केका लागि सरकारमा जाने ?

केका लागि सरकारमा जाने ?


babita basnet 13

– बबिता बस्नेत

महाभारतमा श्रीकृष्ण अर्जुनलाई भन्छन्, ‘इच्छा नै हाम्रो पतनको कारण हो, किनभने यो नै दुस्कर्मको जरा हो । इच्छा र रिस सहोदर दाजुभाइ हुन् । यिनैले विवेक र बुद्धि नष्ट गरी संसारमा विनाश निम्त्याउँछन् ।’ हाम्रा राजनीतिकर्मीहरूको सवालमा कृष्णको यो भनाइ ठ्याक्कै लागू हुन्छ । एउटा दलले सरकार बनाएको केही महिना भएको हँुदैन अर्को दलको नेतालाई सरकार बनाउने इच्छा हुन्छ, उसले खेल सुरु गर्छ अनि अर्कोलाई रिस उठ्छ, उसले खेलमाथि अर्को खेल सुरु गर्छ । इच्छा र रिस यिनै कुराले यो मुलुकलाई उँभो लाग्न दिएन । आफ्नो स्वार्थभन्दा माथि कोही उठ्न नसक्दा मुलुक झन्झन् जीर्ण हुँदै गएको छ, तर कोही पनि पछाडि फर्कन तयार छैन । हालै बेलायतमा प्रधानमन्त्री डेभिड क्यामरुनले आफ्नो राजीनामापछि भने, ‘मलाई विश्वास छ, मभन्दा पछिको नेतृत्वले मुलुकका लागि मैलेभन्दा बढी गर्न सक्छ ।’ देशका लागि राम्रो काम गर्नलाई शुभकामना दिँदै उनी बिदा भए । उनको शुभकामना कुनै नक्कली शुभकामना थिएन, जो आफू बाहिरिन पाएको छैन खुट्टा तान्न थालोस् । पद छोड्नुपरेकोमा उनलाई कुनै पश्चात्ताप थिएन । उनी चुपचाप सत्ताबाट बाहिरिए । सरकारीबाट निजी निवासमा सर्दा आफ्ना सामान आफँैले गाडीमा लोड गरे । अब सामान्य राजनीतिकर्मीका रूपमा उनको दिनचर्या हुनेछ । हामीकहाँ त पद छोड्दा कसैलाई राम्रो गर या मुलुकलाई राम्रो होस् भन्ने सोचभन्दा बढी यसले आफूभन्दा राम्रो गर्ला कि भन्ने डर र ‘इगो’ हुने गर्छ । फलत: सरकार बनिसकेको छैन उसको दिनगन्ती सुरु भइहाल्यो ।

मुलुकप्रतिको उत्तरदायित्व निर्वाह गर्नका लागि व्यक्तिगत या पारिवारिक स्वार्थ छोड्न सक्नुपर्छ । तर, यहाँ त सत्तामा पुगेपछि आफन्तका ब्रतबन्ध या विवाहमा जाँदासमेत साइरन बजाउँदै पुग्छन् हाम्रा मन्त्रीज्यूहरू । उनीहरूले सार्वजनिक जिम्मेवारी र व्यक्तिगत उत्तरदायित्वकाबीचको फरक नै छुट्याउन सकेको देखिँदैन । सत्तामा जाने भन्ने कुरा जबसम्म मुलुकप्रतिको दायित्वभन्दा बढी आफ्नो समृद्धि र शानमा सीमित हुन्छ तबसम्म देश र जनताका नाममा यस प्रकारका खेलकुद चलिनै रहन्छन् ।

हामीकहाँ कुनै पनि राजनीतिक दल या सो दलका व्यक्ति केका लागि सरकारमा जाने ? भन्ने अवधारणा नै फरक छ । विकसित मुलुकमा भए सत्तामा जाने भनेको देशलाई कानुनी शासनमा बाँधिराख्न र आर्थिक उन्नतिमा अझ अघि बढाउन हो । विकास हुने भनेको आर्थिक उन्नतिपछि नै हो, आफ्नो देशमा विकास भएपछि समृद्धि र अन्य देशले हेर्ने दृष्टिकोणमा स्वत: परिवर्तन आउँछ । मुलुक बनाउन ठूलो गृहकार्य गर्नुपर्ने हुन्छ । अरू देशमा भए राजनीति पूर्णत: मुलुकको सेवा हो, तर हामीकहाँ व्यवसाय । हामीकहाँ त नेताहरूले आफूहरू जोगी–सन्न्यासी हुनका लागि राजनीति गरेको होइन भनेर खुलेआम भन्दै आएका नै छन् । यसको अर्थ राजनीति गर्ने भनेको सत्ताका लागि र सत्ता भनेको आफू जोगी हुनबाट जोगिनका लागि अर्थात् आफ्नो सम्पन्नताका लागि । आफू किन सत्तामा जाने भन्ने ‘रोड म्याप’ स्पष्ट भएका नेताहरू एक से एक खेलाडीका रूपमा अगाडि आएका छन्, तर ती देशका लागि भन्दा बढी आफ्नै लागि सत्तामा जान चाहन्छन् । आर्थिक रूपले मुलुकलाई अगाडि बढाउन के–के गर्न सकिन्छ भन्नेबारे उनीहरूसँग न त स्पष्ट खाका छ न त इच्छाशक्ति नै । मुलुक थप जर्जर बनोस्, तर देशको ढिकुटी रित्याउन उनीहरूलाई कुनै पश्चात्ताप हँुदैन । यो कुनै एक नेताको कुरा होइन, प्राय: सबै नै उस्तै प्रवृत्तिका भएका कारण सत्ताको लुछाचँुडीमा सधैँ नै नेताहरू घुमिरहेका छन् ।

अब राम्रो होला, अब त केही होला भन्दाभन्दै हाम्रो मुलुकको अवस्था अहिले मियोबिनाको दाइँजस्तै बन्न पुगेको छ । संविधान बनेपछि संविधानअनुरूप देश ट्रयाकमा आउला भन्ने ठानिएको थियो । अहिले त झनै अन्योलको स्थिति पो सिर्जना भइरहेको छ । दाइँमा मियोले गोरुलाई कहाँसम्म हिँड्ने भनेर निर्देश गरिरहेको हुन्छ । मियोवरिपरि निर्धारित ठाउँमा घुमेकै कारणले धानका बोटहरू परालमा परिणत हुन्छन् र झाँटेर बाँकी रहेको धान पनि खलामा एकैठाउँ जम्मा हुन्छ । भनौँ दाइँको लक्ष्य पूरा हुन्छ । मियो नहुँदो हो त गोरुहरू जथाभावी हिँडेर कहाँ–कहाँ पुग्छन्, कहाँ–कहाँ कसले सम्हाल्ने तिनीहरूलाई ? त्यसैले दाइँमा मियोको जरुरी भएको हो । कुनै पनि सङ्घ, संस्था, परिवार, समूह, व्यापार–व्यवसाय जेसुकैलाई राम्ररी अघि बढाउन पनि एउटा दह्रो सबैले (सबैले नभए पनि बहुमतले) मान्ने नेतृत्वको आवश्यकता पर्छ । निश्चित सीमा, मूल्य–मान्यतालाई लिएर अघि बढने, थरीथरीका एटिच्युडहरूलाई मिएर लाने सोच र क्षमता भएको नेतृत्व भएन भने मुलुकको हविगत केसम्म हुन सक्छ भन्ने कुराको उदाहरण हाम्रो देश बन्दै गएको छ । मियोबिनाका नेताहरू दौडेका दौड्यै छन्, तर देशको परिस्थिति भने झन्झन् ‘मेस’ हँुदै गइरहेको छ । लोकतान्त्रिक आन्दोलनका क्रममा जसलाई मियो मानिएको थियो उनैले लत्तो छाडेपछि अब त झनै कसैले केही गर्ला र केही होला भन्ने कुराको झिनो आशामा समेत तुसारापात हुँदै गएको छ । सबैको अविभावक बन्नका लागि, देशको नेता बन्नका लागि मानिसले व्यक्तिगत स्वार्थलाई त्याग्न सक्नुपर्छ, जबसम्म स्वार्थहरू रहन्छन् तबसम्म सबैको सामु शिर ठाडो गरेर बोल्न सकिँदैन ।

अहिलेकै कुरा गरौँ, प्रधानमन्त्री केपी ओलीलाई पन्छाएर प्रचण्ड आउन खोज्नुमा ओलीले भूकम्पपीडितलाई केही गर्न सकेनन्, म गर्छु या उनले संविधानत: सङ्घीयता लागू गर्न सकेनन, म गर्छु या यो देशमा निर्वाचन गराउने वातावरण म बनाउँछु भनेर हुँदै होइन । द्वन्द्वकालीन मुद्दा उनको रुचि हो र प्रधानमन्त्री हुँदाको शान आफैँले उपभोग किन नगरूँ भनेर नै हो । त्यसपछि प्रस्ताव गरिएका शेरबहादुर देउवा पनि मुलुकलाई केही गरूँ भन्दा बढी अरू मात्रै कति प्रधानमन्त्री हुने यत्तिका समय भइसक्यो म पनि त बन्नुपर्‍यो भनेर नै हो । यता प्रधानमन्त्री ओलीले प्रम बनिरहन खोज्नुमा पनि मुलुककेन्द्रित कुरा मात्र छैन । देशका लागि साँच्चिकै केही गर्ने हो भने कोही सत्तामा पुग्ने भनेको रमाइलो या शान नभएर धेरै ठूलो उत्तरदायित्व हो । मुलुकप्रतिको उत्तरदायित्व निर्वाह गर्नका लागि व्यक्तिगत या पारिवारिक स्वार्थ छोड्न सक्नुपर्छ । तर, यहाँ त सत्तामा पुगेपछि आफन्तका ब्रतबन्ध या विवाहमा जाँदासमेत साइरन बजाउँदै पुग्छन् हाम्रा मन्त्रीज्यूहरू । उनीहरूले सार्वजनिक जिम्मेवारी र व्यक्तिगत उत्तरदायित्वकाबीचको फरक नै छुट्याउन सकेको देखिँदैन । सत्तामा जाने भन्ने कुरा जबसम्म मुलुकप्रतिको दायित्वभन्दा बढी आफ्नो समृद्धि र शानमा सीमित हुन्छ तबसम्म देश र जनताका नाममा यस प्रकारका खेलकुद चलिनै रहन्छन् ।