माओवादी एकता कति औचित्यपूर्ण ?

माओवादी एकता कति औचित्यपूर्ण ?


GB Acharya

– अधिवक्ता जीबी आचार्य

प्रचण्ड आज सत्तामा छन्, उनको पार्टीबाट दर्जनभर मानिस मन्त्री बनेका छन् । नेपाली काङ्ग्रेस प्रतिपक्षको पार्टी हो । प्रतिपक्ष भएको हुनाले नेपाली काङ्ग्रेसले सत्तापक्षका विरुद्ध गतिविधि गर्नु, सरकार गिराउने गतिविधि गर्नु सामान्य भए पनि, सत्तापक्ष भएको हुनाले काङ्ग्रेसभन्दा तल ओर्लेर सरकार गिराउने खेलमा प्रचण्ड त सहभागी हुनुहुँदैनथ्यो । तर, उनले आफू प्रधानमन्त्री बन्न गरेको हर्कत संसद् र संसदीय अभ्यासमा रमाउने पार्टीका नेताको भन्दा पनि तल्लोस्तरको देखियो । यति निम्नस्तरको संसदीय चरित्र भएको सत्तामुखी, अवसरवादी नेता कम्युनिस्ट हुनै सक्दैन । अनि उसैसँग घाँटी जोड्नुको के तात्पर्य ? क्रान्ति र परिवर्तनका विरुद्ध हिजो प्रचण्ड–बाबुरामले गरेको गल्तीलाई पर्दा हाल्नुसिवाय यो एकताको अर्को कुनै सान्दर्भिकता छैन ।

टुक्राटुक्रामा विभाजित माओवादी आन्दोलनलाई एकताबद्ध गर्ने उद्घोष गर्दै आएका तत्कालीन एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले अन्तत: केही टुक्रा माओवादी घटकलाई जोडेर एकताको एउटा कुरूप दृश्य मञ्चन गर्न सफल भएकाछन् । र, उनको त्यही प्रयासबाट जन्मेको छ– नेकपा माओवादी केन्द्र । देशभक्त, राष्ट्रवादी, क्रान्तिकारीहरूको एकताबाट सशक्त कम्युनिस्ट पार्टीको निर्माण हुनु विश्वभरकै शोषितपीडित र दमनमा परेका किसान, मजदुर र सर्वहारा अनि विश्व साम्राज्यवाद र विस्तारवाद तथा देशीय सामन्तवादविरुद्ध सङ्घर्षरत विद्यार्थी, पेसाकर्मी र उच्च राजनीतिक चेतना भएका तमाम मानिसका लागि खुसीको विषय हुनुपर्छ । तर, सो एकता औचित्यपूर्ण हुनुपर्छ । सो एकता वैचारिक आधारमा भएको हुनुपर्छ र सो एकताले जनसङ्घर्षको स्पष्ट मार्ग निर्देशन गरेको हुनुपर्छ । तर, अहिले गरिएको एकता औचित्य पूर्ण छ त ?

जनयुद्ध लडेर आएको पार्टी तत्कालीन नेकपा माओवादी शान्तिप्रक्रियामा आएपछि पटकपटक विभाजित भयो, तर किन भन्ने प्रश्नको जवाफ सो पार्टीको संस्थापन पक्षले कहिल्यै खोजेन । १२बुँदे सहमतिमार्फत पार्टीले जनयुद्धकालमा लिएको राजनीतिक लाइनलाई मात्र होइन सो समयमा उठाएका सामाजिक र आर्थिक नीति पनि पार्टी शान्तिप्रक्रियामा आएपछि पूरै त्याग्ने काम भयो । पार्टी सामन्त, दलाल पुँजीपति र नवधनाढ्यहरूको कब्जामा पर्दै गयो र यो काम विश्व साम्राज्यवाद र क्षेत्रीय विस्तारवादको ठाडो निर्देशनमा माओवादी नेतृत्वले जानीबुझी गरेको थियो । यसरी पार्टी र क्रान्तिलाई जानाजान विश्व साम्राज्यवादको गुलाम बनाउने व्यक्ति अरू कोही नभएर प्रचण्ड नै हुन् र उनलाई सो कुत्सित कार्यमा सघाउने व्यक्ति बाबुराम हुन् । नेतृत्वले पार्टीलाई विचारको बन्धक बनाएर राख्यो । जसरी काङ्ग्रेस र एमालेले सङ्ख्यात्मक बहुमतको आधारमा पार्टी सञ्चालन गरिरहेका थिए, त्यसैगरी माओवादी पार्टीभित्र पनि क्रान्तिकारी जनवादी आवाजलाई विपक्ष निर्माण गरी पोलिटब्युरो र केन्द्रीय समितिमा बहुमत र अल्पमत कायम गरी सङ्ख्यात्मक रूपमा पार्टी कब्जा गरी पार्टी सञ्चालन गर्ने परिपाटी विकास भयो । हिजो पार्टी विभाजन हुनुपर्ने पहिलो कारण यही थियो ।

पार्टीको संस्थापन पक्षले क्रान्तिप्रति गद्दारी गरेपछि त्यहाँभित्र रहेका क्रान्तिकारीसामु केवल दुईवटा मात्र विकल्प बाँकी थिए, पहिलो गद्दार संस्थापन पक्षसँग आत्मसमर्पण गर्ने वा दोस्रो पार्टी नेतृत्वविरुद्ध विद्रोह गर्ने । पहिलो विकल्प सजिलो थियो किनभने त्यतिबेला पार्टी संविधानसभाको सबैभन्दा ठूलो पार्टी थियो र अलिकति मात्र अनुचित सम्झौता गर्दा पनि सत्तालाभ हुनसक्थ्यो । विश्व साम्राज्यवादसामु आत्मसमर्पण गरिसकेको मूल नेतृत्वका अगाडि अर्थहीन सम्झौता नगरी पार्टीभित्रको क्रान्तिकारी तप्काले विद्रोहको झन्डा उठाउने निर्णय गर्‍यो । त्यतिबेला जे कारणले पार्टी विभाजन भएको थियो, त्यो कारणमा आज पनि कुनै परिवर्तन आएको छैन । प्रचण्डमण्डली सच्चिएको छैन । बरु उसको संसदीय पतन प्रचलित संसदीय अभ्यासभन्दा पनि तल्लो स्तरमा गएर छताछुल्ल भएको छ । प्रचण्ड मण्डलीलाई सैद्धान्तिक रूपमा विश्लेषण नगरी सोही मण्डलीसँग निरपेक्ष रूपमा एकीकरण गरिनु राजनीतिक एकीकरण नभएर बादललगायत समूहको राजनीतिक विचलन हो ।

प्रचण्ड आज सत्तामा छन्, उनको पार्टीबाट दर्जनभर मानिस मन्त्री बनेका छन् । नेपाली काङ्ग्रेस प्रतिपक्षको पार्टी हो । प्रतिपक्ष भएको हुनाले नेपाली काङ्ग्रेसले सत्तापक्षका विरुद्ध गतिविधि गर्नु, सरकार गिराउने गतिविधि गर्नु सामान्य भए पनि, सत्तापक्ष भएको हुनाले काङ्ग्रेसभन्दा तल ओर्लेर सरकार गिराउने खेलमा प्रचण्ड त सहभागी हुनुहुँदैनथ्यो । तर, उनले आफू प्रधानमन्त्री बन्न गरेको हर्कत संसद् र संसदीय अभ्यासमा रमाउने पार्टीका नेताको भन्दा पनि तल्लोस्तरको देखियो । यति निम्नस्तरको संसदीय चरित्र भएको सत्तामुखी, अवसरवादी नेता कम्युनिस्ट हुनै सक्दैन । अनि उसैसँग घाँटी जोड्नुको के तात्पर्य ? क्रान्ति र परिवर्तनका विरुद्ध हिजो प्रचण्ड–बाबुरामले गरेको गल्तीलाई पर्दा हाल्नुसिवाय यो एकताको अर्को कुनै सान्दर्भिकता छैन ।

आज पनि नेपाली जनता शोषण र दमनको उस्तै चरम दुश्चक्रमा बाँच्न बाध्य छन् । सामन्तवादले सिर्जेको यो दुश्चक्रलाई प्रतिक्रियावादीहरूले झन् मजबुत बनाएका छन् । सहमतिका नाममा राजनीतिक भागबण्डाको संस्कृति विकास भएको छ । स्वास्थ्य क्षेत्रदेखि न्यायालयसम्म सबैतिर भागबन्डाको चलखेल मात्र छ । योग्य र इमानदार मानिस पछि पारिएका छन् भने भ्रष्ट र अवसरवादीहरूको बिगबिगी छ । यस्तो अति निराशाजनक अवस्थामा आममानिसले आज नेपालका कम्युनिस्ट शक्तिसँग निकै ठूलो आश राखेका थिए, तर जुन जोगी आए पनि कानै चिरेका भनेझैँ कम्युनिस्ट नामधारी जुन–जुन पार्टी सत्तामा पुगे तिनले दलाल, सुदखोर र प्रतिक्रियावादीकै सेवा गर्नेबाहेक अन्य कुनै सुखद काम गरेनन् । जनताका सम्पूर्ण समस्या जस्ताका तस्तै बाँकी राखे । आज जनताका समस्या समाधान गर्न सक्ने, नेपालको स्वाधीनताका लागि काम गर्न सक्ने, भ्रष्टाचार नियन्त्रण गर्नसक्ने, पुँजीपतिको सेवा गर्न राष्ट्रिय प्राकृतिक स्रोतको दोहन गर्ने ठूला निगमको विकास होइन, जनमुखी विकास गर्न सक्ने एउटा पार्टीको आवश्यकता आज नेपालमा छ, तर के प्रतिक्रियावादीसामु आत्मसमर्पण गरेका, सिद्धान्तबाट च्यूत, अकर्मण्य, दोहोरो चरित्र बोकेका, अवसरवादीहरूबीचको एकताले इतिहासको यो अपरिहार्य आवश्यकतालाई पूरा गर्न सक्छ ?

जनयुद्धले केही राजनीतिक मुद्दालाई नेपाली समाजमा जबर्जस्त रूपमा स्थापित गर्‍यो । हरेक क्रियाको समान, तर विपरीत प्रतिक्रिया हुन्छ भनेझैँ नेपालमा जनयुद्धको घनीभूत हुँदै जाँदा प्रतिक्रान्तिको वेग पनि उही रफ्तारमा अगाडि बढिरहेको थियो । समाजमा लामो समयदेखि आर्थिक, सांस्कृतिक, भाषिक, क्षेत्रीय, रूपमा दमन, शोषण र उत्पीडन थियो र आमजनताले सोबाट मुक्ति पाउने साधनको रूपमा आन्दोलनलाई बुझेका थिए र सोहीबमोजिम नेपालको कम्युनिस्ट आन्दोलनलाई समर्थन पनि प्राप्त भएको थियो । तर, नेपाली जनताको आशा र सपना पटक–पटक तुहाउने काम मात्र भयो । ०७ सालबाट सुरु भएको सम्झौता र धोकाको इतिहास ०४६ र ०६३ को आन्दोलनमा पनि दोहोरियो । नेपालको कम्युनिस्ट आन्दोलन पटक–पटक आफ्ना नीति र कार्यक्रमबाट विमुख बन्यो । र, पछिल्लोपटक नेपाली जनतालाई धोका दिने काम प्रचण्डले गरे भने आजसम्म पनि प्रचण्डबाट १२बुँदे सम्झौतालाई सच्याउने कुनै काम भएको छैन । अर्थात्, आज नेपाली क्रान्ति जुन दलदलमा फसेको छ, त्यसको सूत्रधार हुन् प्रचण्ड भने उनै प्रचण्डसँग यथापरिस्थितिमा सम्झौता गर्नु भनेको संसद्वादी दलदलमा फस्नु नै हो र यसले विश्व कम्युनिस्ट आन्दोलनको किमार्थ सेवा गर्दैन । तसर्थ यो एकताको कुनै तुक छैन ।

‘कम्युनिस्टहरू विखण्डनवादी हुन्छन्, अर्काको अस्तित्व सहन गर्न नसक्ने हुन्छन्’ भनी विश्व साम्राज्यवाद र त्यसका मतियारहरूले कम्युनिस्टमाथि आक्रमण गरिरहेका छन् भने नेपालका कम्युनिस्ट पार्टीहरूले त्यसलाई प्रमाणित पनि गरिदिएका छन् । तर, फुट सधैँ गलत मात्र हुँदैन न त एकता सधैँ हितकारी नै हुन्छ । कम्युनिस्ट पार्टीमा आउने फुट र विभाजनले विश्व कम्युनिस्ट आन्दोलनमा सैद्धान्तिक रक्षाको प्रश्नलाई समेत उजागर गरिदिएको पनि त छ । तसर्थ यस्ता अवसरवादी एकताले केही समयलाई पार्टी ठूलो पनि होला, संसद्मा दुई–चार सिट पनि बढ्ला, तर आमश्रमजीवी मानिसले यस्ता एकताबाट कुनै फाइदा पाउन सक्दैनन् । हो, आज नेपालको राजनीति राष्ट्रवादी र राष्ट्रघाती दुई कित्तामा विभाजित भएको छ । नेपाललाई फिजीकरण गर्ने विखण्डन गरेर सुडान बनाउने दिशामा नेपालको राजनीति अग्रसर भइरहेको समयमा नेपाललाई जोगाउन, विकास र प्रगतिको बाटोमा अग्रसर गराउन देशभक्त, राष्ट्रवादी र क्रान्तिकारीहरूबीच बृहत्तर एकता आजको आवश्यकता हो ।