सबभन्दा सुन्दर दुलही

सबभन्दा सुन्दर दुलही


Dulahi China

चीनकी गुओ युवानीयुआन नामकी नवदुलहीलाई सामाजिक सञ्जालका प्रयोगकर्ताले ‘सबभन्दा सुन्दर दुलही’को संज्ञा दिएका छन् । उनी त्यस्ती सुन्दरी भएरै यस्तो विशेषण दिइएकोचाहिँ होइन, उनले यस्तो काम गरिन् जसले गुओलाई सुन्दर बेहुली तुल्याइदियो । वास्तवमा त्यसदिन समुद्रीकिनारस्थित एक रिसोर्टमा वैवाहिक कार्यक्रम सकेर उनी आफ्नो महँगो ‘वेडिङ ड्रेस’मा फोटो सुट गराउँदै थिइन्, यस्तैमा उनको दृष्टि समुद्रमा डुब्दै गरेको एक व्यक्तिमाथि पर्‍यो । आफ्नो महँगो पोसाक र आफू बेहुली भएको कुराको परवाह नगरी उनी पानीमा हेलिइन् र डुब्न लागेको व्यक्तिलाई बचाइन् । पेसाले नर्स रहेकी गुओले हर्ट एट्याकका कारण पानीमा डुबेको उक्त पुरुषलाई बाहिर निकालेर २० मिनेटसम्म कार्डियोपल्मनरी रिससिटेसन (हर्ट एट्याक भएको व्यक्तिलाई दिइने एकप्रकारको उपचार–विधि) प्रदान गरिन् । आफ्नी नवदुलहीको यो कर्मप्रति दुलाहाले गर्व गरेपछि उनी सबभन्दा सुन्दर बेहुलीको रूपमा सामाजिक सञ्जालभरि छाउन पुगिन् ।