थापाका कारण रोकियो एकता

थापाका कारण रोकियो एकता


Kamal-Thapa

राष्ट्रिय प्रजातन्त्र पार्टीका नाममा विभिन्न गुँड बनाएर क्रियाशील पूर्वपञ्चहरू एकीकृत बन्न भइरहेको प्रयास कमल थापाका कारण असफल भएको छ । लोकेन्द्रबहादुर चन्दलाई अध्यक्ष बनाएर सबै पञ्च एकजुट हुने, चन्दकै नेतृत्वमा महाधिवेशनसम्म जाने र राजतन्त्र तथा हिन्दूराष्ट्रसहित अन्य एजेण्डाको विषयमा महाधिवेशनले टुङ्गो लगाउने गरी राप्रपा एकीकरणको अन्तिम चरणमा पुगेको थियो । यसै महिनाको पहिलो साता सम्पन्न द्विपक्षीय बैठकमा कमल थापाले पार्टीको नाम राप्रपा नेपाल नै हुनुपर्ने, पार्टीको कार्यकारी अध्यक्ष पदमा आफैँ रहनुपर्ने, पार्टीको चुनावचिह्न गाई हुनैपर्ने र हिन्दूराष्ट्र तथा राजतन्त्रका बारेमा बाहिर सकारात्मक ढङ्गले प्रस्तुत भए पनि त्यसलाई कार्यान्वयनमा लैजान नपर्ने गरी सहमति बनाउन प्रस्ताव गरेपछि राप्रपा एकीकरणको प्रक्रिया अवरुद्ध भएको छ ।

कमल थापाले यसप्रकार प्रस्ताव राख्नुलाई राप्रपाका नेताहरूले एकता नगर्ने मनसायको रूपमा बुझेका छन् । सबै कुरा कमल थापाले भनेजस्तो मात्र हुनुपर्ने भए पार्टी एकीकरण भन्न नमिल्ने र राप्रपा नेपालमा सबैले आत्मसमर्पण गरेको अर्थ लाग्ने भन्दै लोकेन्द्रबहादुर चन्द, डा. प्रकाशचन्द्र लोहनी र पशुपतिशमशेर राणालगायतका नेताहरू एकता प्रक्रिया अघि बढाउन निरुत्साहित भएका छन् । यसरी पूर्वपञ्चहरूबीच एकीकरणका निम्ति गम्भीरतम ढङ्गले भएको प्रयास कमल थापाका कारण अवरुद्ध बन्न पुगेको छ । थापाले राजतन्त्र र हिन्दूराष्ट्र पुनस्र्थापनाका निम्ति बोकेको नारा नक्कली भएको भने अन्य पूर्वपञ्चहरूलाई यसपटक स्पष्ट भएको छ । मुखले एउटा कुरा भन्ने र व्यवहारमा अर्कै कुरा गर्ने दोहोरो चरित्र कमल थापासँगको एकता दूरगामी दृष्टिले घातक हुनसक्ने निष्कर्षमा राप्रपाका वरिष्ठ नेताहरू पुगेका छन् ।