भाषाको महत्त्व छिमेकीबाट सिक्ने कि ?

भाषाको महत्त्व छिमेकीबाट सिक्ने कि ?


Ratnanidhi Regmi

– ज्यो. रत्ननिधि रेग्मी शुक्राचार्य

यस वर्ष भारतका राष्ट्रपति श्री प्रणव मुखर्जीले भानुजयन्तीको समुद्घाटन गरेर नेपाली भाषाको महत्त्वलाई स्मरण गराउनुभयो भने पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले भानुजयन्तीमा नेतृत्व गरेर नेपाली भाषा कति प्रभावशाली छ भन्ने उदाहरण प्रस्तुत गर्नुभयो । तर, भारतले संविधानमै आठौँ अनुसूचीमा नेपाली भाषालाई महत्त्वपूर्ण स्थान दिँदा नेपालमा भने संविधानमा यस भाषाले सर्वोच्च स्थान पाइरहेको छैन । हाम्रो भाषा–संस्कृतिलाई छिमेकी देशहरूले उच्च महत्त्व दिएका छन् भन्ने भारतका राष्ट्रपति र मुख्यमन्त्रीका व्यवहारले सिद्ध गरेका छन् । नेपाली भाषाको विस्तारबाट मर्माहत भएका एकथरी राष्ट्रद्रोही (सबै जातजाति होइनन्)हरूले भारतबाट सिक्न सके कति राम्रो हुन्थ्यो ?

भानुजयन्तीको अवसर पारेर गत असार ३० गते तीर्थ स्मृति प्रतिष्ठानले नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानसित सहकार्य गर्दै छन्द कविगोष्ठी र छन्द स्रष्टा सम्मान कार्यक्रमको आयोजना गर्‍यो । केही वर्षयता समाजसुधारक तथा शिक्षासेवी लमजुङ, बोराङनिवासी स्व. तीर्थराज न्यौपानेको स्मृतिमा क्रियाशील यो संस्थाले धेरै थरीका कार्यक्रम गर्दै आइरहेको छ । त्यसमध्ये वर्षेनी भानुजयन्तीमा गर्ने छन्दोबद्ध कविगोष्ठी पनि एक हो ।

यस प्रतिष्ठानले बोराङमा वाङ्मयसम्बन्धी कार्य गर्नुका साथै गरिब तथा जेहेनदार विद्यार्थीलाई प्रोत्साहन गर्ने कार्य पनि गर्दै आइरहेको छ । लमजुङमा शिक्षाको विकासमा तीर्थराजको योगदान अग्रणी मानिन्छ, साथै २०२६ मा तीर्थराजकै निर्देशनमा विजयराज न्यौपानेलगायतका युवाहरूले हलोक्रान्ति गरेका थिए । गाउँमा छुवाछूत हटाउन तीर्थराजले धेरै प्रयास पनि गरेका थिए । तीर्थराज भन्थे– अज्ञानता र अशिक्षाले अन्धविश्वास जन्माउने हो, तिनैलाई शिक्षा दिएपछि भेदभाव, छुवाछूत र कुरीतिहरू आपैँm समाप्त हुन्छन् । यस्ता तीर्थराजले २०३० तिरै चर्पी बनाऊ अभियान पनि चलाएका थिए भने रेडियो तथा पत्रपत्रिका लगेर गाउँमा समाचार सुन्ने र पढ्ने अभियान चलाएका थिए । आफ्नो तलबबाट मास्टर झिकाएर नि:शुल्क पढाउने बन्दोबस्त मिलाएका थिए । स्वध्यायनको भरमा त्यसबेला बहिदारसम्म बनेका तीर्थराजलाई सबैले आदर र सम्मान गर्थे । आफूले नचाहँदा–नचाहँदै पनि गाउँलेको अनुरोधमा प्रधानपञ्च भएर बोराङमा सिँचाइ, बिजुलीबत्ती र सडक निर्माणमा ठूलो योगदान गरेका थिए । वि.सं. १९७१ चैत २७ गते शुक्रबार जन्मेका तीर्थराज न्यौपानेको २०५६ पुस २ गते ८९ वर्षमा निधन भएको थियो ।

आज तीर्थराजका ज्येष्ठ सुपुत्र विजयराज न्यौपाने प्रसिद्ध कवि छन् । नाति सागर पुस्तकमा भाषा सम्पादन गर्छन् । बुहारी ईश्वरादेवी शिक्षासेवी हुन् भने नातिनी बुहारी पनि अध्यापनमा लागेकी छिन् । तीर्थराजका एकजना ज्वाइँ ठाकुरप्रसाद छाँगा कवि एवम् शिक्षासेवी छन् भने कोही सीडीओ पनि भए । छोरीहरू पनि अध्यापन पेसामा संलग्न छन् । कान्छा छोरा हरिराज अनेसास क्यानडा शाखामा कार्यरत छन् । यसरी तीर्थराजका सन्तानहरू शिक्षा र साहित्य सेवामा लागेकाले पनि यो प्रतिष्ठान बढी क्रियाशील बन्न पुगेको हो भन्न सकिन्छ ।

कहिलेकाहीँ यो प्रतिष्ठानले लमजुङमा साहित्यिक तथा सांस्कृतिक कार्यक्रम पनि गर्ने गरेको छ । शिक्षा र स्वास्थ्यसम्बन्धी कार्यक्रम पनि सञ्चालन गर्ने गरेको छ । प्रायजसो भानुजयन्तीमा छन्द स्रष्टा सम्मान पनि प्रदान गर्ने गरेको छ । यस वर्ष महाकवि भुवनहरि सिग्देललाई महाकाव्यकारको रूपमा र ज्यो. रत्ननिधि रेग्मी शुक्राचार्यलाई साहित्य, पत्रकारिता, काव्य र नेपाली भाषामा समर्पित रही ज्योतिष, आयुर्वेद आदिमा समेत योगदान गरेबापत छन्द स्रष्टा सम्मान गरिएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कविद्वयलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । सो अवसरमा भुवनहरि सिग्देलबारे कवि कोषराज न्यौपाने र रत्ननिधि रेग्मीबारे कवि श्याम रिमालले मन्तव्य दिएका थिए । भुवनहरि सिग्देललाई छन्द सम्राट् पनि भन्ने गरिएको छ भने रेग्मीलाई आँसुकवि र महाकवि देवकोटाको अध्येताका रूपमा पनि चिन्ने गर्छन् । यसरी तीर्थराज प्रतिष्ठानले फरकधारका दुई छन्द कविलाई सम्मान गरेर सराहनीय काम गरेको छ ।

वास्तवमा आदिकवि भानुभक्त आचार्यको उदय नभएको भए नेपाली भाषाले समृद्ध हुने अवसर पाउँथ्यो वा पाउँदैनथ्यो, भन्न सकिँदैन । भानुपछि उदाएका मोतीराम भट्टको सतत प्रयत्न नभएको भए भानुभक्त नेपाली समाजमा स्थापित हुन्थे वा हुँदैनथे भन्न सकिन्न । त्यसपछि महाकवि देवकोटा, बालकृष्ण सम, लेखनाथ पौड्यालजस्ता मूर्धन्य कविहरूले यही भाषामा जीवन समर्पण नगरेका भए भानुभक्तको अभियान विकसित हुन कठिन थियो कि भन्ने कुरा आज पनि मूल्याङ्कनको विषय बन्न सक्छ । तर, आज स्थिति अलिक फरक छ, नेपाली भाषामा खासै गतिलो व्याकरणसमेत नभएको र भाषा उत्थानको गन्तव्य नै नभएको अवस्था छ । अर्को कुरा भारतवर्षमा सात दिन भानुजयन्ती मनाइन्छ । विशेष गरी दार्जिलिङ, सिक्किम, असम, कोलकाता, वाराणसी आदि ठूला सहरहरूमा भानुभक्त र देवकोटाजयन्तीलाई राष्ट्रिय पर्वका रूपमा मनाउने गरिन्छ । यसपल्ट त भारतका राष्ट्रपति श्री प्रणव मुखर्जीले भानुजयन्तीको समुद्घाटन गरेर नेपाली भाषाको महत्त्वलाई स्मरण गराउनुभयो भने पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले भानुजयन्तीमा नेतृत्व गरेर नेपाली भाषा कति प्रभावशाली छ भन्ने उदाहरण प्रस्तुत गर्नुभयो । तर, नेपालमा राष्ट्रपति वा प्रधानमन्त्री वा मन्त्रीले यसो गरेका छैनन् र भारतले संविधानमै आठौँ अनुसूचीमा नेपाली भाषालाई महत्त्वपूर्ण स्थान दिँदा नेपालमा भने संविधानमा यस भाषाले सर्वोच्च स्थान पाइरहेको छैन ।

एकथरीले अहिले पनि नेपाली भाषालाई हेयका दृष्टिले खसभाषा भनेर दोष लगाइरहेका छन् । यो भाषाले जनताको मन जितिसक्दा वा सबैको साझा भइसक्दा पनि खसभाषा भनिरहनुजस्तो भाषाविरोधी कुरा के हुनसक्छ ? फेरि यी दोषारोपीहरूले आफ्नै भाषामा यसो भनेका भए टाउकोदुखाइ हुने थिएन । आफू बोल्ने–लेख्ने नेपालीमा अनि दोष त्यही भाषालाई ? कति असभ्यता ? कति अशिष्टता ? नेपाली भाषाको विस्तारबाट मर्माहत भएका एकथरी राष्ट्रद्रोही (सबै जातजाति होइनन्) हरूले भारतबाट सिक्न सके कति राम्रो हुन्थ्यो होला ? राजनीतिमा भारत र चीनसित हाम्रो आफ्नै खाले मतभिन्नता होला । तर, भाषा, संस्कृतिको सम्बन्धमा हाम्रो सबैसित मित्रता छ । हाम्रो भाषा–संस्कृतिलाई छिमेकी देशहरूले उच्च महत्त्व दिएका छन् भन्ने भारतका राष्ट्रपति र मुख्यमन्त्रीका व्यवहारले सिद्ध गरेका छन् । यसकारण पनि आदिकवि भानुभक्त आचार्यको देन सर्वोपरि भएको बताइरहन नपर्ला । जे भए पनि भानुभक्तलाई तीर्थराज स्मृति प्रतिष्ठानले यसप्रकारको कार्य गरेकोमा साधुवाद दिनैपर्छ ।
[email protected]