यी डिएसपीको ज्यादति रोक्ने कसले ?

यी डिएसपीको ज्यादति रोक्ने कसले ?


DSP Ganga Panta

कानुनभन्दा ठुलो कोहि नभएको नेपालको संबिधान २०६३ ले स्पष्टसँग व्यवस्था गरिदिएको छ । तर संविधान, कानुन र मानवअधिकारको गम्भिर उल्लंघन कुनै सार्बजनिक पद धारण गरेको व्यक्तिले गर्छ भने त्यसलाइ कारबाही गर्ने निकाय चुपचाप उसका गतिविधि नियालेर बस्छ भने त्यसलाई आमनागरिकले कसरी लिने ?

‘सत्यम, सेवा सुरक्षणं’, ‘मुस्कानसहितको प्रहरी’ र ‘प्रहरी मेरो साथी’ जस्ता मुलमन्त्र लिएको नेपाल प्रहरीको अधिकृतले यी सबैकुरालाई लत्याएर ब्यक्तिगत स्वार्थको लागि जे गर्न पनि पछि पर्दैन भने त्यस्ता प्रहरी अधिकृतलाई कसरी लिने ? आफुलाई सधै उत्कृष्ट र १ नम्वरको प्रहरी अधिकृत भनेर प्रचारबाजी गर्न रुचाउने प्रहरी अधिकृतको कारण नेपाल प्रहरी नै पर्वतमा अहिले विवादमा तानिएको हो ।

तनहुँ मिर्लुङ–३ का गणेश पन्तकी छोरी गंगा पन्त शक्तिकेन्द्रको आडमा टिका लगाएर ०५६ सालमा नेपाल प्रहरीमा प्रवेश गरेकी थिइन् । तत्कालीन गृहमन्त्री गोविन्दराज जोशीको विशेष आशिर्वादमा जोशीका भतिजा कमलराज जोशी ३ नम्वरमा र पन्तको नाम ४ नम्वरमा निस्किएको थियो । पछि माओवादी युद्धकालमा कमलराज जोशी मारिएका थिए भने पन्त इन्स्पेक्टरबाट डीएसपीमा बढुवा हुँदा तत्कालिन आइजिपी रमेश चन्द ठकुरीले रोलक्रम मिचेर पन्तलाई १ नम्वरमा तानिदिएका थिए । पन्त हाल जिल्ला प्रहरी कार्यालय पर्वतमा कार्यरत छिन् । १ बर्षअघि पर्वत सरुवा भएर गएदेखि नै उनी विवादमा परेकी छिन् । पछिल्लो समयमा उनले कानुनविपरीत पर्वत सहश्रधाराका ट्रयाक्टर व्यवसायीहरुका ट्रयाक्टर नियन्त्रणमा लिने र छोड्ने कार्यलाई विशेष अभिरुचि दिएकी छिन् ।

केही साता पहिले विकाश प्रजापति र देवबहादुर खड्कालाई गैरकानुनी रुपमा प्रक्राउ गरी दुई दिनसम्म हिरासत राखी पुनराबेदन अदालत बाग्लुङको बन्दी प्रत्यक्षीकरण रिट आदेशपछि उनिहरु थुनामुक्त भएका थिए । यसबाट पनि पन्त कानुनसम्मत नभएको पुष्टि हुन्छ । हिरासतमा राख्दा आफुहरुलाई अमानविय ब्यवहार गरेको र आफुले धारण गरेको जनै समेत निकालिदिएर आफनो धार्मिक आस्थामा समेत चोट पुगेको खड्काले बताएका छन् ।
जिल्ला प्रहरी प्रमुख पन्तका विरुद्ध निर्माण व्यवसायीहरु पटक–पटक अदालत धाउने क्रम जारी छ । अदालतबाट पन्तको नाउमा उत्प्रेषणयुक्त प्रतिषेध, निषेधाज्ञा मिश्रित परमादेश युक्त अन्तरिम आदेश जारी भएको छ । तर पन्तले अदालतको आदेशलाइ समेत बेवास्ता गदै व्यवसायीका उद्योगमा धरपकड गर्ने क्रम नरोकिएको ब्यवसायीले बताएका छन् ।

प्रत्येक बर्ष जिल्ला विकाश समिति पर्वतले ढुंगा, गिट्टी, बालुवाको ठेक्का लगाउँदै आएकोमा प्रनाउ पन्तले प्रहरीको क्षेत्राधिकार भन्दा बाहिर गएर पटक–पटक जिविसको क्षेत्राधिकार मिच्न थालेपछि पर्वतका स्थानीय विकाश अधिकारी युवराज पौडेलसमेत आजित बनेको बुझिएको छ । जिल्लामा विकाश निर्माणका काम तीब्र गतिमा अघि बढिरहेको बेलामा प्रनाउ पन्तको गैरकानुनी कार्यले विकाश–निर्माणका काममा बाधा पुगेको छ । नेपाल सरकारले राष्ट्रिय गौरवका आयोजना भनेर गर्व गर्न लायक मध्यपहाडी लोकमार्ग, कालीगण्डकी कोरिडोर, पोखरा कुस्मा बाग्लुङ जोमसोम हुँदै कोरला जोड्ने बाटोको साथै जिल्लाभित्रका निर्माणाधीन विद्युत गृह लगायतका काममा समेत बाधा पुगेको छ ।

पन्तले बर्दीको आडमा स्थानिय व्यवसायीलाई बिनाकारण अख्तियारको दुरुपयोग गरेर सताइरहेकोमा प्रहरी प्रधान कार्यलय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र राष्ट्रिय मानबअधिकार आयोग टुलुटुलु हेरेर बस्न नमिल्ने पर्बतका व्यवसायीहरूको धारणा छ ।
– ऋतु शर्मा