राजनीतिलाई मर्यादित नभएकोप्रति कांग्रेस नेताहरु चिन्तित

राजनीतिलाई मर्यादित नभएकोप्रति कांग्रेस नेताहरु चिन्तित


सामाजिक लोकतन्त्र अध्ययन केन्द्र

वर्तमान नेपालको राजनीति सत्ताको लुछाचुँडी, ढाँटछल, गुण्डागर्दी र झुटा आश्वासन बाँड्ने कार्यका रुपमा बुझ्न लागिएको भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चिन्ता व्यक्त गरेका छन् । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रद्वारा राजधानीमा आयोजित ‘राजनीतिलाई कसरी सम्मानित क्षेत्र बनाउन सकिन्छ’ विषयक गोष्ठीमा मन्तव्य दिँदै नेता पौडेलले राजनीतिलाई मर्यादाको सीमाभित्र राख्नुपर्नेमा जोड दिए । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा उनले राजनीतिलाई सम्मानित गराउन गाउँदेखिका नेता–कार्यकर्ता जनसेवी र चरित्रवान हुनुपर्ने बताए । जनताले आफ्नो नजिकको नेतालाई राम्रोसँग चिन्ने भएकाले उनीहरुले आफूप्रति आदरभाव उत्पन्न हुने बनाउनुपर्ने उनको तर्क थियो ।

मुलुकको विकास र सुधारको अगुवाइ गर्ने राजनीतिक दल र नेता नै पहिला सुध्रिनुपर्ने भन्दै नेता पौडेलले राजनीति माफियावादबाट मुक्त हुनुपर्दछ, सिद्धान्तमा आधारित भई समानता र न्याय दिलाउन सक्ने हुनुपर्दछ भन्ने धारणा अघिसारे । देशमा सिद्धान्त कांंग्रेसको विजयी भए पनि कार्यकर्ता भने कम्युनिस्टको धेरै हुनुको पछाडि कांग्रेसले आफ्नो मूल्य, मान्यता र योगदानलाई जनताका बीचमा पर्याप्त रुपमा लैजान नसक्नु नै मुख्य कारण भएको उनले सुझाए ।

कार्यक्रममा पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहले नेता तथा कार्यकर्ताको जीवनशैली र व्यवहार जनमैत्री भएमा राजनीतिक क्षेत्रको सम्मान आफैँ बढ्ने बताए भने अर्का नेता पूर्वअर्थमन्त्री डा. रामशरण महतले ठूला सपना बाँड्ने तर पूरा गर्न नसक्ने र सेवाका लागिभन्दा पेसाका लागि राजनीति प्रयोग हुन थालेकाले राजनीतिक क्षेत्रको आलोचना भएको उल्लेख गरे ।

कार्यक्रममा कांग्रेसका नेता प्रदीप गिरी, मानबहादुर विश्वकर्मा, कोषाध्यक्ष सीतादेवी यादव, जीवन परियार, राजनीतिज्ञद्वय नीलाम्वर आचार्य र प्रा. कृष्ण खनाल, मधु आचार्यलगायतले राजनीतिलाई सम्मानित बनाउने उपायका बारेमा धारणा राखेका थिए ।