हिमानी पनि चीनतिर

हिमानी पनि चीनतिर


Himani-Shah

समाजसेवाको क्षेत्रमा क्रियाशील हिमानी ट्रष्टकी अध्यक्ष एवम् पूर्व श्री ५ युवराज्ञी हिमानी गत आइतबार चीनको भ्रमणमा जानुभएको छ । चिनियाँ सरकारी निकायको निमन्त्रणामा बेइजिङतर्फ प्रस्थान गर्नुभएकी उहाँले चीनमा सात दिन बिताउनुहुने बुझिएको छ । हिमानीका साथमा स्वकीय सचिव स्मिता सिंह र चर्चित उद्यमी प्रभाकरशमशेर राणालगायत सामेल हुनुभएको छ । केही अघि चाइना–नेपाल व्यापार सङ्गठनले पनि हिमानीलाई चीन भ्रमणको लागि निमन्त्रणा दिँदा उहाँले त्यसलाई स्वीकार गर्न सक्नुभएको थिएन । यसपटक भने सरकारीस्तरबाटै निम्ता प्राप्त भएकोले उहाँ चाइनाको भ्रमणमा सरिक हुनुभएको बुझिएको छ । हिमानीको चीन भ्रमणको मूल उद्देश्य के हो भन्ने औपचारिक जानकारी गराइएको छैन । चीनमा समाजसेवासँग सम्बन्धित कार्यको अवलोकन र त्यहाँ क्रियाशील सामाजिक सङ्घसंस्थाहरूसँग परस्पर सम्बन्ध र सम्पर्क बढाउन उहाँको भ्रमण भएको बताइएको छ । चीनबाट फर्किएपछि युवराज्ञी हिमानीले केही दिन बैंककमा बिताउनुहुने समाचार सूत्रहरूले जनाएका छन् ।

यसैबीच प्राप्त अर्को एक समाचारअनुसार ख्यातिप्राप्त उद्यमी एवम् व्यवसायी सुरज वैद्य हिमानी ट्रष्टको बोर्डमा सदस्यका हैसियतले समावेश हुने भएका छन् । आगामी महिना हुने साधारणसभाले वैद्यको नाम बोर्ड सदस्यका रूपमा अनुमोदन गर्ने बुझिएको छ ।