सुरक्षा गरौँ खरेलजस्ता पुलिस अफिसरको

सुरक्षा गरौँ खरेलजस्ता पुलिस अफिसरको


-वसन्तराज कुँवर
समाज एउटा विश्वास एउटा संस्कार र एउटा धारले अगाडि बढ्दोरहेछ । त्यो धार परिवर्तन गर्न खोज्नेका लागि जीवन सङ्घर्षमय हुँदोरहेछ र त्यो धारकै चालमा बग्न तयार हुनेहरूका लागि जीवन सहज । हरेक क्षेत्रमा यो नियम लागू भएको देखिन्छ । कहिलेकाहीँ त्यो धारमा बग्न तयार नहुँदा जीवन कठिन हुने मात्र होइन अरूको नजरमा त्यो व्यक्तिले बेबकुफको संज्ञा पनि पाउँदोरहेछ ।
मलाई एउटा घटनाले अझै मनमनै हँसाउने गर्छ । म प्रदीपशमशेर प्रहरी महानिरीक्षक हुँदा उहाँको प्रमुख सचिव थिएँ । त्यो पदमा बस्दा प्रहरी सङ्गठनमा त्यो व्यक्तिलाई शक्तिशाली व्यक्ति झैं ठान्ने गरिन्थ्यो । त्यसैले आफूभन्दा ठूला पदका अधिकृतहरू र साना पदका अधिकृतहरू पनि मसँग त्यस समय राम्रो सम्बन्ध राख्न चाहन्थे । यसले बोलेको कुरा महानिरीक्षकले सुन्ने गर्छन् भन्ने मनोवैज्ञानिक असरका कारणले सायद यस्तो विश्वास हुने गर्दथ्यो । एक दिनको कुरो हो एकजना डीएसपी दिउँसो मेरो कार्यालयमा आए, मुसुमुसु हाँसे र जयनेपाल भनेपछि हँसिलो अनुहार लगाउँदै मेरो अगाडि उभिइरहे । मैले मेच देखाउँदै बस्न अनुरोध गर्दा पनि उनी बसेनन् वल्की मुसुमुसु मुस्कुराइनै रहे । मैले उनलाई केही भन्नु छ कि भनी सोधेँ । उनले बडो आत्मविश्वासका साथ भने, ‘सर मैले प्रहरीमा धेरै ठाउँमा धेरै दु:ख साथ काम गरेँ । दिन भनिनँ, रात भनिनँ । ढुङ्गामुढा खाएँ । त्यसैले अब मलाई फलानो ठाउँमा पठाइदिनुपर्‍यो…।’ उनले जहाँ मलाई पठाइदिनुपर्‍यो भनी चाहना व्यक्त गरेका थिए त्यो स्थानमा व्यक्ति काम देखाउनेभन्दा पनि पैसा कमाउने हेतुले जाने गर्दथे । त्यसैले मैले उनलाई सोधेँ, ‘तिमी त्यहीँ नै किन जान चाहन्छौ -‘ उनले आत्मविश्वासका साथ जवाफ दिए, ‘सर, अब मैले पनि अलिकति कमाउनुपर्‍यो नि, अहिलेसम्म केही गर्न सकेको छैन…।’
उनको अचम्मको मागले एकछिन त मलाई आश्चर्यचकित बनायो । आईजीपीको मुख्य सचिवको अगाडि मैले पनि कमाउनुपर्‍यो, त्यसैले त्यहाँ सरुवा गरिदिनुपर्‍यो भनेर हिम्मत गर्न सक्नु पनि एक दृष्टिकोणले मान्नैपर्ने कुरा थियो । उनले आफ्ना मनका कुरा सिनियरलाई सीधै जाहेर गरेको अवस्था पनि राम्रै थियो तर पैसा कमाउनका लागि त्यहाँ जान पाऊँ भनी सीधै भनेको अवस्था भने मेरा लागि उदेकपूर्ण र पूरा गर्न नसकिने माग थियो ।
आफू त्यहाँ जान पाउनुपर्ने कुरामा विभिन्न उदाहरण दिँदै उनले मेरो चित्त बुझाउन खोजे । उनले भने, ‘मन्त्रीहरूले सीधै आर्थिक लाभ लिएर पैसा कमाउने ठाउँमा मान्छे पठाइरहेका छन्, म त नेताकहाँ गएको पनि छैन बरु आफ्नो हाकिमकहाँ समस्या बताइरहेको छु । हाकिमहरूले समस्या नबुझे मजस्तो स्वाभिमानी व्यक्तिलाई फेरि नेताकहाँ नै पुग्नुपर्ने बाध्यता आउने छ ।’ उनी भन्दै थिए, ‘सर, मैले नेताकहाँ जान नपरोस् ।’
उनलाई कार्यालयबाट फिर्ता पठाएपछि म एकछिन एक्लै खुव हाँसेँ । मैले आफू प्रहरीमा हुँदा कुनै नेता वा प्रहरीका हाकिमहरूलाई कहिल्यै पैसा दिइनँ र यस्तो माध्यमबाट सरुवा-बढुवा हुन पनि कहिल्यै प्रयास गरिनँ । पैसा कमाउने भन्ने ठाउँमा पनि परिनँ म । मेरो सरुवा प्राय: विकट स्थानहरूमा नै गरिन्थ्यो । मजस्तो कर्मचारीले ती डीएसपीलाई पैसा चाहियो रे त्यसैले भनेको ठाउँमा पठाइदिनुपर्‍यो भनेर प्रहरी महानिरीक्षकज्यूलाई अनुरोध गर्ने त कुरै हुन्थेन, तर मलाई त्यसै क्षणबाट एउटा के चिन्ताले सताउन थाल्यो भने यदि प्रहरीमा जागिर खाएर पैसा कमाउने ठाउँमा जान पाउनुपर्छ भन्ने कुरालाई प्रहरी कर्मचारीहरूले एउटा अधिकारजस्तै गरी लिन थाले र यसलाई माग बनाई माथिल्लो हाकिमसमक्ष सीधै माग गर्न थाले भने त्यो दुस्साहसले प्रहरी सङ्गठनलाई कहाँ पुर्‍याउला – मलाई लाग्यो उक्त अधिकृतको त्यो ‘साहस’ एकैदिनमा आएको थिएन । त्यो उसले वरिपरि हेरेर, अरूलाई पर्गेलेर नै जुटाएको थियो । यदि सबैले त्यस्तै सहास जुटाएर आ-आफ्नो योगदानका लागि मैले पैसा कमाउने ठाउँमा जान पाउनुपर्छ भन्दै त्यसलाई आफ्नो अधिकार सम्झन थाले भने प्रहरीको सेवा कस्तो होला – यो कुराले भने त्यस दिन मलाई खुब चिन्तित तुल्यायो ।
त्यस अवस्थालाई नियन्त्रण गर्न के रणनीति अपनाउन सकिएला भनेर आन्तरिक रूपमा म विचारमन्थन गर्न थालेँ र पूरै मुलुकमा तहतहका अधिकृतहरूलाई जिम्मेवारीअनुसारको कर्तव्यबोध गराउन एउटा पाठ्यक्रम तयार गरी प्रशिक्षण गोष्ठी सुरु गर्नुपर्ने ठहरमा पुगेँ । उक्त प्रशिक्षण कार्यक्रम प्रदीपशमशेर राणाको म्याद नथपिएका कारण लागू गराउन भने सकिएन ।
म अहिले प्रहरी सेवामा छैन तर पनि प्रहरी कर्मचारीको दु:खसुख मैले बुझेको छु । प्रहरीमा शपथ खाँदा इमानदार हुन्छु भन्न लगाइएको हुन्छ तर शपथ ख्वाउनेहरूले नै त्यो अधिकृतलाई इमानदार हुन दिँदैन । राजाको समयमा दरबारका सेनाको कृपामा प्रहरीले जागिर खानुपर्दथ्यो प्रजातन्त्र आएपछि गृहमन्त्री, प्रधानमन्त्री, जिल्लाका पार्टी सभापति र तिनका पीएसमेतले अधिकृतहरूको हर्ुमत लिने भए । म कहिलेकाहीँ प्रहरी सशस्त्र प्रहरीका उच्च अधिकृतहरू नेताहरूको र्इदगिर्द रामभक्त हनुमानजस्तो भएर पेस भएको देख्छु । प्रहरी नियमावलीमा त्यसो गर्न लेखिएको थिएन तर आईजीपीहरूलाई तर्सर्ाा खोस्दै, जेष्ठतालाई खुट्टाले कुचँल्दै, मान्छेलाई पद खाली राखेर अवकाश गराउँदै नेता भन्नेहरूले प्रहरी अधिकृतहरूको सातो खाएपछि सम्पूर्ण अधिकृत आफ्ना जागिर रक्षाका लागि तिनका अगाडि शरणागत भए । यही कमजोरीको फाइदा उर्ठाई नेताहरूले प्रहरी सङ्गठनलाई कमाउने र शक्ति दुरुपयोग गरी आफ्नो हैसियत बढाउने काम गर्न सफल भए । आज सबै नेता गृहमन्त्री हुन चाहन्छन् । के ती गृहमन्त्री हुन चाहनेहरू देशमा शान्तिसुरक्षा कायम गर्न एउटा नयाँ दृष्टिकोण लिएर आएका हुन्छन् त – हुँदैनन् । ती केवल प्रहरीका माध्यमबाट धन कमाउन र शक्ति हत्याउन त्यो पदमा आउन मरिमेटिरहेका हुन्छन् । यस्तै पद्धतिको एउटा उपज थिए ती डीएसपी जसले मेरो कार्यालयमा आई कमाउने ठाउँमा उनले जान पाउनुपर्ने कुरा सानका साथ मलाई भनिरहेका थिए । सायद उनले यही बुझेका थिए कि मन्त्री, प्रधानमन्त्री मिलेर आईजीपीसँग पैसा खान हुन्छ भने मैले किन खान नहुने –
मेरो प्रहरी जीवन पनि इमान्दारितालाई अङ्गाल्न खोज्दा थुप्रै दु:ख सहनुपरेका कथाहरूबाट भरिएको छ । इमानदार हुन खोज्दा केवल पिछडिएको र अनकन्टार महसुस हुने कार्यालयमा एक्लै सरुवा हुन परेको भोगाइहरू छन् मसँग । इमान्दारिता, बहादुरी सत्य र निष्ठालाई आफ्नो उन्नतिको आधार मान्न अहिले कोही तयार छैनन् । उनीहरूले वरिपरि देखेका छन् कमाउ र खुवाउ भन्ने रणनीति अङ्गाल्नेहरू सफल भएका छन् । तिनीहरूसँग नेताहरू पनि खुसी छन् । त्यस्तै खुसी पार्नेहरू कमाउने ठाउँमा बसिहरन पनि सफल छन् । ती भ्रष्ट छन्, कायर छन्, निकम्मा छन् तर पनि तिनले कमाउन र खुवाउन जानेका छन् । यही गुणबाट ती जीवनमा सफल पनि छन् । तर, के यो सफलताले देशले केही पाउँछ –
पैसाका लागि फुली बन्धकी राख्ने अनगिन्ती कथाहरूबीच हाल काठमाडौंका एसपी रमेश खरेलको कथा भने एउटा पृथक् रूपमा पङ्क्तिकारले पढ्न पाएको छ । एलरोन हर्ब्बड्स नामक दार्शनिकले भनेका छन्, ‘समाजमा असल मान्छेहरू ज्यादै कम हुन्छन् । असलमा पनि अरूका लागि त्याग गर्ने व्यक्ति झनै कम हुन्छन् । त्यस्ता व्यक्तिहरू सधैं असामाजिक व्यक्तिहरूको आँखाको कसिंगर हुन्छन् र तिनले यस्ता असल व्यक्तिहरूको नामोनिसान मेटाउन चाहन्छन् । त्यसैले समाजले तिनलाई जोगाउनुपर्छ । त्यस्ता व्यक्ति नास भए समाज असुरक्षित हुन पुग्दछ ।’
बुझ्न सकिन्छ, रमेश खरेलको इमान्दारिताले थुप्रैलाई आर्थिक नोक्सान पुर्‍याएको होला, प्रहरीलाई दास सम्झने नेताहरूका लागि ती व्यक्ति आँखाको कसिंगरझैं भएको होलान्, ती एसपीलाई कहिल्यै मौका पाइएला र एकैपटकमा सफाचट पारुँला भनेर मौका कुर्दै बसेका आफ्नै प्रहरीका साथीहरू, नेता, पत्रकार र अपराधीहरूको निसानामा उनी परेका होलान् । तर, पनि पङ्क्तिकार यो लेखमार्फत स्पष्टसाथ अनुरोध गर्न चाहन्छ कि रमेश खरेलको काम जनताका लागि प्रहरी अधिकृतहरूको भीडमा अलग छ । त्यो शैलीमा काम गर्न निकै ठूलो त्याग गर्नुपर्छ । क्यासिनोदेखि डान्स रेस्टुरेन्टसम्म, बालुवादेखि ढुङ्गासम्म, हुण्डीवालादेखि तस्करसम्मबाट त्यही पदमा बस्नेहरूले अथाह पैसा कमाएर गएका इतिहास रमेश खरेललाई थाहै थिएन भन्न पक्कै नमिल्ला । उनको कामले आर्थिक घाटामा परेका प्रहरी तथा सरोकारका पक्षहरूले रमेश खरेलको मन एक दिन पग्लेला र फेरि हाम्रो राम्रो दिन सुरु होला भनेर सोचिरहेका छैनन् भन्न पनि सकिन्न । तर, मलाई के लाग्छ भने आज रमेश खरेल जुन आत्मविश्वासका साथ बोल्छन् त्यसको आधार इमान्दारिता नै हो । भलै उनले काम गर्दा केही कुरा गलत हुन सक्ला तर तिनको नियत गलत छैन । जो व्यक्तिको नियत गलत हुँदैन त्यो व्यक्ति आन्तरिक रूपमा बलियो हुन्छ । आन्तरिक रूपको बलियो प्रहरीसँग सबै अपराधी डराउँछन् । अपराध र अपराधीसँगै मिलेर बस्ने प्रहरीको इज्जत खोलाको पानीको फोकाजस्तै हुन्छन् । अलि पर जानेबित्तिकै फुटिहाल्छ । इमान्दारिता आज मुलुकका लागि दुर्लभ वस्तु हुँदै छ । शपथ खाँदाखेरि खाएको इमान्दारिताको कसम सबैले बिरि्ससकेका छन् । जसले सम्झेका छन् तिनले पनि वरिपरि हेरेर त्यसलाई बिर्सनु नै कल्याण हुने ठहर गरेका छन् ।
रमेश खरेलले भित्रबाट के गरेका छन् त्यो मलाई थाहा छैन, तर बाहिरबाट देखिएको उनको एक सच्चा प्रहरी बन्ने प्रयासको खुलेर प्रशंसा गर्नैपर्छ । र, काठमाडौंवासीले पनि त्यस्ता अधिकृतको प्रशंसा र सुरक्षा गर्न सधैं अगाडि बढ्नुपर्छ । जो आफैं कमाउनका लागि काठमाडौंमा आएका छन्, तिनले के काठमाडौंको सुरक्षा गर्लान् – ती व्यक्ति र खरेललाई एउटै ठान्ने हो भने र खरेल कानुन र न्यायका लागि काम गर्दा एक्लै पर्ने हो भने भोलिदेखि को इमान्दार बन्न खोज्लान् – यदि काठमाडौंवासीलाई बहादुर र इमान्दार एसपी चाहिएको छ भने पङ्क्तिकार भन्छ, सबैले सुरक्षा गरौँ एसपी खरेलजस्ता पुलिस अफिसरको ।