
अर्घाखाँचीको अडगुडी–१, रानीटोलामा २१ वर्षअघि जन्मिएका निगम पौडेलले आफ्नो कलिलो उमेरमै ‘द पावर अफ नलेज (अ मिनी इन्साइक्लोपेडिया)’ नामक पुस्तक बजारमा ल्याएका छन् । अङ्ग्ेरजी, विज्ञान, सामाजिक, जनसङ्ख्या, राजनीति, खेल गरी विभिन्न विषयलाई चौध शीर्षकमा समावेश गरिएको उक्त पुस्तक माध्यमिक र उच्चमाध्यमिक तहका विद्यार्थीलाई बढी उपयोगी हुनुका साथै जो–कोहीले पनि अध्ययन गर्दा ज्ञानबद्र्धक हुने महसुस हुन्छ । दीप बोर्डिङ हाइस्कुल बुटवलमा कक्षा ९ अध्ययन गर्ने क्रममै ‘ज्ञानबद्र्धक कोसेली विद्यार्थी विविध ज्ञान’ नामक पुस्तक प्रकाशन गरिसकेका निगमले ०६९ सालदेखि लेखनकार्य सुरु गरी गत महिना ३ सय ६४ पेजको ‘द पावर अफ नलेज’ सार्वजनिक गर्ने सफलता पाए । ४ सय ७५ मूल्य राखिएको सो पुस्तक बिक्रीबाट प्राप्त लेखकत्वको १० प्रतिशत रकम भत्केकोपाटी काठमाडौंमा रहेको ‘बेवी लाइफ होम’का बालबालिकालाई सहयोगार्थ प्रदान गरिने लेखकको प्रतिबद्धताले उनको सेवामुखी भावना उजागर गर्दछ ।
युवाहरूको सामाजिक संस्था ‘टिम निपो’को संस्थापक अध्यक्षसमेत रहेका निगम पौडेललाई सोही संस्थाबाट प्राप्त हौसला र सहयोगले यो पुस्तक प्रकाशन हुँदा मावि तथा उमाविका विद्यार्थीलाई कोसेढुङ्गा साबित भएको उनका शुभचिन्तकहरूको भनाइ रहेको छ । आफूले विद्यालयजीवनमा अनुभव गरेका र आवश्यक ठानेका कुराहरूलाई आधार बनाई लेखिएको यो पुस्तक विद्यार्थीले एक सन्दर्भ पुस्तकका रूपमा हरदम प्रयोग गर्न सक्ने अनुभूति हुन्छ । विद्यार्थीले कुनै पनि समयमा जान्न जरुरी हुने विषयलाई उच्च प्राथमिकता दिएको यस पुस्तकले एउटा विश्वकोशकै स्तर कायम गरेको छ भन्दा फरक नपर्ला । अङ्ग्रेजी भाषामा लेखिएको यो पुस्तकका समस्त टपिक राम्रो र सरल भाषामा परिभाषित गरिनुका साथै प्रत्येक पाठको अन्त्यमा वस्तुगत प्रश्नोत्तरको व्यवस्था गरिएको छ । जसको माध्यम विद्यार्थीको रचनात्मक तथा बौद्धिक विकास गर्नमा सहयोग पुर्याएको श्री जनज्योति उमावि चुत्राबेसी, अर्घाखाँचीका प्राचार्य दीनानाथ आचार्यको बुझाइ रहेको छ ।

केही समयअघि क्रिकेट खेलाडी शक्ति गौचनको हातबाट पुस्तक विमोचन हुने क्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. मोहन पन्थी र उपप्राध्यापक डा. काशीराज सुवेदीसहितका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । कुनै पनि कार्य सुरुवात नगरीकन सही–गलत कमजोरी छुट्याउन सकिँदैन तापनि पुस्तकका भूमिका लेखकसमेत रहेका प्राध्यापक डा. मोहन पन्थीले लोकसेवा आयोगका लागि यो पुस्तक अत्यन्तै उपयोगी रहेको जनाएका छन् ।
हालको समय अत्यन्तै प्रतिस्पर्धात्मक रहेको कारण कुनै पनि विद्यार्थीले आफ्नो शैक्षिक तथा अन्य विविध प्रतियोगितामा एक ठूलो जिम्मेवारी बोध गरेका हुन्छन् । यो सूचना तथा प्रविधिको युगमा हरेक विद्यार्थी आफ्नोवरिपरिको विश्वसँग जानकार रहन जरुरी छ । नेपालको सन्दर्भमा धेरै विद्यार्थी आफ्नो पाठ्यपुस्तकमा मात्रै निर्भर रहन बाध्य छन् । नवीनतम् जानकारी सबैका लागि चासोको विषय पक्कै हो, तर त्यही समय यो पनि सम्झन जरुरी छ कि ‘ज्ञान’ भन्ने कुरा ‘जानकारी’भन्दा केही फरक विषय हो । ज्ञानको उद्देश्य जानकारी सङ्ग्रहमै सीमित रहनुहुँदैन, तर सत्यताको खोजीमा समर्पित हुनु जरुरी छ । एक कुशल, आज्ञाकारी, विश्व दक्ष नागरिकको विकासमा यस्तो खराब व्यवस्था देखेर विद्यार्थीको आत्मविश्वासलाई प्रोत्साहन गर्ने उद्देश्य लिई यो सन्दर्भ पुस्तक सार्वजनिक गरेको पुस्तकका लेखक पौडेल बताउँछन् ।
– मुक्तिनाथ भुसाल
प्रतिक्रिया