किस्ताबन्दीमा नेतृत्व व्यवस्थापन

किस्ताबन्दीमा नेतृत्व व्यवस्थापन


maobadi_ekata

माओवादी नेतृत्वको व्यवस्थापन अध्यक्ष प्रचण्डले किस्ताबन्दीमा गर्ने भएका छन् । आगामी डेढ महिनासम्म नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल र कृष्णबहादुर महरालगायतका नेताहरू केन्द्रीय सदस्यको मात्र हैसियतमा रहने छन् । प्रचण्ड अध्यक्ष रहने र बाँकी सबै नेताहरू सदस्यको रूपमा रहने निर्णय भएपछि पार्टीका ठूला नेताहरू पनि सदस्य मात्र भएर बस्नुपर्ने अवस्था आएको हो । तर, केन्द्रीय कार्यालयको सचिवालय सञ्चालनको जिम्मेवारी भने नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, कृष्णबहादुर महरा, मातृका यादव, मणि थापा, देव गुरुङ र जयपुरी घर्तीसमेतलाई दिइएको छ । अर्को समूह बनाएर बसेकाहरूलाई विशेष महत्त्व र स्थान दिनुपर्दा एमाओवादीमा राम्रै हैसियत राख्ने कैयन नेता पछाडि परेका छन् । सचिवालय बनाउँदा प्रचण्डले मर्यादाक्रमको दोस्रो नम्बरमा नारायणकाजी र तेस्रोमा बादललाई राखेपछि प्रचण्डपछिको नेता को हो भन्ने पनि स्पष्ट भएको छ र यो स्पष्टतासँगै दोस्रो बन्ने विषयलाई लिएर उत्पन्न विवादको पनि अन्त्य भएको छ ।

अहिले स्थायी समिति ३४ जनाको रहेको छ । आगामी एक साताभित्रै ५१ जनाको स्थायी समिति बनाइने भएको छ । स्थायी समितिमा बादलसँगै मिसिएका ६ र एमाओवादीका १७ जना रहेका छन् । मातृका यादव र मणि थापाको समूहबाट आएकाहरूलाई स्थायी समितिमा थपेर ५१ सदस्यीय बनाउने गृहकार्य भइरहेको छ । मातृका यादवसँगै भित्रिएका चलायमान नेता गोपाल ठाकुरलाई स्थायी समितिमा पुर्‍याएर मधेश ब्युरोको प्रमुख बनाइएको छ । हाल ६९९ जना ‘मात्र’ सदस्यसङ्ख्या रहेको केन्द्रीय समितिको आकार बढाएर करिब हजारजना पुर्‍याउने योजना प्रचण्डले बनाएको बुझिएको छ । हजारजनाको केन्द्रीय समिति बनेमा माओवादीको समिति विश्वमै सम्भवत: सबैभन्दा ठूलो हुन जानेछ ।