चिकित्सक सक्कली, प्रमाणपत्र नक्कली !

चिकित्सक सक्कली, प्रमाणपत्र नक्कली !


nakkali-doctor

नेपाल प्रहरीको अपराध अनुसन्धान ब्युरोले नक्कली प्रमाणपत्रधारी चिकित्सकको पहिचान गर्ने क्रममा नियन्त्रणमा लिइएका ३६ व्यक्तिमध्ये कतिपय प्रतिष्ठित व्यक्तिको पारिवारिक सदस्य र नातेदारहरूसमेत परेका छन् । प्रहरीले पहिलो चरणमा बिहार विश्वविद्यालयअन्तर्गत अध्ययन गरेका चिकित्सकलाई केन्द्रित गरेर अनुसन्धान गर्दा ३६ जनाको शैक्षिक प्रमाणपत्र नक्कली भएको ठहर गरेको हो । यीमध्ये अधिकांशले आईएस्सी तहको नक्कली प्रमाणपत्र पेस गरी एमबीबीएस र एमडीसम्मको अध्ययन गरेको प्रहरी सूत्रले बताएको छ ।

पक्राउ परेका ३६ मध्ये अधिकांशले एमबीबीएस र एमडीको नक्कली प्रमाणपत्र पेस गरेको नभई उनीहरूले चिकित्साशास्त्र अध्ययनको अवसर पाउन मात्र आईएस्सीको नक्कली प्रमाणपत्र प्रस्तुत गरेको पाइएको प्रहरीको दाबी छ । गत शुक्रबार पक्राउ परेका सबैलाई अनुसन्धानका निम्ति थप पाँच दिन अदालतको अनुमतिले हिरासतमा राखिने भएको छ । तर, सर्वोच्च अदालतमा चिकित्सकका तर्फबाट दिइएको एक रिट निवेदनमा सुनुवाइ गर्दै न्यायमूर्ति जगदीश पौडेलले तीन दिनभित्र थुनामा रहेका चिकित्सकलाई अदालतमा उपस्थित गराउन आदेश दिनुभएको छ । सर्वोच्चको आदेशपछि थुनामा परेका चिकित्सकहरूमध्ये ‘सक्कली’हरूले आफूलाई सक्कली प्रमाणित गर्न चाँडै नै मौका पाउने सम्भावना बढेको छ ।

पक्राउ परेकामध्ये स्वामी आनन्द अरुणकी छोरीज्वाइँ सञ्जयकुमार दास, प्रहरी उपरीक्षक सुवास आचार्यका भाइ सुनील आचार्य, अर्का प्रहरी उपरीक्षक सूर्यप्रसाद आचार्यका भाइ बोदित आचार्य, वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाकी सुपुत्री र नातामा डा. रामशरण महतकी बुहारी पर्ने निलिमा खड्का महत रहेका छन् । पक्राउ परेका चिकित्सकहरूमध्ये केहीले आफ्नो शैक्षिक प्रमाणपत्र सक्कली भएको र सक्कली भएको प्रमाणित गर्ने दृढता व्यक्त गरेका छन् । प्रहरीले भने प्रमाणपत्र नक्कली भएको पाइएपछि मात्र कारबाही प्रक्रिया अघि बढाइएको दाबी गरेको छ । केही महिना अघिदेखिको अनुसन्धान र छानबिनपश्चात् दोषी देखिएकालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यस प्रकरणले चिकित्साजस्तो संवेदनशील क्षेत्रसमेत अविश्वसनीय भएको आशङ्का बढाएको छ । प्रहरीले देशमा करिब तीन हजार नक्कली प्रमाणपत्रधारी डाक्टर भएको अनुमान गरेको छ । हाल बिहार विश्वविद्यालयअन्तर्गतको शैक्षिक प्रमाणपत्र मात्र छानबिनको दायरमा ल्याइएकोमा भविष्यमा अन्य विश्वविद्यालयअन्तर्गतका प्रमाणपत्रमाथि पनि अनुसन्धान थालिने प्रहरीले बताएको छ ।