शरीर खोपाउने यिनको सोख

शरीर खोपाउने यिनको सोख


Ginnius Records

शरीरमा ट्याटु खोपाउने रहर त धेरैमा हुन सक्छ, तर ट्याटु खोपाउँदा पीडा हुने भयका कारण कैयनले यो रहरलाई रहरमै सीमित गरेका हुन्छन् । तर, ऋषि नामका एक भारतीय यस्ता व्यक्ति हुन् जसले आफ्नो शरीरमा विभिन्न देशका झन्डा र नक्सा गरी लगभग पाँच सयको सङ्ख्यामा ट्याटु खोपाएका छन् । यत्तिले मात्र नपुगेर अझै विश्वका प्रख्यात व्यक्तिहरूको चित्रको ट्याटु थप्दै छन् उनी । अनौठा काम गरेर गिनिज बुकमा नाम लेखाउनु उनको शोख हो । यो शोखकै वशमा परेर उनले आफ्नो मुखका सबै दाँत उखेल्न लगाए, ता कि पाँच सयवटा पाइप र पचासभन्दा धेरै जलिरहेको मैनबत्तीलाई एकैचोटि मुखमा कोच्न सकियोस् । यस्तै–यस्तै हर्कत गरेर २० वटाभन्दा बढी शीर्षकमा गिनिज बुकमा नाम लेखाइसकेका ऋषि पहिलोपटक सन् १९९० मा एक हजार एक घन्टासम्म लगातार स्कुटर चलाएर यो सूचीमा परेका थिए । त्यसपछि ३९ सेकेन्डमा एक बोतल टमाटर केचप निलेर गिनिजमा नामको लहर अघि बढाएका उनले त्यसयता अनेक अनौठा कर्म गरेर सूची लम्ब्याएका छन् । यतिबेलाचाहिँ यिनले नरेन्द्र मोदी, बाराक ओबामा, महारानी एलिजाबेथ, महात्मा गान्धीलगायतका चित्र शरीरमा खोपाइरहेका छन् । उनको यस कर्मप्रति उनका परिजनले गर्व गर्ने गरेको छ ।