काङ्ग्रेस भएकै कारण तीनपुस्ते सास्ती

काङ्ग्रेस भएकै कारण तीनपुस्ते सास्ती


Rajendra Pd Pathak

– राजेन्द्रप्रसाद पाठक

यस देशमा दु:ख पाएर राजनीतिमा लाग्नेहरू धेरै सम्पन्न भइसकेका छन्, तर राजनीतिमा लागेर दु:ख पाउनेहरूको कथा हो यो । यस्ता प्रतिनिधि घटनाहरूबाट प्रजातान्त्रिक पार्टी र नेतृत्व वर्गलाई सचेत र अध्ययनशील तुल्याउन सकियोस् भन्नका खातिर यो लेख लेखिएको हो । यस्ता धेरै प्रतिनिधि घटनाहरू समाजमा होलान् । अबको प्रजातन्त्रवादी दल र सङ्गठनमा उच्च स्थानमा रहनेहरूले यसको सही मूल्याङ्कन गर्न जरुरी छ । अन्यथा प्रजातन्त्र र लोकतन्त्रप्रति विश्वासको सङ्कट आइलाग्न सक्छ ।

भनिन्छ कुचीकारको आँगन फोहोर हुन्छ, दर्जीको दौरा उघ्रिएको हुन्छ, कर्मीको घर त्यति सुन्दर हुँदैन, मालीको आफ्नो बगैँचा हुँदैन । यसको मतलब यो हो कि जो जुन कार्यका लागि दक्ष शिल्पी हुन्छ त्यसलाई आफ्नो गर्ने र आफ्नोबारेमा सोच्नेसमेत फुर्सद हुँदैन । उसका सम्पूर्ण समय कि त आर्जन उपार्जनमै खर्च हुन्छ कि त अन्यन्त्रको सेवामै समय व्यतीत भइरहेको हुन्छ । त्यसैकारण न्यायाधीशका घरमा झगडा र मुद्दामामला नै भएछ भने पनि उसले आफ्नै मुद्दा आफैँले हेर्न नपाउनेसमेत कानुनी प्रावधान छ । यसैगरी पङ्क्तिकार स्वयम्ले आफ्नाबारेमा भन्दा देश, विदेश र अन्य मानवीय अव्यवस्था वा विकासकै बारेमा लेख्दै उसलाई फुर्सदै हुँदैन । कविले आफ्नो स्वयम्को कल्पनाभन्दा अरूका मनका भावनालाई बुझेर बहकिँदै कविता कोरिरहेको हुन्छ । यसैगरी विषय वा प्रसङ्गले अन्य अर्थ नलागेमा राजनीतिकर्मी र आस्थामा निरन्तर बाँधिएका सच्चा कार्यकर्ताको पनि आ–आफ्नै व्यथाका बाँधहरू थुनिएका होलान् ।
माथि उल्लिखित प्रसङ्गले भन्न खोजेको कुराको चुरोचाहिँ लेखक स्वयम् आफ्नो वेदनाको पेटारो खोलेर उकुसमुकुस भावनालाई श्रद्धेय पाठकसामु पस्कने अनुमति माग्दैछन् भन्दा फरक परोइन ।

प्रसङ्ग वि.सं. २००७ तिरकै हो । नेपालमा राणाविरोधी आन्दोलन चलिरहेको थियो । गाउँघरका अगुवा र हुने–खानेहरूलाई दुई–तीन भागमा विभक्त गरिएको रहेछ, जसलाई (अ.त.) अराष्ट्रिय तत्त्व भनिन्थ्यो त्यसताका । एकप्रकारका अगुवा र हुने खानेहरू अराष्ट्रिय तत्त्व भनिने काङ्ग्रेसको सदस्य र समर्थक बनिसकेका रहेछन् जो देश र समाजको परिवर्तनगामी थिए । अर्काथरी भनेका तिनै यथास्थितिमा रहन चाहने र तत्कालीन शासक र सीआईडीका झुण्ड मात्र थिए । यी छुट्याइएका दुई वर्गमध्ये अघिल्ला वर्गमा हाम्रा पुर्खाहरू रहेछन् जसले यो देशमा प्रजातन्त्र स्थापना भएको हेर्न देख्न चाहन्थ्यो । स्वभावैले यी अघिल्ला वर्ग काङ्ग्रेस त बन्ने नै भए । अब यिनका सुनौला दिनहरू व्यतीत भएर सास्तीका दिनहरू यहीँबाट सुरु भयो भन्दा फरक नपर्ला ।
मेरा स्वर्गीय पिता भन्ने गर्नुहुन्थ्यो, हाम्रा सङ्घर्षका दिनगन्ती यही बिन्दुबाट सुरु भएको थियो । उता सामन्तवादी चरित्र र परिपाटीबाट चलिरहेको देश, समाज र परिवार यता परिवर्तनगामी प्वाँख पलाउँदै थियो । ‘नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छाबाबुको अनुहार’ भनेजस्तै उनीहरूलाई परिरहेको अवस्थाको सिर्जना स्व. बीपी बाबु र उहाँका अनुयायीहरूको सङ्गतले परिवर्तनको रङ्ग उनीहरूमा पनि भरिइसकेको रहेछ । ०७ सालको परिवर्तनपश्चात् झन्डै दश वर्षसम्म त राणा, राजा र काङ्ग्रेसको त्रिपक्षीय सम्झौतामा केही सानातिना गल्ती–कमजोरीका बाबजुद देशमा अशान्ति कायम भएन । जब २०१५ सालको निर्वाचनले काङ्ग्रेसको एकलौटी सरकार निर्माण भयो त्यसपश्चात् भने देशमा ठूलै उथलपुथल हुने सङ्केत देखा परिसकेको रहेछ । किनकि, राजाबाट थालेकै कारण अनिष्टको सङ्केत ज्युँका त्युँ भएको रहेछ ।

२०१५ सालको निर्वाचनमा काङ्ग्रेसलाई जिताउन देशभरि सक्रिय भूमिका निर्वाह गर्नेहरूको गोप्य आँकडा राणा र दरबारियाहरूले लिइसकेका थिए । अदृश्य शक्तिकेन्द्रले काङ्ग्रेसीहरूको गोप्य कालोसूची तयार पारिसकेको रहेछ । प्रजातान्त्रिक सरकारको झन्डै दुई वर्षको कार्यकालभित्रै त्यो षड्यन्त्रको तानाबाना बुनिइसकेका कारण वि.सं. २०१६, पुस १ गते टुँडीखेलमा तरुण दलको कार्यक्रमलाई सम्बोधन गरिरहेका देशको पहिलो जननिर्वाचित प्रधानमन्त्री स्व. बीपी बाबुलगायत विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरूसमेत चरणबद्ध गिरफ्तारीमा पर्दै गए र पञ्चायत विधिवत् घोषणा भयो । जब बीपी बाबु, गणेशमान, किसुनजी, सुवर्णबाबु भूमिगत शैलीमा सङ्गठन विस्तारमा हुनुहुन्थ्यो त्यसबखत पश्चिम १ नम्बर र २ नम्बरका जिल्लाहरूमा साङ्गठनिक काम गरी पुन: भारत प्रस्थान गर्ने बाटोका रूपमा धादिङको नाङ्गे, वैठुण्ठ, मकवानपुरको भीमफेदी, भैँसे हुँदै वीरगञ्ज रक्सौल नाकाबाट बोर्डर पार गर्दा विश्राम गर्ने, मुख्य थलोको रूपमा प्रयोग भएको धादिङको दक्षिणी क्षेत्रमा पर्ने हाम्रो बाबुबाजेको घर थियो । त्यसैक्रममा मेरा बाजे र बुबासमेत काङ्ग्रेसको अभिन्न अङ्ग बनिसक्नुभएको रहेछ । सो घर अहिले जीर्ण छ र वि.सं. २०७२ सालको भूकम्पका कारण आन्तरिक रूपमा क्षतिग्रस्त भए तापनि यद्यपि छँदै छ । त्यसताका काङ्ग्रेसीको सेल्टर भएका कारण र तत्कालीन सरकारको अ.त.को उपमा पाएको पार्टी भएकै कारण विभिन्न कालखण्डमा हाम्रा पूर्वजहरूले सरकारीलगायत सामाजिक वक्रदृष्टि सहनुपरेको थियो । वि.सं. २०१७ सालमा धादिङको नाङ्गे काण्ड र दार्खा खनायोबास काण्ड भनेपछि चर्चित छ । त्यसबखत काङ्ग्रेस पार्टीले साहु–सामन्तहरूद्वारा घरमा आश्रित बनाएर राखिएका नोकरचाकर र बाँधा बेतैनी आदिलाई तमसुक र लिएको ऋण सबै खारेजी गर्ने गरी आन्दोलन गरेको थियो ।

त्यसबखत केही छिटफुट अप्रिय घटनाहरूसमेत घटेका थिए । त्यस्ता घटनाहरू घटाउनमा पञ्च–मण्डलेहरूकै घुसपैठ बढी थियो भन्दछन् जानकारहरू । त्यस आन्दोलनलाई सम्भँmदा मेरा पिता र हजुरबुबाले त्यसैबेलाको अनुसार पनि लाखौँको आर्थिक नोक्सानी व्यहोर्नुपरेको थियो । किनकि हाम्रा घरमा समेत अठार–अठार परिवार नोकरहरू थिए भन्नुहुन्छ मेरी आमा । घरमूली स्वयम्ले तमसुक रद्द गरेर नोकरचाकरलाई आजादी दिएको घटना मामुली नहोला । त्यसका लागि हाम्रो परिवारले लाखौँको क्षति व्यहोर्नुपरेको थियो र साथै स्थानीय अन्य सामन्त र सरकारको समेत आँखाको तारो बन्नुपरेको थियो । यही क्रममा केही समय प्रवासमा समेत बस्नुपरेको घटना मेरा स्व. पिता बारम्बार दोहोर्‍याइरहनुहुन्थ्यो । तीसवर्षे पञ्चायतभरि अराष्ट्रिय तत्त्व (अ.त.) भएर बाँचियो, प्रजातन्त्रपश्चात् तिनै मण्डलेले रङ्ग बदलेर काङ्ग्रेस बनेर हाम्रै काँधमा चढे, हाम्रै घर–आँगनमा उनीहरूलाई नेता स्वीकार्नुपर्ने परिस्थिति परेका कारण मेरा पिता राजनीतिबाट निष्क्रिय बन्नुभएको थियो ।

बीपी बाबुको प्रत्यक्ष निगरानी र आदेशमा ०२७ साल वैशाखमा नेविसङ्घको स्थापना हुँदा हाम्रा श्रद्धेय दाजु संस्थापक सदस्य बन्नुभयो । कालान्तरमा उहाँ पनि निष्क्रिय नै बन्नुभयो । जुनबेला म स्वयम् राजनीति (विद्यार्थी राजनीति)मा सक्रिय भएको थाहा पाए पनि उहाँले घरमा बोलाएर सम्पूर्ण कहानी सुनाउँदै निष्ठापूर्ण राजनीतिले परिवार र सम्पत्ति दुवै सखाप बनाउन सक्ने कथा दोहोर्‍याउनुभएको मेरो मानसपटलमा ताजै छ । मेरा अर्का दाजु पनि नेपाल शिक्षक सङ्घको क्षेत्रीय अध्यक्षसमेत भएका थिए । हाल उनको समेत स्वर्गारोहण भइसकेको छ । ०५२ सालबाट जब माओवादी पार्टी घोषणा भयो र भूमिगत भएर सक्रिय भयो त्यसै बखतदेखि व्यक्तिगत र राजनीतिक रूपमा रिसइबी गर्नेहरूले मलाई र मेरो परिवारलाई समेत तारो बनाउन सुरु गर्‍यो ।

काठमाडौंका क्याम्पसहरूमा नेविसङ्घको क्याडरको रूपमा पङ्क्तिकार सक्रिय भएको अवस्थामा वृद्ध बाबुआमा गाउँमै बस्नुहुन्थ्यो । सरकारी सुराकीको दोष लगाएर मलाईसमेत तीन–तीनपटक सफाया गर्ने सूचीमा राखियो । पाँच–पाँच वर्षसम्म दशैँ मान्न र टीका लगाउनसमेत घर जान सकिनँ । वृद्ध बाबुआमालाई समेत तारो बनाएका कारण ०५६ सालबाट पूर्ण परिवारसहित आफ्नो थातथलोबाट विस्थापित हुनुपरेको घटनालाई म राम्ररी प्रस्तुतसमेत गर्न असमर्थ थिएँ त्यसताका । किनकि घटनाको उजुरीसमेत गर्न नपाउने नत्र जहाँ भए पनि सफाया गर्ने धम्की थियो । बेपत्ता भाइ १५ वर्षपछि मात्र सम्पर्कमा आएको थियो । माओवादीको कथित स्थानीय जनसरकारप्रमुख मेरो नजिकको भान्जा नाता पर्ने र साथीसङ्गीसमेत भएका कारण मात्र जिन्दगी गुमाउनुबाट बचेको थिएँ । नत्र म अहिलेसम्म कि त बेपत्ताको सूचीमा पर्ने थिएँ कि त कैयौँ श्राद्ध पिण्ड तर्पण भइसकेको हुने थियो । अहिलेसम्म पनि हाम्रो जिल्ला कम्युनिस्टहरूको गढ भएकै कारण विभिन्न विकास निर्माणको काम र त्यसको प्रत्यक्ष उपभोगमा समेत हामी वञ्चित भइरहनुपरेको छ ।

काङ्ग्रेस भएकै कारण यतिका कष्ट व्यहोर्नुपर्दासमेत मेरा पिता मृत्युको मुखमा पर्ने अवस्थासम्म पनि आफ्नो चेतनाले सुझाएको आस्था तोड्न नहुने सुझाव दिई नै रहनुहुन्थ्यो । त्यसैकारण उहाँको आत्माको चिरशान्तिका लागि ‘जय नेपाल’ नामक दुईवटा गीतसङ्ग्रह भएको एल्बम मलगायत अन्य साथीहरूको आवाजमा स्वराङ्कन गरी काङ्ग्रेसको नवलपरासीस्थित महासमितिको बैठकमा उपस्थित नेताहरूद्वारा लोकार्पण गरी दोस्रो संविधानसभा निर्वाचनमा दुई सय ४० निर्वाचन क्षेत्रलाई पुग्ने गरी नि:शुल्क वितरण गरियो । त्यस एल्बममा २०१५ सालमा बीपी बाबुको निर्वाचन क्याम्पेनिङमा मेरा पिताले गाउनुभएको गीत पनि समावेश गरेको छु । यसका लागि मेरा केही नजिकका मित्रहरूले आंशिक सहयोग गर्नुभएको स्मरण गराउन र हृदयदेखि धन्यवाद भन्न चाहन्छु ।

यस देशमा दु:ख पाएर राजनीतिमा लाग्नेहरू धेरै सम्पन्न भइसकेका छन्, तर राजनीतिमा लागेर दु:ख पाउनेहरूको कथा हो यो । यस्ता प्रतिनिधि घटनाहरूबाट प्रजातान्त्रिक पार्टी र नेतृत्व वर्गलाई सचेत र अध्ययनशील तुल्याउन सकियोस् भन्नका खातिर यो लेख लेखिएको हो । यस्ता धेरै प्रतिनिधि घटनाहरू समाजमा होलान् । अबको प्रजातन्त्रवादी दल र सङ्गठनमा उच्च स्थानमा रहनेहरूले यसको सही मूल्याङ्कन गर्न जरुरी छ । अन्यथा प्रजातन्त्र र लोकतन्त्रप्रति विश्वासको सङ्कट आइलाग्न सक्छ । यो लेखोट पस्किनुको अभिप्राय देशका समग्र दु:ख पाएका, सास्ती भोगेका प्रजातन्त्रवादीहरूलाई यस्तो प्रताडनाबाट मुक्ति मिलोस्, सरोकारवालाको ध्यान पुगोस् भन्ने मात्र हो, कुनै व्यक्तिगत लाभप्राप्तिका लागि होइन । अस्तु ।

(लेखक आर्यावर्त (भारतवर्ष) युवा समाजका अध्यक्ष हुन् ।)