार कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा विशेषगरी मिर्गौला, मधुमेह र उच्चरक्तचापसम्बन्धी रोगीहरूको उपचार कार्यमा तल्लीन डाक्टर अधिकारी अलिकति फुर्सद मिल्नासाथ बालक छँदा एक कक्षामा आफू प्रथम हुँदा दोस्रो हुने साथीले आफ्नो नाकमा एक मुक्का हानेर रगताम्मे पारेको सम्झेर हाँस्न भ्याउँछन् भने ०६५ सालमा ठूलो सङ्ख्याका नेपाली बिरामीलाई उपचार सेवा पुर्‍याएबापत नारायणी टुडे राष्ट्रिय मासिकले नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयशमशेर जबराको हातबाट प्रदान गरेको कदरपत्र सम्झेर आनन्दित हुन्छन् । व्यापारी रामहरि श्रेष्ठ हत्या-प्रकरणमा एक इमान्दार, कर्तव्यनिष्ठ चिकित्सक हुनुको नाताले आफूले बोलेको कुरा मुलुकभरि चर्चाको विषय बनेको अवस्था, दिनप्रतिदिन स्वास्थ्य क्षेत्रमा देखिएको विकृति र व्यापारी-शैलीको उपचारकार्य पनि महसुस गर्न भ्याउँछन् । उनी कहिलेकाहीँ एकान्तमा घोरिन्छन्, मनमनै आफैंलाई प्रश्न सोध्छन्- विकसित मुलुकहरूमा शिक्षा र स्वास्थ्य नि:शुल्क गरिएका छन्, सार्क सदस्यराष्ट्र श्रीलङ्कामा समेत शिक्षा र स्वास्थ्य नि:शुल्क गरिएको छ तर हाम्रो देश नेपालमा किन मानिस उपचार खर्च नपाएर आत्महत्या गरिरहेका छन् – नि:शुल्क उपचार पाउनु मानवअधिकार हो भने मानव अधिकारकर्मीहरू किन यस विषयमा आवाज उठाउँदैनन् – सरकारको काम के हो – सरकार गठन किन हुन्छ – सरकार कसका लागि हो – जब उपचार नपाएर मर्नुपर्छ भने त्यस स्थितिका जनतालाई किन चाहियो सरकार – उसले सरकारलाई किन सरकार भनिरहने – डाक्टर भोजराजको कुरा सुन्दा यस्तो लाग्छ उनी चिकित्सक होइनन् एक दार्शनिक हुन् जो प्राणी हितका लागि काम गर्न र चिन्तन गर्न पृथ्वीमा पठाइएका हुन् । डाक्टर अधिकारी सुनाउँछन्, ‘आँखाले देख्दैन, हेर्छ मात्रै । देख्ने दिमागले हो ।’ आज प्राय: नेपालीको दिमागले धर्म, नैतिकता र कर्तव्यलाई देखेन, सिर्फधनसम्पत्तिलाई देख्यो । मानवतालाई देखेन । बेवास्ताका कारण मानवता मर्दै छ । मान्छे मर्दा तरि्सनुपर्दैन, यो स्वाभाविक हो तर जब मानवता मर्छ त्यहाँ सबै चिज मर्छ, केही बाँकी रहँदैन ।
सफा चरित्र र सुन्दर चिन्तनका धनी डाक्टर भोजराज नेपालको वर्तमान राजनीतिक अवस्थाबाट चिन्तित बनेका छन् । तर, हतोत्साहित भएका भने छैनन् । हरेक चिजको हद हुन्छ, आयु हुुन्छ । बिग्रिनेको पनि हद र आयु हुन्छ । बिग्रिएपछिको पालो सप्रिने हो । डाक्टर अधिकारी आशावादी छन् । आज नभए भोलि, भोलि नभए परि्स मुलुकले पक्कै काँचुली फेर्छ । बिस्तार-बिस्तार राजनीतिकर्मीहरू निजी र पार्टीगत स्वार्थबाट मुक्त हुनेछन् । राष्ट्रिय स्वार्थका लागि एकजुट हुनेछन् । अटुट विश्वास छ डाक्टर भोजराजलाई नेपाली राजनीतिक दलका नेताहरूप्रति ।
अरू क्षेत्रभन्दा आफू संलग्न रहेको स्वास्थ्य क्षेत्र दिनप्रतिदिन अस्तव्यस्त र व्यापारमुखी भएकोमा चिन्तित डाक्टर अधिकारी भविष्यमा मिर्गौला अस्पताल स्थापना गर्न चाहन्छन् ता कि गरिब, विपन्न र निमुखा बिरामीलाई नि:शुल्क स्वास्थ्यसेवा उपलब्ध गराउन सकियोस् । मानव भएर जन्मिएको औचित्य पुष्टि गर्न सकियोस् । डाक्टर भनेको डाक्टरजस्तो हुनुपर्छ भन्ने विश्वव्यापी मान्यता छ । गहिरिएर अध्ययन गर्दा भोजराजमा एक डाक्टरमा हुनुपर्ने प्राय: सबै गुण भेटिन्छ । यति उच्च विचार राखेर मानवीय मूल्य र मान्यताका आधारमा आफू प्रस्तुत भई अरूलाई समेत प्रोत्साहन दिने, हालैमात्र स्वास्थ्य क्षेत्रमै क्रियाशील बबिता घिमिरेसँग वैवाहिक बन्धनमा बाँधिएका डाक्टर भोजराजको मिर्गौला उपचार केन्द्र स्थापना गरी गरिब र कमजोर बिरामीलाई नि:शुल्क स्वास्थ्यसेवा उपलब्ध गराउने सपना साकार होस् । शुभकामना ।
प्रस्तोता : वीरेन्द्रमणि पौडेल