नयाँशक्तिले बेरोजगारी र गरिबीको दुष्चक्र तोड्ने बाबुरामको दाबी

नयाँशक्तिले बेरोजगारी र गरिबीको दुष्चक्र तोड्ने बाबुरामको दाबी


भारत र चीनको बीचमाच्यापिएर होइन, अब फुकेर बाँच्नुपर्छ : डा. बाबुराम भट्टराई

naya shakti party prabesh

नयाँशक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले दुई ठूला छिमेकीको बीचमा च्यापिएर होइन अब फुकेर बाँच्नुपर्ने तर्क अघिसारेका छन् । कांग्रेस नेता सोनाम छिरिङ शेर्पा र पूर्वमन्त्री नरबहादुर बुढालगायतलाई नयाँशक्तिमा प्रवेश गराउँदै पूर्वप्रधानमन्त्री भट्टराइले नेपाल अब दुई देशबीचको गतिशील पुल बनेर समृद्धि हासिल गर्दै फुकेर बाँच्ने दाबी गरेका हुन् ।

विभिन्न दलबाट नयाँशक्ति प्रवेश गरेकाहरूलाई स्वागत गर्न आयोजित कार्यक्रममा उनले जर्मनी, फ्रान्स र इटालीको बीचमा रहेको सानो राष्ट्र स्वीट्जरल्याण्ड समृद्धिको शिखरमा पुगेको उदाहरण दिँदै नेपालले पनि छिट्टै समृद्धि हासिल गर्न सक्ने बताए ।
‘जर्मनी, फ्रान्स र इटालीको बीचमा रहेको स्वीट्जरल्याण्ड अहिले विश्वकै धनीमुलुकमध्येमा पर्दछ,’ उनले भने, ‘हामी पनि दुई छिमेकीको बीचमा च्यापिएर बस्नेभन्दा विकास र समृद्धि हासिल गर्दै फुकेर बाँच्नुपर्छ ।’ उनले चीन र भारतलाई सडकलगायतका भौतिक पूर्वाधारले जोडेर नेपाल गतिशील पुल बन्दै लाभ उठाउन सक्ने उदाहरण दिए ।

कार्यक्रममा सम्बोधन गर्दै संयोजक भट्टराईले नेपालका पुराना पार्टीहरु ब्रान्डजस्तै भएको तर्क गरे । ‘कांग्रेस र कम्युनिष्ट भन्ने ब्राण्ड जस्तै भएका छन्, कोकाकोला र पेप्सीजस्तै’ उनले भने ‘तर पार्टी भनेको ब्राण्ड होइन, यो त विचार हो । राजनीतिक दलहरु ब्राण्डले भन्दा विचारले चल्नुपर्छ ।’ सो अवसरमा डा. भट्टराईले नयाँशक्तिले जे बोल्छ, त्यही गर्छ भन्दै भ्रष्टाचारीलाई यसमा कुनै स्थान नहुने बताए ।

संयोजक भट्टराईले नयाँशक्ति कुनै पुरानो पार्टीको नयाँ रुप नभएर जगैदेखि नयाँ पार्टी रहेको उल्लेख गरे– ‘पुरानो घरको छाना मात्रै फेरेर नयाँशक्ति बन्दैन, त्यसैले यो जगैदेखि नयाँ पार्टी हो, यो कुनै पुरानो पार्टीको नयाँ रुप होइन ।’ बेरोजगारी र गरिबीको दुष्चक्र तोड्ने गरी नयाँशक्तिले समृद्धिको भिजन केही दिनमै सार्वजनिक गर्ने उनले जानकारी दिए ।

कार्यक्रममा सम्बोधन गर्दै नयाँशक्तिका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले २०७५ सालभित्र नयाँशक्ति मुलुकको प्रमुख शक्ति, महत्वपूर्ण शक्ति, पारदर्शी शक्ति र मुलुककै नेतृत्व गर्ने शक्ति बन्ने दाबी गरे ।

naya shakti party prabesh1