राखेप र निप्पोनबीच सम्झौता

राखेप र निप्पोनबीच सम्झौता


Bista Japan

राष्ट्रिय खेलकुद परिषद् र जापानको टोकियोस्थित विश्वको उत्कृष्ट श्रेणीहरूमा पर्ने निप्पोन स्पोर्टस् साइन्स युनिभर्सिटीबीच खेलकुदमा सहयोग आदान–प्रदान गर्ने विविध पक्षमा सम्झौता भएको छ । सो कार्यका लागि जापान गएका राखेपका सदस्यसचिव केशवकुमार विष्ट र युनिभर्सिटीका अध्यक्ष रियोसो तानीगामाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
एक सय २५ वर्ष पुरानो इतिहास बोकेको युनिभर्सिटीसँग खेलाडी, प्रशिक्षक, विज्ञलगायत सहयोग आदान–प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हालै स्वदेश फर्किएका सदस्यसचिव विष्टले जानकारी गराएका थिए । ‘विशेषगरी हामीलाई आवश्यक परेको खण्डमा विज्ञसमेत उपलब्ध गराइदिने सहमति भएको छ । समझदारीपत्रअनुसार सम्झौता तीन वर्षका लागि भएको हो,’ सदस्यसचिव विष्टले भने । सदस्यसचिव विष्टका अनुसार त्यसबेला युनिभर्सिटीको एक सय २५ वर्षगाँठ मनाउने कार्यक्रम पनि रहेकाले कार्यक्रममा विभिन्न १४ देशका खेल निकायका प्रतिनिधि सहभागी थिए ।

भ्रमणकै दौरान सदस्यसचिव विष्ट र जाइकाको मुख्यालयका पदाधिकारीबीच पनि भेटवार्ता भएको थियो । त्यसक्रममा जाइकाले विगतमा नेपालमा पठाउने स्वयम्सेवक प्रशिक्षकको सङ्ख्यामा वृद्धि गर्न सकिने जाइकाका उपनिर्देशक यागो नओकोले प्रतिबद्धता जनाएका थिए । त्यस्तै भूकम्पले क्षति पुर्‍याएको भौतिक संरचना बनाइदिने सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयमार्फत नेपालस्थित जापान राजदूतावासमा प्रस्ताव राखेमा प्रक्रिया सुरु गरिदिने जाइकाका प्रतिनिधिले प्रतिबद्धता जनाएको सदस्यसचिव विष्टले जानकारी गराएका थिए ।