परस्त्री गर्भवती तुल्याएर छोरालाई निकालावास

परस्त्री गर्भवती तुल्याएर छोरालाई निकालावास


bishwendra paswan 2

हिजोआज ओली सरकारका जनसङ्ख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवान अर्कै महिलासँग लहस्सिएको चर्चा सम्बन्धित मन्त्रालयभित्रै चलेको सुनिन्छ । बारा, लिप्नी–६ सुकुम्बासी बस्तीको रमेशकी पत्नी २५ वर्षीया नक्षत्रकुमारी (नाम परिवर्तन)सँग मन्त्री पासवानको सम्बन्धलाई लिएर मन्त्रालयका कर्मचारीले निकै अघिदेखि चासो प्रकट गर्ने गरेका हुन् । रमेश र नक्षत्रबीच पाँच वर्षअघि बिहे भएको उनीहरूको पारिवारिक सूत्रबाट जानकारी मिलेको छ ।

प्राप्त जानकारीअनुसार एसएलसीसम्म गरेकी नक्षत्रलाई विश्वेन्द्रले दोस्रो संविधानसभाको निर्वाचनताका पार्टीमा प्रवेश गराई केन्द्रीय सदस्यसमेत बनाए । अनि आफू सभासद् भएपछि जहाँ जाँदा पनि साथमै लैजाने र सँगै रात बिताउने गरेका थिए । गत असोजमा आफू मन्त्री भएपछि विश्वेन्द्रले नक्षत्रलाई गर्भवती नै बनाएको स्रोतको दाबी छ । गर्भवती नक्षत्रले अब आफूलाई श्रीमती बनाई घरमा भित्र्याउनुपर्ने भन्दै पासवानको पिंगलास्थानस्थित निवास पुगी दबाब दिन थालेपछि पासवानकी श्रीमती र दुई छोराहरूले नक्षत्रलाई घरमा छिर्न नदिएका मात्र नभई मन्त्री विश्वेन्द्रलाई समेत भकुर्नसम्म भकुरेको बुझिएको छ ।
त्यसपछि पासवानले परिवारजनकै सामु नक्षत्रलाई मेरो बेइज्जत गर्ने काम नगर, तिम्लाई अन्ततिरै व्यवस्था गरिदिन्छु भन्दै फकाई–फुल्याई त्यहाँबाट फर्काइदिएका थिए । त्यसपछि नक्षत्रकी साथी बारा, निजगढकी शर्मिला विकको मध्यस्थतामा जितपुरमा घडेरी, जग्गा र बैंकमा पाँच लाख राखिदिने सहमतिमा घटना गोप्य राखी गर्भपतन गराइएको स्रोत बताउँछ ।

यस घटनाबारे साधारण लेखपढ गरेका श्रीमान् रमेशले सुइँको पाएर नक्षत्रलाई ‘तेरै विश्वेन्द्रसँग जा, उसको बच्चा फालेर आउने, अनि मसँग बस्ने ? तँ यहाँ बस्न लायक छैनस्’ भनी कुटपिट गरी घरबाट निकालिदिएपछि, अहिले नक्षत्र विश्वेन्द्रसँगै बस्न भनी काठमाडौं आएकी छिन् । तर, विश्वेन्द्रले यो कुरा सार्वजनिक गरे, मारेर लास बेपत्ता पारिदिने भन्दै नक्षत्रलाई धम्क्याउने गरेको उनले आफ्ना नजिकका साथी–सहेलीलाई बताउँदै न्यायका लागि गुहार मागेकी छिन् । अब विश्वेन्द्रले नक्षत्रलाई मारेर उनको लासै बेपत्ता पार्ने हुन् कि तत्काल कान्छी श्रीमती बनाएर मन्त्री–क्वार्टरमा भित्र्याउने हुन् ? भविष्यको गर्भमा रहेको छ ।

स्मरण रहोस्, नक्षत्रसँगको लफडाका कारण हाल विश्वेन्द्रको घरमा जेठी पत्नी र त्यतातिरका सन्तानसँग दिनदिनै किचकिच पर्न थालेको छ । यही जेठ १ गते शनिबार विश्वेन्द्रले जेठो छोरा सन्तोषलाई ‘यहाँबाट भाग …!’ भनी घरबाट निकालिदिएका छन् भने श्रीमतीलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् । पासवानले ‘यो मन्त्रीको क्वार्टर हो, यहाँ मन्त्रीले भनेको मान्छे मात्रै बस्न पाउँछ’ भन्दै आफ्नो सुरक्षार्थ निवासमा खटिएका सुरक्षाकर्मीलाई उर्दी गरेको समाचार गत साता नै प्रकाशमा आइसकेको छ । छोरा सन्तोषलाई घरमा प्रवेश निषेध गर्नकै लागि पासवानले यस्तो उर्दी जारी गरेको उनका परिजनले लख काटेका छन् ।