बिचरा गच्छदार !

बिचरा गच्छदार !


Bijaya Kumar Gachhadar

पावरबिना बाँच्नै नसक्ने राजनीतिकर्मीका रूपमा चिनिएका विजयकुमार गच्छदार यसपटक नराम्रोसँग झुक्किएका छन् । माओवादीले तत्काल सरकार छोड्छ र नयाँ सरकार गठन हुने परिस्थिति बन्न सक्छ भन्ने सुइँकोसम्म नपाएका गच्छदार अनिश्चित कालसम्म ओली नेतृत्वकै सरकारले निरन्तरता पाइरहने विश्वासमा थिए । सोमबार (असार २७ गते) राति मात्र माओवादीले सरकार छोड्ने निश्चित भएको थाहा पाएका गच्छदार मंगलबार बिहान आठ बजे नै प्रचण्डनिवास लाजिम्पाट पुगेका थिए । ‘मलाई पनि तपाईंहरूसँगै नयाँ गठबन्धन सरकारमा सामेल गरिदिनुपर्‍यो’ भनी गिडगिडाएका गच्छदारलाई थामथुम पार्न प्रचण्डलाई निकै मुस्किल परेको थियो ।

गच्छदारले प्रचण्डसँग ‘म तपाईंको सुख–दु:खको साथी हुँ, मलाई सँगै लगिदिनुपर्‍यो, छोडिदिनुभएन’ भनेपछि प्रचण्डले पनि गच्छदारलाई ‘तपाईं वास्तवमै मेरो सुख–दु:खको साथी हो’ भन्दै ‘तत्काल जे भए पनि ढिलोचाँडो तपाईं सरकारमा सामेल हुनैपर्छ’ भनी आश्वासन दिएका थिए । प्रचण्डबाट सरकारमा सामेल गराइने ठोस वचन लिएर मात्र फर्कने सोच बनाएर लाजिम्पाट पुगेका गच्छदार प्रचण्डले वचन नदिएपछि त्यहाँबाट निराश भएर फर्किएका थिए । अघिल्लो दिनसम्म ओली सरकार ढले नेपालको राष्ट्रियता खतरामा पर्ने भन्दै भाषण गरिरहेका गच्छदार ‘डुब्न लागेको जहाजको मुसा’झैँ सबैभन्दा पहिला ओली विकल्पको सरकारमा सामेल हुने इच्छा दर्शाउन प्रचण्डसमक्ष पुग्नुले उनी वास्तवमा पावरबिना बाँच्नै नसक्ने व्यक्ति हुन् भन्ने थप स्पष्ट भएको छ ।