गाउँ नै उजाड पार्‍यो स्वार्थी राजनीतिले

गाउँ नै उजाड पार्‍यो स्वार्थी राजनीतिले


Laxmikanta Paudel
– लक्ष्मीकान्त पौडेल

‘एकरात मेरी आमा मेरो कोठामा आइन् र मसँग भनिन्– राजनीतिले तिम्रो हजुरआमा र बाबुलाई समेत मार्‍यो । हेर, हामी राजनीतिमा लिन होइन दिनका लागि लागेका हौँ ।’ भारतीय कङ्ग्रेसका उपाध्यक्ष राहुल गान्धीको कथन हो यो । हुन त भारतमा गान्धी परिवार पनि विवादरहित छैन, तथापि महत्त्वपूर्ण पक्ष के छ भने उनीहरूकै कारणले भारत पीडाले आक्रान्त भने बनेको छैन ।

नेपालमा ठीक उल्टो छ । राजनीतिमा लाग्नेहरू दिन होइन लिन मात्र उद्यत् देखिएका छन् । माओवादीको हिंसात्मक क्रियाकलापमा करिब २० हजार मानिस मारिए र लाखौँ मानिस पीडित भए । खर्बौंको सम्पत्ति तहसनहस भयो । जनताको नाममा हिंसा गर्नेहरूले जनता मर्दा र पीडित बन्दा पनि जनतामा आशाको भ्रम थियो । तर, जब उनीहरू जनहितका लागि भनेर मूल राजनीतिक धारमा आए तब उनीहरूले विकास होइन नेताहरू धनी हुने काम गर्न थाले । जनता होइन आफ्नो आन्दोलनमा लाग्नेहरूको सुरक्षाका लागि काम गर्न थाले । राम्रो काम गर्न नसक्ने र नसकेको कारण अरूलाई देखाउने उनीहरूको थेगो बन्यो । सधैँ आफ्नो गल्ती छोपेर जनतालाई भ्रम दिन विपक्षी राजनीतिज्ञलाई दोष दिने परम्परा बस्यो । वास्तवमा जनता सचेत नभएपछि विभिन्न कुरा गरेर भ्रम दिन सकिन्छ र विकासलाई अवरुद्ध गरेको गर्‍यै गर्न सकिन्छ भन्ने यहाँ पुष्टि भएको छ ।

जनताको जीवनस्तर उठाउने सोच काङ्ग्रेसबाहेकका दलहरूमा कहिल्यै आएन । राज्यको ढुकुटीको रकम कार्यकर्ता खुसी पार्न तथा कनिका छरेजस्तो गरेर जनतालाई मूर्ख तुल्याउने काम मात्र भयो । देशको बजेटमा योगदान रहेको राजस्वले देशको विकास खर्चमा योगदान दिन नसकेका मात्र होइन बरु अन्य खर्चसमेतमा विदेश र अन्य संस्थामा निर्भर रहनुपर्ने अवस्थाको सिर्जना भयो र त्यो बढ्दै गयो । विदेशीको सहयोगको आशा र भरमा कर्मचारीको तलबसमेतका खर्च गर्ने देशको हैसियतलाई राम्रो भन्नै सकिँदैन ।

काङ्ग्रेसबाहेक कुनै पनि सरकारले उत्पादन बढाउने योजना ल्याएन । उत्पादन बढाउनेजस्ता कथित केही कार्यक्रम देखिए पनि ती केवल दलका कार्यकर्ताहरूले सहुलियत ऋण लिने, त्यसमा छुट प्राप्त गर्ने र काम भने नगर्नेमा सीमित भएका धेरै उदाहरण देखिए । सहकारीबाट खेतीसमेत गर्ने नाममा सरकारको धेरै पैसा बेकारमा दलका कार्यकर्तालाई खुवाउन र नेतालाई कमिसनका लागि प्रयोग भएको छ भन्ने तथ्य तिनले कुनै उपलब्धिजन्य काम गर्न नसकेकोबाट देखिएको छ ।

देशमा राजनीतिक रूपमा भन्नै नमिल्ने गरेर आगामी पुस्ता र विश्वलाई नै असर गर्ने गरेर ठूला अपराध भएका छन् । आफ्नो गाउँ आफैँ बनाउने भनेर सरकारले गरेको सहयोगले पहाडमा बाटो बनाउने नाममा यति बढी भूक्षय भएको छ कि सरकारी निकायले नै पहिरो जानको मुख्य कारण नै जथाभावी सडक खन्नु भन्ने औँल्याएको छ । सरकारले गर्ने त्यो खर्च बिजुलीमा गरेर पहाडमा सडकको सट्टामा रोप वे बनाएको भए न पहिरो जाने थियो न मानिस मर्ने थिए न देशको माटो महासागरमा पुगेर विश्वलाई नै असर गर्ने थियो । सबैभन्दा दु:खद् विषय त दशैँमा गाउँमा दुई–तीन दिन लगाएर बाटो बनाउने, भत्केको संरचना निर्माण गर्ने कार्य, अर्थात् जनताबाटै श्रमदानबाट हुन्थ्यो । अब त्यो काम गर्न पनि स्थानीय निकायको सहयोग लिने प्रवृत्तिको विकास भएको छ । सस्तो राजनीति र भोट लिन जे पनि गर्ने प्रवृत्तिले जनतामा आफ्नो समाजको काम आफैँ गर्ने भन्ने भावना हराउँदै गएको छ । यो हामीले थाहा नभएको र राम्रो भएको छ भन्ने भ्रम परेको हामीविरुद्धको अपराध हो । यसको प्रभाव अनन्तसम्म पर्न सक्दछ र स्थानीय व्यवस्थापन पनि अरूकै आशामा बस्ने प्रवृत्ति बढेकै छ । राजनीतिले हामीलाई गफी तर काम गर्न नचाहने र कतैबाट सहयोग आउँछ कि भन्ने आशामा दौडे बनाएको छ ।

माओवादी हिंसाको समयमा युवाहरूलाई उनीहरूको सेनामा भर्ती गराउने डरले युवाहरूलाई व्यापक रूपमा विदेश पठाउने काम भयो । पहिला सामान्य रूपमा रहेको विदेशमा रोजगारीका लागि जाने क्रम त्यो समयदेखि देशको सबैभन्दा महत्त्वपूर्ण पेसा, पाटो र जीवनको अभिन्न अङ्गजस्तो हुन पुग्यो । परिवारका सदस्यहरू माओवादीे र सरकारी सुरक्षाकर्मीको डर तथा उनीहरूलाई खाना खुवाउनुपर्ने, बलात्कार गर्ने र मार्नेसमेतका डरले गाउँमा बस्न नसक्ने भएकाले ज्यान बचाउनकै लागि समेत सहर पसे । गाउँ उजाड हुँदै गयो । गाउँमा काम गर्ने प्रवृत्तिको अन्त्य हुँदै जाने र सुखसँग बस्ने, सकेसम्म विदेशबाट कमाएर ल्याउने प्रवृत्ति संस्थागत नै भयो । देशमा राम्रो काम पाउनेबाहेकका सक्षम र विदेश जानका लागि चाहिने खर्च भएकाहरू सायदै यो देशमा बसेका होलान् । सक्षममध्ये केही उद्योगी र उनीहरूका सहयोगीको सङ्ख्या देशको सक्षम जनसङ्ख्याको हिसाबले एक प्रतिशत पनि छ कि छैन !

अबको बाटो भनेको यस्तो लोकतन्त्र र बहुलवादको पक्षमा रहेको यस्तो इमानदार र जनतालाई सत्य कुरा भन्ने र गर्ने समूहको खोजीको हो । त्यो समूह वा अहिले नै भएको पक्षले गर्ने ठूलो काम छैन । केवल जनतालाई गाउँमा जान प्रोत्साहित गर्ने, यसले तुरुन्तै कृषि विकासमा सहयोग हुन्छ । यसका लागि हिंसात्मक समयमा भएको लुटेर खाने प्रवृत्ति अहिले पनि राजनीतिको रूपमा कम भए पनि गुण्डागिरीको रूपमा निरन्तर भएकाले त्यसबाट जनतालाई सुरक्षा हुनुपर्ने हुन्छ । समुदायमा आधारित स्वास्थ्य केन्द्रहरूको व्यवस्था, राम्रो शिक्षाको प्रबन्ध र उत्पादनलाई सरकारले बजारको व्यवस्था गर्न सक्नुपर्छ । यसो गर्नासाथ गाउँ पुन: गुल्जार हुन्छ । यसका लागि अरू महत्त्वपूर्ण सूत्रहरू प्रयोग गर्न सकिन्छ । काङ्ग्रेसले जम्मा गरेको पैसा एमालेले स्थानीय तहमा लगेर कार्यकर्ता पोस्न, बाटो बनाउने नाममा पहाड भत्काउने गरेर भ्रष्टाचारमा स्वाहा पार्‍यो । यसको अन्त्य आवश्यक छ । अब सोच बदल्नुपर्छ, अर्थात् कृषिका लागि मात्र होइन अन्य कामका लागि पनि गाउँलाई छान्नैपर्ने वातावरण बनाउन सकिन्छ । सोचाइ विश्वव्यापी र काम स्थानीयतामा आधारित रहेर धेरै गर्न सकिन्छ ।