आव ०७३-७४ को बजेट प्रस्तुत गरिँदै

आव ०७३-७४ को बजेट प्रस्तुत गरिँदै


Bishnu Paudel 1

सरकारले आगामी आर्थिक वर्ष ०७३-७४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) व्यवस्थापिका संसद्मा पेस गरेको छ । व्यवस्थापिका–संसद्को शनिबारको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्न सुरु गर्नुुभएको हो । सभामुख ओनसरी घर्तीले अर्थमन्त्री पौडेललाई समय दिएपछि उहाँले प्रस्तुति सुरु गर्नुभएको हो । नयाँ संविधानपछि गठित प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारबाट ल्याइएको यो बजेटलाई निकै चासोका साथ हेरिएको छ ।

असार मसान्तमा बजेट ल्याउँदा पारित गर्न समय लाग्ने तथा मौसमको प्रतिकूलतालगायत विभिन्न कारण बजेट कार्यान्वयनमा ढिलाइ हुने भएकाले राजनीतिक दलहरुले जेठ १५ गते बजेट ल्याउने संवैधानिक व्यवस्था गरेका हुन् । गणतन्त्र दिवसको दिन पेस गरिएको यस पटकको बजेटले नेपालको संविधान कार्यान्वयनमा समेत योगदान पुग्ने ठानिएको छ ।

लामो समयदेखि मुलुकले राजीतिक स्थायित्व प्राप्त गर्न नसकेका करण विकास खर्च र आयोजना निर्माणको प्रगति उत्साहजनक नभएको वर्षाै बितिसकेको छ । अस्थिर राजनीतिले पूर्वाधार निर्माण र विकासका आयोजना गुणस्तर हुन नसक्दा एउटै आयोजनाको नाममा पटक पटक बजेट विनियोजन हुँदै आएको छ । विकाससँग सम्बन्धित अन्तर–मन्त्रालयबीच समन्वय नहँुदा विकासको नाममा राज्यको ढुकुटी बालुवामा पानी खन्याए सरह भएको छ ।

सरकारले यस आर्थिक वर्षका लागि घोषणा गरेको नीति तथा कार्यक्रममा पाँच वर्षभित्रमा भूकम्पले बिगारेका संरचनाको पुनःनिर्माण पूरा गर्ने, आगामी मङसिरमा स्थानीय निकायको निर्वाचन गराउने तथा १० वर्षमा १० हजार मेगावाट विजुली उत्पादन गर्नेजस्ता महत्वाकांक्षी योजना अघि सारेको छ । सोही कार्यक्रमका आधारमा बजेट ल्याइएको छ ।

सरकारको उक्त नीति तथा कार्यक्रमलाई निजी क्षेत्रले स्वागत गरेको थियो भने प्रमुख प्रतिपक्ष दलले भने कार्यान्वयन हुनै नसक्ने हावादारी पुलिन्दाको दस्तावेज भनी आलोचना गरेको थियो । संसदमा दोस्रो ठूलो राजनीतिक दल नेकपा (एमाले) को नेतृत्व रहेको वर्तमान सरकारमा तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र, चौथो ठूलो राप्रपा नेपालसहित अरु साना दल सम्मिलित छन् ।

एमालेको नेतृत्वको २०५१ सालमा गठन भएको नौ महिने सरकारले ल्याएको बजेट मुलुककै इतिहासमा सबैभन्दा लोकप्रिय मानिएकाले त्यसैलाई झझल्को दिने गरी बजेट बनाइने एमालेका नेताहरुले उद्घोष गर्दै आउनुभएको थियो । यसैबीच संसद्मा बजेट प्रस्तुत भइरहँदा आन्दोलनरत सङ्घीय गठबन्धनमा आवद्ध मधेसी मोर्चाका दलबाट प्रतिनिधित्व गर्ने सांसद्हरु बैठकमा उपस्थित भएको देखिएन ।