के–के गर्न सक्छन् यिनले ?

के–के गर्न सक्छन् यिनले ?


अविश्वासको प्रस्ताव पारित भइसकेपछि पनि प्रचण्डको हातमा सत्ताको वागडोर पुग्न नदिन ओलीले न्वारानदेखिको बल लगाउने देखिसकिएको छ । आफ्नो इच्छा र चाहनाविपरीत प्रचण्ड प्रधानमन्त्री बनेमा त्यसपछि उनले माओवादी–कांग्रेस गठबन्धनलाई असफल तुल्याउन पाइलापाइलामा अवरोध पैदा गर्ने निश्चित छ ।

OLi New

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओली सत्ताच्युत भएर प्रतिपक्षी भूमिकामा पुगेपछि उनले कस्तो भूमिका निर्वाह गर्लान् भन्ने चासो सर्वत्र प्रकट भएको छ । सात वर्षदेखि संविधान जारी गर्न भएको प्रयास ‘सफल’ बनाउन मात्र गत वर्ष ओली सक्रिय भएका थिएनन्, सत्ताको शिखरमा आफूलाई पुर्‍याउन पनि उनी ‘संविधान जारी गरेर’ देखाइदिन कस्सिएका थिए भन्ने स्पष्ट रूपमा बुझिएको विषय हो । आफैँले जारी गराएको संविधानको अन्तर्वस्तुमा ओलीको असहमति रहेको उनको अभिव्यक्ति र कार्यशैलीले स्पष्ट गरेको छ । खासगरी सङ्घीयताको विषयमा उनले सार्वजनिक गरेको धारणाले उनी त्यसप्रति सकारात्मक नभएको सङ्केत दिएको छ ।

अविश्वासको प्रस्ताव पारित भइसकेपछि पनि प्रचण्डको हातमा सत्ताको वागडोर पुग्न नदिन ओलीले न्वारानदेखिको बल लगाउने देखिसकिएको छ । आफ्नो इच्छा र चाहनाविपरीत प्रचण्ड प्रधानमन्त्री बनेमा त्यसपछि उनले माओवादी–कांग्रेस गठबन्धनलाई असफल तुल्याउन पाइलापाइलामा अवरोध पैदा गर्ने निश्चित छ । सङ्घीय संरचनाको निम्ति प्रदेशहरूको सङ्ख्या र सीमाङ्कनमा त ओलीले ‘टाङ अड्याउने’ नै छन्, मधेसी मोर्चाको माग सम्बोधन गर्ने उद्देश्यका निम्ति हुने संविधान संशोधन र अन्य प्रयासमा पनि उनी बाधक बन्ने सङ्केत देखिएको छ । यसबाट माओवादी–कांग्रेस गठबन्धनको सरकार सञ्चालनमा मात्र बाधा पुग्ने छैन, संविधान कार्यान्वयनमा समेत अड्चन आउनेछ ।

हाल कांग्रेस–माओवादीबीच भएको सम्झौताअनुसार पहिलो नौ महिना प्रधानमन्त्रीका रूपमा प्रचण्डलाई असफल तुल्याउन ओली लागिपर्ने सम्भावना जति छ, नौ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बेलामा पनि उनले नयाँ रणनीति अवलम्बन गर्नसक्ने देखिन्छ । प्रचण्डलाई प्रधानमन्त्री बन्न र बनेपछि सरकार चलाउन अड्चन पैदा गर्ने ओलीले नौ महिनापछि प्रचण्डकै नेतृत्वलाई निरन्तरता दिने निर्णय लिए भने कुनै आश्चर्य हुनेछैन । चुनावी मैदानको मुख्य प्रतिस्पर्धी दल नेपाली कांग्रेसलाई सत्ताको नेतृत्व गर्नबाट वञ्चित गर्ने उद्देश्यले उनले प्रचण्डकै नेतृत्वलाई निरन्तरता दिने निर्णय लिए भने आश्चर्य हुनेछैन ।

खड्गप्रसाद ओलीको सम्भावना, चरित्र, सोच र शैलीका आधारमा विश्लेषण गर्दा उनले नयाँ सत्ता गठबन्धनलाई हायलकायल पार्न जस्तासुकै निर्णय लिनसक्ने सम्भावना देखिएको छ । सत्तापक्षका ओलीभन्दा प्रतिपक्षी ओली खतरनाक हुनसक्ने भएकोले विद्यमान संविधान कार्यान्वयनमा अनपेक्षित समस्याहरू देखापर्नेमा शङ्का गर्नुपर्ने छैन ।

ज्योतिषीको दृष्टिमा ओली

Atmaram Upreti

प्रधानमन्त्री खड्गप्रसाद ओलीको २००८ फागुन ११ गते १७:२८ बजेको जन्मअनुसार वर्तमान ग्रहका अवस्था अध्ययन गर्दा हालको परिस्थितिको सामना गर्न सक्ने उच्च क्षमता ग्रहगोचरले देखाएको छ । उहाँको भाग्य र कर्ममा विपक्षीसँग गम्भीर चुनौतीको सामना नगरीकन उच्च मान, प्रतिष्ठा र उज्ज्वल भविष्यको वातावरण बन्न नसक्ने देखिन्छ ।

हालको परिस्थिति र ग्रहगोचरअनुसार केपी ओलीले कसैसँग हार्नुपर्दैन । आफू अडिग रहेर विपक्षीलाई झुकाउने योगहरू परेको पाइन्छ । उहाँको स्वभाव नै प्रस्ट वक्ता हो । उहाँको कुण्डलीअनुसार पुत्ररहित पैत्रिक सम्पत्ति विवादमा हुनु, मातृसुख नपाउनु, आँखाको रोगी हुनु, भाइबन्धुदेखि टाढा हुनु, स्त्रीबाटभन्दा परस्त्री र व्यापारीबाट लाभ पाउनु, आफूले ठहर्‍याएर बोलेको बोली फिर्ता नलिनु ओलीका विशेषता हुन् । आफूले जसलाई जोगायो त्यही व्यक्तिले फर्केर आफूलाई हानि पुर्‍याउन खोज्ने उहाँको जन्मकुण्डलीमा देखिन्छ । तर, कारणवश जोगाउनुपर्नेलाई हानि गर्दा र हानि पुर्‍याउनुपर्नेलाई जोगाउँदा समस्या खडा हुन सक्छ ।

बाह्रौँ स्थानको स्वामी रिपुस्थानमा रहँदा वैदेशिक शत्रुबाट धनमान च्यूत गराउन खोजिन्छ, तर उहाँको राशिको स्वामी शनिकै पालो भएको हुँदा र त्यसैमा गुरुको अन्तर शनि र सूर्यको अन्तरमा गुरु वृहस्पतिको अन्तर परेको हुनाले उत्तरी मुलुकबाट आत्मबल बढ्ने ऊर्जा आन्तरिक रूपमा मिल्नेछ । हालको परिस्थितिमा प्रधानमन्त्री ओलीले राजीनामा नदिएर संविधानअनुसार अडिएर बस्ने र अन्तत: आफ्नै बोलीमाथि पार्ने देखिएको छ ।