काङ्ग्रेसमा आएको क्रमभङ्गता र अबको बाटो

काङ्ग्रेसमा आएको क्रमभङ्गता र अबको बाटो


Indra Baral 2

– इन्द्रबहादुर बराल

नेपाली कांग्रेसको १३औँ महाधिवेशनले त्याग, तपस्या, योगदान बोकेका इमानदार एवम् निरन्तर लगनशील अनुहारहरूलाई नै केन्द्रीय नेतृत्वमा पुर्‍याएको छ भन्दा अत्युक्ति नहोला । परिवारकेन्द्रित बन्दै गएको कोइराला परिवारको विरासत भत्काउँदै नयाँ नेतृत्वमा शेरबहादुर देउवालाई स्थापित गराएको र पार्टीभित्र राम्रै छवि बनाएका रामचन्द्र पौडेललाई ‘वरिष्ठ नेता’को दर्जा दिलाएको सन्दर्भ सामयिक छ । देउवाले सजिलै अहिलेको जिम्मेवारी पाएका होइनन् । पार्टीको १०औँ महाधिवेशनदेखि नै सभापतिको प्रत्याशी बन्दै उनले गिरिजाप्रसाद कोइरालालाई आन्तरिक लोकतान्त्रिक अभ्यासको माध्यमबाट चुनौती दिने हिम्मत दर्शाएका थिए । त्यो साहसलाई निरन्तरता दिँदै कार्यकर्तालाई आड–भरोसा प्रदान गरिआउँदा अन्तत: १३औँ महाधिवेशनबाट सफलता हात लागेको हो । समय–सान्दर्भिक रूपमा अनेक क्रान्तिकारी कदम चाल्न सक्ने दृढ र इमानदार प्रयासले नै शेरबहादुर देउवालाई मुलुकको एक मात्र लोकतान्त्रिक पार्टीको शीर्ष नेतृत्वमा विराजमान गराएको हो ।

एउटै व्यक्ति वा परिवारका सदस्यहरू लामो समयसम्म पार्टी वा सरकारको हाइकमाण्डमा रहिरहँदा स्वभावैले त्यस्तो व्यक्तिलाई निरङ्कुशतातर्फ धकेल्दोरहेछ भन्ने उदाहरण बन्न पुगेको थियो काङ्ग्रेसभित्र कोइराला–परिवारवाद । १३औँ महाधिवेशनले एउटा परिवारवादको निरन्तरतालाई पूर्ण क्रमभङ्ग गर्न नसके पनि परिवारवादको घेराबाट बाहिर निस्कन काङ्ग्रेसलाई अभिप्रेरित भने गरेको छ । पौडेललाई अगाडि देखाएर बीपीपुत्र डा. शशाङ्कदेखि डा. शेखर कोइराला र सुजाता कोइराला पनि पार्टीको उच्चस्थान ओगट्न सफल भएबाट परिवारवादको अवशेष कायमै रहेको र भविष्यमा पुन: त्यो टुसाउन सक्ने सम्भावना पनि रहेको छ । तर, गिरिजाप्रसादकै शैलीमा परिवारवाद अघि बढाउन भने अबका दिनमा कसैलाई पनि सहज होला भन्न सकिन्न ।

तथापि, राजनीतिमा विशेष परिस्थिति वा परिवेशमा स्थापित परिवारका सन्ततीहरूमाथि स्वभावैले ‘पानी बगेको ठाउँमा चिसो हुन्छ’ भन्ने उखान चरितार्थ हुँदोरहेछ । त्यसको ज्वलन्त उदाहरण डा. शशाङ्क कोइराला हाम्रासामु छन् । नेपाली राजनीतिमा डा. शशाङ्कको प्रवेशले प्राय: कांग्रेसजनलाई अवश्य खुसी तुल्याएको हुनुपर्छ । तर, नेतृत्व विकास नगर्ने केवल पारिवारिक विरासतका गाथाले मात्रै नेपाली जनताको मन जित्न कठिन हुन्छ । हरेक कांग्रेसजनले आफ्ना संस्थापक नेता जननायक बीपी कोइरालाले छोडेका राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्शलाई व्यवहारमैत्री बनाउनेतर्फ ध्यान पुर्‍याउनुपर्छ । त्यस्तै, सर्वोच्च नेता गणेशमान सिंह र सन्तनेता कृष्णप्रसाद भट्टराईहरूबाट पनि त्याग र क्षमाशीलताको पाठ सिक्नैपर्छ । यसो भएमा सिङ्गो पार्टी परिवारवादको भुमरीमा पर्नेभन्दा आन्तरिक लोकतन्त्रको अभ्यासबाट अघि बढ्ने सम्भावना विस्तारित भइरहन्छ । यस परिवेशमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी दिनमा पार्टी नेतृत्व सर्वसाधारण नागरिककै पोल्टामा पारिराख्ने हो भने सभापति देउवालाई प्रतिस्पर्धी होइन सहयोगीको रूपमा हेर्नु र त्यहीअनुसार काम गर्नु अपरिहार्य छ ।

यी त भए काङ्ग्रेस पार्टीको आन्तरिक परिवेशको पाटो । मुलुकको विकसित राजनीतिबीच ठूलो दल भएर पनि प्रतिपक्षमा रहन पुगेको नेपाली काङ्ग्रेसले देशलाई निकास दिने सवालमा निर्वाह गर्नुपर्ने भूमिकाको पनि लेखाजोखा हुनु आवश्यक छ । वास्तवमा काङ्ग्रेसको केन्द्रीय नेतृत्वसमक्ष यतिबेला चुनौतीका पहाड तेर्सिएका छन् । कथित राष्ट्रवादको आवरणमा आफूलाई कम्युनिस्ट भन्ने शक्तिहरू यतिबेला ‘लोकप्रिय बजेट’ ल्याई ‘भुइँमा न भाँडोमा’ भन्ने अवस्थामा देखिएका छन् । तसर्थ, नेपाली कांग्रेसले आफ्ना कदममा रणनीतिक परिवर्तन ल्याउँदै कार्यकर्ताको मनोबल उच्च राख्न कत्ति ढिलाइ गर्न हुँदैन । गत वर्षको असोज २४ गते तात्कालिक पार्टीसभापति सुशील कोइरालाले चालेको कदमका कारण काङ्ग्रेसविरोधीहरूले नेपाली काङ्ग्रेसलाई लाञ्छित गर्ने अवसर पाए । त्यसले आमजनतालाई दिग्भ्रमित तुल्यायो भने कांग्रेसजनमा एक हदसम्म निराशा फैलाइदियो । त्यस्तै, आ.व. ०७३/७४ को वार्षिक बजेटले पनि केही कांग्रेसजनमा खिन्नता पैदा गरिदिएको अनुभूति गरिएको छ । त्यसकारण कांग्रेसको नयाँ नेतृत्वले आमकार्यकर्तामा देखिएको निराशा वा खिन्नतालाई छिचोलेर उत्साह जगाउन गाउँगाउँ, जिल्लाजिल्लामा ठोस कार्यक्रम अघिसार्नु आवश्यक छ ।

तात्कालिक पार्टीसभापति सुशील कोइरालाले गत वर्ष असोज २४ मा चालेको कदमका कारण काङ्ग्रेसविरोधीहरूले नेपाली काङ्ग्रेसलाई लाञ्छित गर्ने अवसर पाए । त्यसले आमजनतालाई दिग्भ्रमित तुल्यायो भने कांग्रेसजनमा एक हदसम्म निराशा फैलाइदियो । त्यस्तै, आ.व. ०७३/७४ को वार्षिक बजेटले पनि केही कांग्रेसजनमा खिन्नता पैदा गरिदिएको अनुभूति गरिएको छ । त्यसकारण नेपाली कांग्रेसले आफ्ना कदममा रणनीतिक परिवर्तन ल्याउँदै कार्यकर्ताको मनोबल उच्च राख्न कत्ति ढिलाइ गर्न हुँदैन । कांग्रेसको नयाँ नेतृत्वले आमकार्यकर्तामा देखिएको निराशा वा खिन्नतालाई छिचोलेर उत्साह जगाउन गाउँगाउँ, जिल्लाजिल्लामा ठोस कार्यक्रम अघिसार्नु आवश्यक छ ।

विगतमा कांग्रेस पार्टीले लिएका नीति तथा कार्यक्रम वा सञ्चालन गरिएका प्रशिक्षण कार्यक्रमहरू पनि त्यति प्रभावकारी थिएनन् कि भन्ने महसुस गरिँदै छ । जस्तो पार्टी सरकारमा भएका बखत भए–गरेका जनपक्षीय कामको चर्चा पार्टीको प्रशिक्षणमा गरेको पाइएन । मोहीलाई दिइएको ५० प्रतिशत स्वामित्वलाई कांग्रेसले गरेको महत्त्वपूर्ण सुधारवादी कामको रूपमा कार्यकर्तासम्म पुर्‍याउन तत्कालीन संस्थापन पक्षले कञ्जुस्याइँ गरेकै थियो भन्नुपर्छ । त्यस्तै, कमैया मुक्तिका बारेमा पनि जनतासम्म सन्देश पुर्‍याउन किन हो आनाकानी गरिएको थियो । समावेशी लोकतन्त्रको प्रयोग र अभ्यास पनि देउवाले गरेका थिए, तर त्यो सन्देश पनि पार्टीले प्रशिक्षणमार्फत दिन चाहेन । दलित महिला, मानवअधिकार तथा सुशासनका पक्षमा भए–गरेका कामको सकारात्मक सन्देश दिने प्रयत्नै गरिएन । अब ढिलै भए पनि ती कमी–कमजोरी सच्याउनेतिर लाग्नुपर्छ । कांग्रेस सत्तामा भएका बखत जनताका पक्षमा भए–गरेका कामको विस्तृत जानकारीका साथ कांग्रेस वृत्तमा उत्साह जगाउने खालका कार्यक्रम जिल्ला–जिल्ला, गाउँ–गाउँसम्म पुर्‍याउनुपर्छ ।

वामवर्चश्वयुक्त ओली सरकार एकपछि अर्को सपना बाँड्न उद्यत् छ । सत्तामोहले जनतालाई सपना बाँड्ने त कम्युनिस्टहरूको परम्परा नै हो । तथापि, जनताको पक्षमा व्यक्त गरिएका कुरामा कांग्रेसले साथ छोड्न हुँदैन । त्यसबाट तर्सनु पनि पर्दैन । पार्टीका संयन्त्रहरू पूरै परिचालन गराउँदै विकास निर्माणका काममा पनि पार्टीका कार्यकर्ताहरू सघन रूपमा परिचालन गराउनुको अब विकल्प छैन । साथै, राष्ट्रियताको सवालमा एउटा छिमेकीसँग जोरी खोज्दै अर्कोसँग घुँडा टेक्ने होइन भन्ने यथार्थलाई पनि बुझ्न–बुझाउन आवश्यक छ । नेपालको राष्ट्रवाद र राष्ट्रियता अनि भौगोलिक अखण्डताको निरन्तरता र उच्च स्वाभिमान नेपालीको सम्मान हो । नेपाली गर्धन थाप्न तयार छन्, तर स्वाधीनता, राष्ट्रियता र भौगोलिक अखण्डतामाथिको आँच आएको पटक्कै सहँदैनन् । यही सन्देश लिएर केन्द्रबाट जिल्ला–जिल्ला र गाउँ/नगर/वडासम्म कार्यकर्ताहरू नयाँ जोस, जाँगर र उत्साह बोकेर पठाउन अब विलम्ब गर्नुहुँदैन । मुख्य कुरा के भने नेपाली कांग्रेस जनताको पार्टी हो, कुनै परिवारविशेषको विरासत मात्र होइन, त्यसको क्रमभङ्गता भइसकेको छ, आगामी दिनमा योग्यता, क्षमता र निरन्तरताको आधारमा पार्टीनेतृत्वमा जो पनि स्थापित हुन सक्छ भन्ने सन्देश दिन सक्नुपर्छ । बाँकी कुरा समयले निर्धारित गर्दै जाने नै छ ।