‘गोर्खाली’ गौरवगाथामा कलङ्क ?-प्रकाश के.सी.

‘गोर्खाली’ गौरवगाथामा कलङ्क ?-प्रकाश के.सी.


नाम सार्वजनिक नगरिएका एक गुर्खा सिपाहीले एक अफगानी मृत ‘वार लर्ड’को शिर काटेको घटनालाई अहिले पश्चिमा मिडियाले महत्त्वका साथ टिप्पणी गरिरहेका छन् । गुर्खाको ऐतिहासिक पाटोसँग तुलना गरेर यसलाई गुर्खाको त्यो गौरवशाली इतिहासलाई नै कलङ्कित तुल्याउने प्रयत्नसमेत एकातिर हुँदै छ । पक्कै पनि लडाइँमा प्रयुक्त खुकुरी र त्यसलाई प्रयोग गर्ने नेपालीलाई गुर्खा इतिहास र टाउको काटिएको घटनाबाट पृथक राख्न सकिँदैन । नाम कमाउन वा विश्वास जित्न त्यत्तिको गाह्रो हुँदैन, जति त्यसलाई कायम राख्न कठिन पर्छ भन्ने मान्यता यस प्रसङ्गमा स्मरणीय भएको छ । खुकुरीको प्रयोगले नै गुर्खा नाम विश्वमा प्रसिद्ध हुन पुग्यो र सो खुकुरी नै गुर्खा चिनाउने निसानको रूपमा रह्यो, तर त्यही खुकुरीले यदाकदा गुर्खालाई विवादमा तानिदिन्छ ।

अहिले संसारभर सञ्चालनमा ल्याइएका नेपालीलाई रोजगारी दिने सेक्युरिटी कम्पनीहरूले पनि उही ‘क्रस खुकुरी’कै निसानलाई ‘लोगो’स्वरूप प्रयोग गरिरहेका छन् । अत: अवश्य नै खुकुरीको ‘करामत’बाट आरि्जत प्रसिद्धिलाई धान्नका लागि कुनै न कुनै रूपमा आम वा गैरगुर्खाबाट वफादारी, बहादुरी, इमान्दारी वा विश्वसनीयताको प्रदर्शनी गरिएकै हुन्छ । सानो, ठूलो, अग्लो, होचो जस्तोसुकै हालतका गुर्खालाई पनि गुर्खा इतिहासको चर्चामा वा सम्झनामा गौरवको अनुभव हुन्छ । यस यथार्थबीच अफगानिस्तानको हेलमण्ड प्रान्तमा एक गुर्खा सिपाहीले मरिसकेका तालेवानी कमान्डरको टाउको प्रमाणको लागि काटेर ल्याएको घटनापछि सहकर्मी वा अन्य गुर्खाको छातीमा कस्तो किसिमको अनुभूति मडारिएका होलान् ?

वास्तवमा अफगानिस्तान या इराकमा लडाइँका नाम, कारण वा वहानाहरू जे-जस्तो भन्ने गरिएका भए पनि त्यसको मूल मर्म भनेको अपमानसँग सम्बन्धित छ । अर्थको अनर्थ लाग्ला, तर यहाँ भन्न खोजिएको यो हो कि मुस्लिमहरूको अपमान वा इस्लामको अपमान नै यी युद्धहरूको मूल मर्म हो । धर्म तथा तिनका विचारहरूले मानव सभ्यतामा विविध वा प्रकारविशेषका पथहरूको निर्माण गर्छन् । ती पथले अनुयायीहरूलाई अर्को आन्तरिक पथभित्र डोर्‍याएर अर्कै स्वविशेषको विचार तयार पार्छ र सोसँगै अनुबन्धित गराउन खोज्छ । यो सबैमा समान रूपले लागू हुन्छ, कोही ‘अल्प’ भिज्छन् भने कोही ‘समूल’ । क्रिश्चियन, हिन्दू, बौद्ध वा इस्लाम सबै यही परिवृत्तिबाट गुज्रने एक सञ्जाल मात्रै हुन् । सबैको एक ‘कडी’ कतै छ र त्यसले नै इतिवृत्तमा ‘अस्त’ लेख्छ, योचाहिँ प्रकारविशेषका अनुयायीहरूले बुझ्न नसकेको दिग्दारी हो । वर्तमान परिप्रेक्ष्यमा अनवरत रहेका लडाइँमा ओसामा बिन लादेन, सद्दाम हुसेनहरू कारण नभई नियति मात्र हुन् ।

अमेरिका, बेलायतलगायतका मिडियाहरू ‘दिल र दिमाग’लाई जित्ने प्रयत्नमा लाग्ने विदेशी सेना अहिले इराक र अफगानिस्तानमा प्रशस्तै रहेका बताउँदै छन् । यस्तो परिवेशमा बीचैमा विरोधाभासपूर्ण घटनाहरू घट्दछन् । कतिपय घटनालाई संवेज्ञहीन मात्रै नठानी मनोविज्ञानको दृष्टिमा संवेज्ञशील पनि मानिएको छ, तर राजनीतिक दृष्टिकोणमा ती अक्षम्य कार्यहरू हुन् र नियम-कानुनको दायरामा ती सजाय भोग्न बाध्य प्रकृतिका हुन्छन् । कुनै पनि हत्या जायज हुँदैन, चाहे त्यो शत्रुकै किन नहोस् । तर पनि कथाहरूमा, गाथाहरूमा हत्यालाई गौण राखी त्यसलाई सम्पन्न गर्नेहरूका बहादुरीलाई बढावा दिइन्छ । युद्धमा जे पनि जायज भन्ने लोकोक्ति मात्र हो, वास्तविकतामा त्यसरी ‘जे पनि’लाई जायज बनाउन सकिँदैन । तथापि, यहाँ सवाल उब्जन्छ- उक्त लडाइँको मैदानमा मर्न सक्ने अनि मारिन सक्ने अवस्थामा गएका एक गुर्खाले शत्रु पक्षको मृत नाइकेको टाउको काटेर ल्याएकोमा किन सर्वत्र विवाद, अपजस वा अप्ठ्यारो पैदा गराएको छ – उक्त नाइकेको लास ल्याउनू भनी उर्दी दिने हाकिमहरूका अगाडि सो उसको शिर पुर्‍याउनुमा के अन्तर थियो र ? गोली तथा बारुदहरूको पारस्परिक वर्षा भइरहेको उक्त स्थलमा सो नाइकेको टाउकोबाहेकका सबै अङ्ग ध्वस्त भएको हुन सक्थ्यो, बाँकी शरीर सम्हाल्नै नसक्ने हालतमा हुन सक्थ्यो तर ‘लास’ र ‘टाउको मात्रैको लास’मा किन यत्रो ठूलो विवाद आयो होला ?

हो, यहाँ माथि उल्लेख गरिएअनुसार सम्मान र अपमानकै प्रसङ्ग अगाडि आएको छ । आरोप लगाउने पक्षले मुस्लिमहरूको धर्म तथा परम्पराको कुरा गर्न थालेका छन् । मृत शरीरको अपमान भएको भनिएको छ र मुस्लिम परम्परालाई तिरस्कार गरिएको आक्षेप थोपरिएको छ । यो कुनै नयाँ होइन, कालान्तरदेखि नै हुँदै आएको कुरा हो र त्यही अपमानकै जडबाट यावत् लडाइँहरू भइरहेका छन् । तर्सथ यहाँ प्रश्न खडा हुन्छ- कुखुराको घाँटी रेटेजस्तो गरी अन्य देशका निर्दोष र निहत्था व्यक्तिहरूको हत्या गर्नेहरूका लासबाट काटिएको टाउकोको बारेमा यत्रो लामो बखेडा किन ?

एकपटक फेरि सिपाहीहरू फगत एक गोटी मात्रै हुने क्रमिकताको निरन्तरता देखिँदै छ । लडाइँको मैदानमा सक्रिय रूपमा जाग्ने एक आमसिपाहीको बहादुरी, लगनशीलता अनि कर्तव्यपरायणताको यसरी खिल्ली उडाइँदै छ । गत केही हप्ताअगाडि मुस्लिम मूलको बेइज्जत गरिएको भनी एकै मोर्चामा साथीका रूपमा रहेका स्थानीय अफगानी सिपाहीबाट मारिएका गुर्खा सिपाहीको मृत्युको बदलामा गरिएको कार्य पनि नमान्ने अधिकारीहरूले अब सो गुर्खालाई कोट्रमार्सल गर्ने पक्का भएको छ । यसको कारण राजनीतिक मात्रै भएकोले उक्त गुर्खा सिपाहीलाई कर्तव्यपरायणताका लागि दण्डको भागीदार बन्न नदिन सम्बद्ध गुर्खा सिपाहीहरूले एकजुट भई आवाज उठाउन जरुरी देखिएको छ ।

तर, यहाँनेर सिक्काको अर्को पाटो पनि छ । गुर्खाको विश्वप्रसिद्ध कथाहरू छन् । ती कथालाई व्याख्या गरेर नथाक्ने अनेकौँ समकक्षी विदेशी छन् । विगतमा गुर्खाहरूलाई विशेष रूपमा मारिएका शत्रुहरूको प्रमाण ल्याउनका लागि भनिन्थ्यो । जापानिजहरूका टाउका बोराभरि लादेर आउने गुर्खा इतिहास अझै सम्बन्धितहरू रोचक किसिमले बताउँदछन् । त्यो क्रमको अर्को चरणमा टाउकाका बदलामा कानहरू ल्याइन थालिए । लडाइँका शैली वा तौरतरिकाहरू फरक भएका छन्, ‘ह्युमन राइट्स’का कुरा उठ्न थालेका छन् । लडाइँको मैदानमा मर्नु र मारिनु ‘जायज’ र अतिरिक्त हुनु ‘नाजायज’ मानिन थालिएको छ । तर, त्यो आफ्नो ठाउँमा छ । सवाल गुर्खाहरूको ‘लेगेसी’को हो । जब गुर्खाको प्रसङ्ग आउँछ तब स्वत: ‘खुकुरी’ जोडिएर आउँछ । पश्चिमेलीहरू भन्छन्, ‘गुर्खाले बन्दुकभन्दा खुकुरीलाई विश्वास गर्छन्, गुर्खाले दापबाट खुकुरी निकालेपछि रगत नचखाई वापस राख्दैनन्’…आदि । यो कत्तिको सार्थक हो आफ्नै ठाउँमा होला, तर यहाँ ‘प्रसिद्धि’को कुरा छ, र त्यही प्रसिद्धिसँग गाँसिएको ‘विश्वसनीयता’को कुरा छ, अनि साथसाथै शाश्वत टाँसिएको ‘बहादुरी’को कुरा छ । ‘गुर्खा, बन्दीहरूलाई वा शत्रुहरूलाई पनि इज्जत गर्ने जाति हुन्, गुर्खा तबसम्म लड्दैनन् जबसम्म तिनलाई ‘ती शत्रु हुन् र तिनलाई मार भनिँदैन’ जस्ता भनाइ ‘मिथ’कै रूपमा सर्वत्र सुनाइन्छ । लछिमन गुरुङले हात र गोडा गुमाउँदा पनि तीसौं जापानिजलाई मारेका र सयौँलाई भगाएका कथा हरेक गुर्खाहरूले गौरवको रूपमा लिनुपर्ने कथा हो । ‘खुकुरीले छप्काएर शत्रुको मासु खाने गुर्खा जाति हुन्’ भन्ने हल्ला सुनेकै भरमा अर्जेन्टिनी सिपाहीहरू आफ्नो पोस्ट छाडेर भागेका अर्को कथा भन्दै कैयन गुर्खा रमाइलो मान्छन् होला अझै । तर, अब तिनले ‘गुर्खा सिपाहीले मृत शत्रुको टाउको काटेर निसानी लगेको’ कुरा या कथालाई कसरी लेलान् ? ‘दे किल हट ब्लड, नट दी कोल्ड ब्लड’ भन्ने गुर्खा इतिहासविद्हरूका विश्वासको आधार नखस्केला त ? दापबाट निकालिएको खुकुरीले मृत शरीर छप्काएको ‘गाथा’ अब कस्तो सुनिएला ? यस्ता हजारौं कथाको प्रभाव आगामी पुस्ताका गुर्खा सिपाहीले कसरी
भेट्लान् ? अहिलेको आमगुर्खा चासो हो ।

एक हिसाबले सो घटना अति नै बर्बर हो भने अर्को पक्षबाट आम र सशक्त पनि हो । गुर्खाली बहादुरीको परम्परालाई आफूले निरन्तरता दिएको मान्यता सम्बन्धित गुर्खा सिपाहीले राखेका हुन सक्छन् । उनीलगायतका आमगोर्खाको उत्साहलाई मर्न दिन एकातिर हुँदैन भने अर्कातिर उक्त कार्यले सिङ्गो गुर्खा इतिहासलाई ‘कलङ्िकत’ पारेको पनि मनन गर्न सक्नैपर्छ । यो यस्तो पल हो जहाँ सम्बन्धित पक्षहरू अति ‘र्‍यासनालाइज्ड’ हुनु जरुरी छ । त्यसैले ‘कन्डेम्न्ड’ र ‘प्रेइज्ड’ अनि ‘पनिस्ड’ र ‘रिवार्डेड’मध्येको ‘बीच बाटो’लाई सम्बन्धितहरूले लिनु अहिलेको अवस्थामा युक्तिसङ्गत ठहरिनेछ । (लन्डन, यूकेबाट)