आत्मघाती आक्रमणबाट अफगानिस्तानमा चौध नेपालीको मृत्यु

आत्मघाती आक्रमणबाट अफगानिस्तानमा चौध नेपालीको मृत्यु


Kabul 1

अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान भएको बम आक्रमणमा परी १४ जना नेपालीको ज्यान गएको पुष्टि भएको छ । त्यस आक्रमणमा परी अरु नौ जना घाइते भएका छन् । अफगानिस्तानको गृहमन्त्रालयलाई उद्धृत गर्दै समाचार एजेन्सीहरुले जनाएअनुसार सोमबार बिहान उनीहरु चढेको बसमा एकजना आत्मघाती व्यक्तिले बम विस्फोट गराएको थियो । त्यस विस्फोटमा परी १४ जनाको घटनास्थलमै ज्यान गएको छ भने मारिने १४ जना नेपाली नागरिक भएको जानकारी सो मन्त्रालयले गराएको छ ।

सोमबार बिहान नेपाली सुरक्षा गार्डहरू चढेका दुई बस काबुलस्थित क्यानेडियन दूतावासका लागि छुटेका थिए । एउटा बस दूतावास पुग्यो, तर अर्को पुग्न पाएन । पहिलो बस क्रस भएलगत्तै दोस्रो बसमा विष्फोट भएको थियो । बताइएअनुसार काबुलस्थित क्यानेडियन दूतावासमा सुरक्षा जिम्मा बेलायती सेक्युरिटी कम्पनी सेबरले लिएको छ । उक्त कम्पनीले नेपालका भूपू सैनिकहरुलाई दिल्ली हुँदै अफगानिस्तानको राजधानी पु¥याएको थियो । दूतावासमा झण्डै डेढ सय नेपाली सुरक्षागार्डका रुपमा कार्यरत छन् । कामदार लिएर गएको बसलाई राजधानी काबुलमा बिहान ५।४० बजे नै आक्रमणकारीहरुले निशाना बनाएका थिए ।

उक्त बसलाई निशाना बनाएर एक हमलाकारीले आत्मघाती बम हानेको र त्यस आक्रमणबाट आक्रमणकारी र उक्त बसमा रहेका १४ जनाको ज्यान गएको गृहमन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । घाइते भएका नौ जनामा पाँचजना नेपाली र अरु चार अफगान नागरिक रहेका छन् । काबुलनजिकैको पुल इ चर्खी सडकमा बस गुडिरहेका बेला एकजना आत्मघातीले बसलाई नै ताकेर विस्फोट गराएको थियो ।

आक्रमणकारी आत्मघातीले बसलाई ताकेर आफैमाथि बम विस्फोट गराएको थियो । आक्रमणकारीको पनि घटनाहस्थलमै निधन भएको बताइन्छ । सो आक्रमणपछि त्यस वरपरका अरु सवारी साधनमा पनि क्षति पुगेको छ । घटनास्थल वरपरका घर पसलहरुमा पनि ठूलो क्षति पुगेको अधिकारीहरुले जनाएका छन् ।

यस आक्रमणको अफगानिस्तानको तालिवान संगठनले जिम्मेवारी लिएको छ । तालिवान प्रवक्ता जबिउल्लाह मुजाहिदले सोमबार बिहानै विज्ञप्तिमार्फत सो जिम्मेवारी लिएको काबुलबाट प्राप्त समाचारमा जनाइएको छ । अफगानिस्तानका कार्यकारी प्रमुख अब्दुल्लाह अब्दुल्लाहले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । कार्यकारी प्रमुख अब्दुल्लाह र यहाँको गृहमन्त्रालयले उक्त बम हमलाको निन्दा गर्नुभएको छ ।
Kabul 3