आठौँपटक स्थगित नभए साउनमा नेविसङ्घको महाधिवेशन

आठौँपटक स्थगित नभए साउनमा नेविसङ्घको महाधिवेशन


दर्जनभन्दा बढी अध्यक्षका प्रतिस्पर्धी

आनन्द त्रिपाठी  मनोजमणि आचार्य जितजंग बस्नेत नैनसिँह महर

महाधिवेशन गर्न भएको आठौँ प्रयास सफल भयो भने नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको एघारौँ महाधिवेशन आगामी साउन २३, २४ र २५ गते काठमाडौंमा हुने भएको छ । नेविसङ्घको विधानमा हरेक दुई वर्षमा अधिवेशन गर्नुपर्ने व्यवस्था भए पनि २०६४ सालमा दशौँ महाधिवेशन भएयता सङ्घको अधिवेशन हुन सकेको छैन । यसअघि सातपटक महाधिवेशनको तिथि तय भएर पनि सातैपटक अन्तिम अवस्थामा आएर स्थगित हुने गरेको थियो । त्यसैले यसपटक पनि निर्धारित मितिमा महाधिवेशन सम्पन्न हुन्छ भन्नेमा विद्यार्थी नेताहरू विश्वस्त हुन सकेका छैनन् ।

तथापि, अधिवेशनमा सङ्घको अध्यक्ष बन्ने प्रतिस्पर्धामा उत्रन करिब एक दर्जन विद्यार्थी नेताले आफूलाई अगाडि सारेका छन् । कतिपय विद्यार्थी नेता पार्टीनेताको आशीर्वाद लिएर मैदानमा आउने तयारी गर्दै छन् भने कतिपयले एउटा गुटविशेषको प्रतिनिधि बनेर मैदानमा उत्रने जाँगर चलाएका छन् । केही विद्यार्थी नेताहरूले चाहिँ गुटको राजनीति अन्त्य गर्नुपर्ने नारासहित चुनावी मैदानमा आउने तयारी गरिरहेका छन् । मनोजमणि आचार्य र नीलकण्ठ रिजालले नेता रामचन्द्र पौडेलको आशीर्वाद प्राप्त गर्न कसरत गरिरहेका छन् । आफूलाई उम्मेदवार बनाए विश्वप्रकाश शर्माको समेत सहयोग हुने र विजय बन्न सकिने भन्दै मनोजले पौडेल पक्षको उम्मेदवार बन्ने प्रयास गरिरहेका छन् । नीलकण्ठ रिजालभन्दा मनोज बलियो भएकोले अन्तत: रामचन्द्र पौडेल पक्षले मनोजमणिलाई नै अध्यक्षको उम्मेदवार बनाउने सम्भावना छ ।

त्यसैगरी सभापति शेरबहादुर देउवाको समर्थन प्राप्त गर्न नैनसिंह महर र जितजंग बस्नेतबीच प्रतिस्पर्धा चलेको छ । महर र बस्नेत दुवै बलिया उम्मेदवार मानिन्छन्, तर बस्नेतको उमेर अलि बढी भएकोले विद्यार्थीले उनको विकल्पलाई साथ दिने हुन् कि भन्ने अनुमान कतिपयले गरेका छन् । सभापति देउवाको समर्थन प्राप्त गर्न सके भने महरले मनोजमणिलाई रामै्रसँग टक्कर दिने विश्वास गरिन्छ । पार्टीमा बिरालो चालले आफ्नो बेग्लै सञ्जाल निर्माण गर्ने प्रयासमा रहेका नेता कृष्णप्रसाद सिटौलाले पनि नेविसङ्घको अध्यक्षमा आफ्नो बेग्लै उम्मेदवार खडा गर्ने योजना बनाएका छन् । उनले विद्यार्थी नेता कुन्दन काफ्लेलाई अध्यक्षको उम्मेदवार बनाउने सम्भावना छ ।

०४६ देखि निरन्तर विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका आनन्दराज त्रिपाठीले भने सबै नेताहरूको समर्थन लिएर अध्यक्षको उम्मेदवार बन्ने प्रयास गरेका छन् । यसअघि दुई कार्यकाल केन्द्रीय सदस्यको जिम्मेवारी पूरा गरिसकेका आनन्दले गुटविहीनताको नारा दिएका छन् । सबैको समर्थन लिन खोज्दा कुनै पनि नेताको समर्थन नमिल्ने खतरा रहँदारहँदै पनि उनले गुटबन्दीलाई निरुत्साहित गर्न दर्शाएको प्रतिबद्धताको विद्यार्थीले उच्च प्रशंसा भने गरेका छन् । त्यसैले आनन्द पनि अध्यक्षको बलियो उम्मेदवारका रूपमा गनिएका छन् । यीबाहेक सरोज थापा, विनिता अधिकारी र रामप्रसाद अधिकारीले पनि अध्यक्षको उम्मेदवार बन्ने चाहना सार्वजनिक गरेका छन् । महाधिवेशनमा कुल तीन हजार असी प्रतिनिधिको सहभागिता रहनेछ ।