प्रेमले यसरी हर्‍यो प्राण

प्रेमले यसरी हर्‍यो प्राण


Muslim Mustak

परस्त्री–परपुरुष सम्बन्धमा कट्टर मुस्लिम समाज निकै अनुदार मानिन्छ । पाकिस्तान पनि यस्तैमध्येको एक मुलुक हो । समाज तथा देश जतिसुकै कट्टर भए पनि प्रेमलाई छेक्न–रोक्न सकिन्न भन्ने कुरालाई अनेक घटनाले तथ्य साबित गरिदिएका छन् । यस्तै एउटा वियोगान्त घटना हालै पाकिस्तानमा घटेको छ । मध्यपाकिस्तानमा पर्ने मुजफ्फरगढनिवासी मुस्ताक अहमद बलुच एक विवाहित पुरुष थिए जो आफ्नी प्रेमिकाको निम्ति ज्यानै दिन तयार रहन्थे । उनकी प्रेमिका पनि विवाहिता नै थिइन्, तथापि यी दुईबीच गुप्त रूपले भेटघाट र प्रेमालाप चल्दै आएको थियो । बाल्यकालदेखि नै एक–अर्काप्रति आशक्त यस जोडीलाई तिनका परिवारले वैवाहिकबन्धनमा बाँधिन नदिएका कारण उनीहरू यसरी ‘अवैध’ सम्बन्धमा लिप्त रहन विवश बनेका थिए । यसैक्रममा प्रेमी मुस्ताक प्रेमिकाको घरमा एक टिनको बाक्सामा मृत फेला परे । प्रहरी जाँचबाट के खुलासा भयो भने घटनाको दिन पनि मुस्ताक प्रेमिकालाई भेट्न उनको घर पुगेका रहेछन् । सुमधुर प्रेमालाप चल्दै गर्दा प्रेमिकाका सासू–ससुरा अकस्मात् घर आइपुगेछन् । के गर्ने–के नगर्ने विलखबन्दमा परेकी प्रेमिकाले हत्तपत्त आफ्नो कोठामा रहेको कपडा राख्ने टिनको बाकसमा प्रेमी मुस्ताकलाई बन्द गरिन् । बुहारीको व्यवहार शङ्कास्पद लागेर सासू–ससुराले उनलाई नछोडी निगरानी गरिरहे । एक घन्टापछि बाक्सा खोल्दा मुस्ताकको ज्यान गइसकेको थियो ।