नेपाल–भारत सम्बन्ध र बीपीको अभीष्ट

नेपाल–भारत सम्बन्ध र बीपीको अभीष्ट


Shoyembhu nath Karki

– स्वयम्भूनाथ कार्की

नेपाल–भारत सम्बन्ध युगौँ पुरानो हो भन्ने गरिन्छ र यो सत्य पनि हो । त्रेतायुगमा विदेहराज जनकका छोरीहरूको अयोध्याराज दशरथका छोराहरूसँगको विवाह सम्बन्ध होस् वा अढाई हजार वर्ष पहिले कपिलवस्तुका राजकुमार सिद्धार्थको बोधगयामा बुद्धत्व प्राप्ति यस्तो सम्बन्ध देखिने गरेको छ । कर्मकाण्डी पुरोहितहरूलगायत यस भेगका त्यस बेलामा अगुवाहरूको शिक्षादीक्षाको निमित्त आदर्श थलो काशी नै हुने गर्दथ्यो । यसरी काशीमा पढेकाले त्यसको छाप पनि हरेकमा परेको पाइन्छ, कसैमा प्रत्यक्ष कसैमा परोक्ष । काशी पढेका कर्मकाण्डी पुरोहितको सिको गर्दै अझै पनि कर्मकाण्डमा ‘हिमवत् खण्डे नेपाल देशे’ भन्नुपर्नेमा बहुसङ्ख्यक ‘भारतवर्षे भरतखण्डे’ जोड्दै छन् । तर, त्यस समयमा आधुनिक भारत सङ्घको जन्म नै भएको थिएन भने आधुनिक नेपाल भारतभन्दा करिब दुई शताब्दी पुरानो हो । शाहहरूको भारतसँगको सम्बन्ध भन्नाले त्यस क्षेत्रका केही देशहरूसँग थियो, राणाहरूको ज्यादाजसो सम्बन्ध इष्टइन्डिया कम्पनीका अङ्ग्रेजहरू तथा केही राजपुतानाका देशहरूसँग थियो ।

यसैले वर्तमान नेपाल–भारतको सम्बन्धको सुरुवात गर्ने वा जग बसाउने काम आधुनिक भारतका प्रथम हर्ताकर्ता प्रधानमन्त्री नेहरू र एक सय चारवर्षे जहानियाँ शासनविरुद्ध सङ्घर्षको नेतृत्व गरेर नेपालको प्रमुख स्थानमा पुग्न सफल भएका बीपीबाट नै भएको थियो । त्यसैले वर्तमानमा भएको नेपाल–भारतको सम्बन्धको जग उनीहरूले बसाएकाले यसमा बीपी–नेहरूको व्यक्तिगत सम्बन्धले धेरै असर पारेको छ वा त्यो सम्बन्धको छाया प्रस्ट रूपमा देखापरेको छ । बीपी प्रधानमन्त्री हुँदा जब चीन भ्रमणको निम्तो पाए भारतीय राजदूत ‘भारतको साथमा यस्तो राम्रो विशेष सम्बन्ध छ, पहिले त्यहाँ नगई अर्को ठाउँमा जानुहुन्छ, यो त राम्रो हुँदैन । पहिले हाम्रोमा आउनुपर्छ’ भन्न आए र १९६० को २६ जनवरीको कार्यक्रममा भारत भ्रमणको निम्तो दिएर गए । त्यसैले बीपीले पहिलो औपचारिक भ्रमण भारतको गरे । यो कुरा उनले परिच्छेद ४९ मा उल्लेख गरेका छन् । यही कुराको निरन्तरता माओवादीका प्रचण्ड नेपालको प्रधानमन्त्री भएको बेला पनि दोहोरिएको छ । आफ्नो चीन भ्रमणलाई ओलम्पिकको अवसरको अनौपचारिक भ्रमण भन्दै आफ्नो प्रथम औपचारिक भ्रमण भारत नै भएको भन्न प्रचण्ड विवश भएका छन् ।

बनारसको अस्सी घाटमा भएको गान्धीको सभामा ‘म सरकारी स्कुल जान्नँ’ भनेर घोषणा गर्दा बीपी सात–आठ वर्षका थिए । बीपीलाई मञ्चमा लगेर माला लगाइदिने नेहरू थिए । जतिखेर बीपी बालक नै थिए नेहरू भारतको स्वतन्त्रता आन्दोलनमा प्रमुख स्थानमा थिए । समाजवादी आन्दोलनमा लोहिया तथा जयप्रकाशसँग घनिष्ट नभएको भए बीपीको र नेहरूको सम्बन्ध कस्तो हुने थियो अनुमान नै व्यर्थ छ । तर, नेहरूसँगको परिचय र सीमित संसर्गले बीपीलाई राणाविरोधी क्रान्तिमा मद्दत पुगेको छ । मोहनशमशेरको कैदबाट लेखेको चिठी र जयप्रकाश नारायणले पटना अस्पतालबाट नेहरूलाई गरेको फोनले उनको प्राण जोगिएको छ । नेहरूको दबाबमा मोहनशमशेर बीपीलाई छोड्न बाध्य भएका छन् । क्रान्तिमा गुप्त मद्दत पनि नेहरूले गरेका छन्, तर घनिष्ट हुनबाट रोकेका पनि छन् । मद्दत पाएर उत्साहित भएका बीपीलाई तपार्इंलाई त हतकडी लगाउने थिए भनेर बेलाबेला भन्नु ज्यादा नजिक हुनबाट रोक्नु नै थियो भन्ने अनुमान कठिन होइन ।

bp

राणा र काङ्ग्रेसको संयुक्त सरकार कोही एकले राजीनामा दिएपछि ढल्थ्यो, नेहरू यो सरकार नढलोस् भन्ने चाहन्थे । जब गोर्खादलको आफूमाथि ज्यानै लिने किसिमको आक्रमण भयो बीपीले थप यो सरकार चल्न उपयुक्त देखेनन् । राजाको सामुन्ने मोहनशमशेरलाई राजीनामा गर्न विवशभैँm तुल्याए । तर, यो राजीनामा नेहरूले रोकिदिए । त्यसपछि बीपीलाई दबाब दिन मोहनशमशेरलाई नेहरूले काखी च्यापे । परिच्छेद ३६ मा दिल्लीमा मोहनशमशेरलाई ‘मैले पनि लेक्चर सुन्नुपर्ने, तपार्इंले पनि लेक्चर सुन्नुपर्ने । हामीहरूमा जो मतभेद छ, जे छ, ल हिँड्नुस् काठमाडौँ’ भन्दा मोहनशमशेरले टिमुरिएर ‘कहिले सासूको पालो, कहिले बुहारीको पालो, अहिले मेरो पालो’ भनेको प्रसङ्ग नै नेहरूले मोहनशमशेरलाई काखी च्यापेको प्रमाण हो ।

चाहे दिल्ली सम्झौताको बेला होस् वा बीपी नेपालको पहिलो गृहमन्त्री हुँदा होस् नेहरूबाट बीपीलाई अन्तरङ्ग सहयोग भएको छ । मन्त्रिमण्डलमा यस्ता राख्नुपर्छ, यो–यो मन्त्रालय लिनुपर्छ भन्नेजस्ता अन्तरङ्ग कुरामा नेहरूको चासो हस्तक्षेप वा आन्तरिक मामिलामा चासो भन्नेतिर बीपीको ध्यान नै जान नसक्ने परिस्थिति बनाउनु नेहरूको कूटनीतिक कुशलता हो । जो नेहरू र बीपीको सामाजिक, आर्थिक, राजनीतिक पृष्ठभूमिको फरकले सम्भव भयो । तैपनि बीपीले आपत्तिजनक लागेको कुराहरूमा आफूमाथि नेहरू हावी हुन दिएनन् । प्रशासनिक संरचनाको जग बसाल्न गृहमन्त्रीलाई भारतकै दक्ष व्यक्ति पठाएर नेहरूले सहयोग गरे । क्रान्तिनायक रहुन्जेल बीपीले नेहरूको अन्तरङ्ग सहयोग आफूप्रतिको सद्भाव बुझे–बुझेनन् भन्दा पनि सरकारमा सामेल भइसकेपछि त्यसलाई सद्भावको रूपमा लिन सकेनन् । आफूमाथि हावी हुन खोजेको प्रस्ट देखे र त्यसको सक्दो प्रतिकार पनि गरे ।

राणा र काङ्ग्रेसको संयुक्त सरकार कोही एकले राजीनामा दिएपछि ढल्थ्यो, नेहरू यो सरकार नढलोस् भन्ने चाहन्थे । जब गोर्खादलको आफूमाथि ज्यानै लिने किसिमको आक्रमण भयो बीपीले थप यो सरकार चल्न उपयुक्त देखेनन् । राजाको सामुन्ने मोहनशमशेरलाई राजीनामा गर्न विवशभैँm तुल्याए । तर, यो राजीनामा नेहरूले रोकिदिए । त्यसपछि बीपीलाई दबाब दिन मोहनशमशेरलाई नेहरूले काखी च्यापे । परिच्छेद ३६ मा दिल्लीमा मोहनशमशेरलाई ‘मैले पनि लेक्चर सुन्नुपर्ने, तपार्इंले पनि लेक्चर सुन्नुपर्ने । हामीहरूमा जो मतभेद छ, जे छ, ल हिँड्नुस् काठमाडौँ’ भन्दा मोहनशमशेरले टिमुरिएर ‘कहिले सासूको पालो, कहिले बुहारीको पालो, अहिले मेरो पालो’ भनेको प्रसङ्ग नै नेहरूले मोहनशमशेरलाई काखी च्यापेको प्रमाण हो ।

प्रारम्भकालीन यस्ता परिस्थिति र त्यसमा नेहरूको प्रभावशाली भूमिकाले नजानिँदो किसिमले भारतलाई ठूल्दाजुको परिस्थितिमा पुर्‍याएको भान आत्मवृत्तान्तमा पाइन्छ । बीपीले पनि भरसक भारतीय राजनीतिमा आफ्नो असर देखाउन खोजेको भान परिच्छेद ३७ मा पाइन्छ । १९५२को पहिलो भारतीय आमचुनावमा सोसलिस्टहरूलाई रञ्जना सिनेमा हलको बालकृष्ण साहुबाट एक लाख रुपैयाँ लिएर सहयोग गरे । भैरहवाबाट धान निकासीको लाइसेन्स पाएका बालकृष्णलाई सात लाखको फाइदा भएको थियो तिनै साहुबाट गणेशमानले यो रकम चन्दा लिएका थिए । यो कुरा नेहरूले थाहा पाए । सोसलिस्टहरूलाई यो मात्र सहयोग थिएन, बोर्डरतिरका नेपाली काङ्ग्रेसका मान्छेहरूले पनि पैसा उठाएर दिँदै थिए । यसरी नेपाल–भारतको अनौठो सम्बन्धको सुरुवात भयो । यसका प्रमुख पात्रहरू नेहरू र बीपी बने ।

नेहरूले आफ्नो किसिमबाट बीपीलाई प्रयोग गर्ने कोसिस गरे भने उनकी छोरी इन्दिरा गान्धी पनि यो प्रयत्नमा पछि रहिनन् । बीपीलाई पञ्चायतविरुद्ध क्रान्ति गर्न ‘र’ मार्फत हतियार बेचेर अनि ती हतियार जयप्रकाशको सिफारिसमा बंगलादेश पठाएर । परिच्छेद ६६मा बीपी आफूलाई हतियार बेच्ने ‘र’को भएको र त्यसबेला थाहा नपाएको कुरा व्यक्त गरेका छन् । ‘मलाई त्यसबाट चिसो पर्नुपर्ने नि । हतियारको तस्करी गर्ने मात्र भए त त्यहाँ नगद पाइरहेको थियो ।’ नेपालमा सत्ता परिवर्तन गराउन भारतको हमेसा रुचि रहेको र नेपाली नेताहरूमा आफ्नो ससानो आन्तरिक समस्याको समाधान पनि भारतमा नै खोज्ने प्रवृत्ति रहेको नेपाल–भारत सम्बन्ध शायद बीपीको अभीष्ट थिएन, तर त्यस्तै भइदिएको छ ।