प्रचण्डलाई प्रचण्ड धोखा !

प्रचण्डलाई प्रचण्ड धोखा !



सत्ता हस्तान्तरण नभए माओवादी सरकारबाट बाहिरिने निश्चित

prachanda

प्रचण्डले अलिक क्रोधमिश्रित लवजमा ‘सरकार आफूले पनि चलाउन सक्ने’ बताएपछि ओलीले कुटिल मुस्कानसहित भने, ‘हेर्नुस् कमरेड, नेपालमा राष्ट्रवादी हुन केही गर्नुपर्दैन, यसो भारतसँग निहुँ खोजेझैँ गरे पुग्छ, भारतको विरोध गरे पुग्छ, यही काम गरेर हामीले राष्ट्रवादी शक्तिको पहिचान बनाएका छौँ । अब यो पहिचान मेटिन दिनुहुँदैन । भारतसँग आवश्यक परे ठूलै लडाइँ लडेजस्तो पनि गर्नुपर्ने हुन्छ, तपाईं भारतसँग लड्न सक्नुहुन्न । एउटा कोर्ष पूरा हुन दिनहोस्, स्थानीय निर्वाचन सम्पन्न गरौँ, त्यसपछि कुनै उपाय निकालेर सत्ता हस्तान्तरण गरौँला, अहिले त वास्तवमा सत्ता हस्तान्तरण गर्ने संवैधानिक उपाय पनि मैले देखिरहेको छैन ।

‘लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ तीन बल्डयाङ’ भन्ने उखान माओवादी अध्यक्ष प्रचण्डको जीवनमा यतिबेला चरितार्थ भएको छ । नेपाली कांग्रेसजस्तो ऐतिहासिक प्रजातान्त्रिक पार्टीलाई वैशाखी बनाएर प्रधानमन्त्री बन्न आएको अवसर छोडी वामपन्थी गठबन्धन जोगाउने नाममा खड्गप्रसाद ओलीलाई साथ दिने प्रचण्डलाई ओलीले सहजै सत्ता हस्तान्तरण नगर्ने भएका छन् ।

एमालेले वितरणमुखी बजेट बनाउने र त्यसले देशको अर्थतन्त्रमा दीर्घकालिक असर पार्ने अनुमान कांग्रेसले पहिले नै गरेको थियो । त्यसैले प्रचण्डलाई नै सरकारको नेतृत्व दिएर भए पनि ओली नेतृत्वको सरकार विस्थापित गर्ने सोच कांग्रेस नेतृत्वले बनाएको थियो । गत वैशाखको तेस्रो सातामा प्रचण्ड र काङ्ग्ेरस सभापति शेरबहादुर देउवाबीच एक चरणको सम्झौता भइसकेपछि प्रचण्ड वामगठबन्धन जोगाउने नाममा पर्लक्कै पल्टिएर खड्ग ओलीलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिने निर्णयमा पुगेका थिए । त्यसरी प्रचण्डले देउवालाई धोखा दिँदा ओलीले आफू विजयी बनेको ठानेका थिए भने देउवाका आलोचकहरूले चाहिँ ‘देउवा असफल भएको’ भन्दै खुसियाली मनाएका थिए । खड्गप्रसाद ओली ‘पपुलिष्ट’ बजेट पेश गरेर आगामी निर्वाचनका परिणामहरू एमालेको पक्षमा पार्ने कुटिल योजनामा थिए, प्रचण्ड ओलीको सोही योजनाका सहयोगी बनिदिए । स्थानीय निर्वाचनमा चालीस प्रतिशत उम्मेदवार माओवादीलाई दिने गरी चुनावी गठबन्धन गर्ने लोभ पनि ओलीले प्रचण्डलाई दिएको बताइन्छ । बजेट पेश गरेपछि जेठ २० गते प्रचण्डलाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने सङ्केत दिएका ओलीले बजेट पेश भएलगत्तै नौबुँदेबाहेक अर्को कुनै सम्झौता माओवादीसँग नभएको दाबी गरेका छन् ।

ओलीको यस्तो अभिव्यक्तिले प्रचण्डलाई नराम्रोसँग झस्कायो र सोमबार (जेठ १७ गते) बिहान प्रधानमन्त्रीनिवासमै पुगेर उनले ओलीलाई भेटे । प्रचण्डले अब सत्ता हस्तान्तरण गर्ने र भावी सरकारको स्वरूपलगायतका विषयमा समान धारणा बनाऊँ भन्ने प्रस्ताव राख्दा ओलीले प्रचण्डका कुरा ध्यानपूर्वक सुने । तर, सत्ता हस्तान्तरण गर्ने कुरा उनले गरेनन्, बरु प्रचण्डलाई ‘काउन्सिलिङ’ गर्ने प्रयास गर्दै ओलीले भने, ‘तपाईं अहिले मेरै नेतृत्वलाई निरन्तरता दिन सहयोग गर्नुहोस्, वामपन्थीबीच अहिले कायम रहेको युनिटी यथावत् राखौँ, यसलाई दखल पुर्‍याउने काम हामी कसैले पनि नगर्नु राम्रो हुन्छ । तपार्इं यस्तो अवस्थामा सरकार चलाउन सक्नुहुन्न र मैले बीचैमा छोडेर भाग्न पनि मिल्दैन ।’

ओलीका मुखबाट ‘तपाईं सरकार चलाउन सक्नुहुन्न’ भन्ने वाक्यांश सुनेपछि अलिक गम्भीर भएका प्रचण्डले भने, ‘मैले सरकार चलाउन नसक्ने तपाईंले चाहिँ सक्ने भन्ने हुँदैन । गठबन्धन जोगाउने हो भने तपाईंले मलाई सत्ता हस्तान्तरण गर्नुपर्छ, त्यसले हामीबीचको विश्वसनीयता पनि बढाउँछ ।’ यसरी प्रचण्डले अलिक क्रोधमिश्रित लवजमा ‘सरकार आफूले पनि चलाउन सक्ने’ बताएपछि ओलीले कुटिल मुस्कानसहित भने, ‘हेर्नुस् कमरेड, नेपालमा राष्ट्रवादी हुन केही गर्नुपर्दैन, यसो भारतसँग निहुँ खोजेझैँ गरे पुग्छ, भारतको विरोध गरे पुग्छ, यही काम गरेर हामीले राष्ट्रवादी शक्तिको पहिचान बनाएका छौँ । अब यो पहिचान मेटिन दिनुहुँदैन । भारतसँग आवश्यक परे ठूलै लडाइँ लडेजस्तो पनि गर्नुपर्ने हुन्छ, तपाईं भारतसँग लड्न सक्नुहुन्न । एउटा कोर्ष पूरा हुन दिनहोस्, स्थानीय निर्वाचन सम्पन्न गरौँ, त्यसपछि कुनै उपाय निकालेर सत्ता हस्तान्तरण गरौँला, अहिले त वास्तवमा सत्ता हस्तान्तरण गर्ने संवैधानिक उपाय पनि मैले देखिरहेको छैन । त्यसैले बरु मन्त्रिमण्डलमा केही सुधार या फेरबदल गर्नुपर्छ भने गरौँ, सरकार नै बदल्ने कुराचाहिँ अहिलेलाई नगरौँ । त्यो कमल थापा भन्ने व्यक्ति फटाहा हो, यसले खुसुक्क शेरबहादुरलाई भेटेछ । हामी मिल्यौँ भने कसैको केही लाग्दैन ।’

प्रधानमन्त्री ओलीले यसरी सरकार नछाड्ने बताएपछि एकैछिन त प्रचण्ड निकै तनावमा परे । साथीहरूसँग छलफल गरौँला भन्दै उनी ओलीबाट बिदा भए । तर, प्रचण्ड ओलीसँगको संवादपछि अहिलेसम्म निकै तनावमा छन् । उनले ओलीसँग यसै साताभित्र निर्णायक वार्ता गर्ने र सरकारको नेतृत्व परिवर्तन गर्न ओली राजी नभए तत्काल सरकार छोड्ने सोच बनाएको बुझिएको छ । प्रचण्डले ओलीसँग कुन दिन निर्णायक वार्ता गर्ने हुन् सो भने यकिन भइसकेको छैन ।

प्रचण्डले गर्ने भनिएको निर्णायक वार्तामा ओलीले प्रचण्डलाई ‘कन्भिन्स’ गर्न नसकेको महसुस गरे भने उनले सरकार बदल्ने मिति प्रचण्डलाई सुनाइदिन सक्नेछन् र त्यसरी मिति नै बताएपछि प्रचण्ड एकपटक फेरि केही दिन ओलीलाई निरन्तरता दिन राजी हुने सम्भावना छ । ओलीको पृष्ठभूमि र चरित्र हेर्दा उनी अन्तिमसम्म आफ्नो निर्णयमा अडिग रहन सक्ने मानिसको कोटिमा पर्दैनन् । अन्तिम क्षणमा आकस्मिक निर्णय दिएर सबैलाई स्तब्ध पारिदिने ओलीको कार्यशैलीगत विशेषता छ । त्यसैले उनी अचानक प्रचण्डलाई सत्ता हस्तान्तरण गर्न तयार भए भने आश्चर्य हुनेछैन । तर, प्रचण्डलाई सत्ता हस्तान्तरण गर्नुअघि एकपटक ओलीले कांग्रेसको नाडी छाम्ने सम्भावना भने देखिन्छ । स्थानीय निर्वाचन गराउने र त्यसलगत्तै सरकार बदलेर कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन बनाउने कुरामा कांग्रेस सहमत भयो भने ओलीले प्रचण्डलाई पद हस्तान्तरण गर्ने सम्भावना समाप्तप्राय: हुनेछ ।
जे होस्, यतिबेला वाम गठबन्धनमा परिणाममुखी खटपट शुरु भएको छ । यसको व्यवस्थापन परिपक्व ढङ्गबाट हुन सकेन भने ओली नेतृत्वको सरकार बजेटसमेत पारित नगरीकन विस्थापित हुने सम्भावना प्रबल हुँदै गएको छ ।